काठमाडौं । गहना लागि प्रयोग हुने शुद्ध पहेँलो धातु अर्थात् सुनको मूल्य रेकर्डस्तरमा बढिरहँदा पनि विश्वका अधिकांश केन्द्रीय बैंकले सुन थुपारिरहेका छन् । यो प्रवृत्ति र सुनको मूल्यबारे चर्चा गर्नुअघि आज (बिहीबार) नेपालमा भइरहेको सुनचाँदी कारोबारबारे चर्चा गरौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । नेपालमा केही दिन लगातार घटेर आज सुनको मूल्य बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा हिजो नोभेम्बर १ तारिकका दिन सुनको मूल्य प्रतिऔंश १९९४ अमेरिकी डलरसम्म पुग्यो । आज भने प्रतिऔंश १९८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यसो बेला धेरैको मनमा प्रश्न छ : अब सुनको मूल्य के होला ? बढ्ला वा घट्ला ? यदि बढे कति पुग्ला ? कतिपयले केही समय अन्तरालमै नेपालमा सुनको मूल्य प्रतितोला डेढ लाख रुपैयाँ पुग्ने बताउन थालेका छन् । के त्यो सम्भावना छ ?
यस्ता यावत् प्रश्नको जवाफ खोज्नु अघि अहिले विश्व के कस्तो आर्थिक/ राजनीतिक अवस्थामा छ भन्ने बुझ्नु जरुरी हुन्छ । किनभने सुनको मूल्य प्रत्यक्ष रूपमा अमेरिकी डलर र खनिज तेलसँग जोडिएको हुन्छ । त्यसैले सुनको मूल्यबारे चर्चा गर्दा यी दुईको अवस्था हेर्नु/बुझ्नु पर्ने हुन्छ ।
सुनको मूल्यवृद्धिको चर्चा गर्दा यसको विगत पाँच दशक यताको मूल्य वृद्धिको शृङ्खलालाई हेर्दा भविष्यको अनुमान झन् सहज हुन्छ । त्यसैगरी, त्यसको प्रमुख कारक अमेरिकी डलर र त्यहाँको आर्थिक राजनीतिक अवस्थाको ऐतिहासिक विवेचनाले सुनको मूल्यको खेललाई अझ छर्लङ्ग बनाउँछ ।
जेम्स फुलब्राइटको ऐतिहासिक विधेयक
नोभेम्बर ७, १९७३ मा अमेरिकी सिनेटर जेम्स फुलब्राइटले त्यहाँको संसद् कांग्रेसमा एक धेरै नै छोटो विधेयक प्रस्तुत गरे, जुन केवल एक पृष्ठको थियो। सो सार्वजनिक कानून ९३-३७३ लाई कांग्रेसले यति बेवास्ता गर्यो कि यसको कुनै नाम पनि थिएन। तर, फुलब्राइटको नाम नभएको यो विधेयक नै अमेरिकी इतिहासको सबैभन्दा महत्त्वपूर्ण कानूनमध्ये एक प्रमाणित भयो।
फुलब्राइटले आफ्नो विधेयक पेश गर्दा विश्व विनिमयदरलाई नै उथलपुथल पारेको सन् १९७१ को चर्चित ‘निक्सन शक’को दुई वर्ष भइसकेको थियो। त्यो त्यस्तो समय थियो : जब अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले ज्याला र मूल्य नियन्त्रणहरू लागू गरे र अमेरिकी डलरको सुनसँगको स्थायी (फिक्ड) रूपान्तरण रद्द गरेका थिए।
यो कदम चाल्दै गर्दा निक्सनले अमेरिकी जनतालाई आफ्नो कार्यबाट कुनै नकारात्मक नतिजा नआउने प्रतिज्ञा गरेका थिए । तै पनि मुद्रास्फीति अर्को वर्ष सन् १९७२ मा ३ प्रतिशत पुग्यो। त्यसपछि १९७३ मा ४.७ र सन् १९७४ मा ११.२ प्रतिशत पुगेको थियो।
लगत्तै विश्वभर सुनको मूल्य बढ्दै गयो। ‘निक्सन शक’ अघि ब्रिटनउड सम्झौतामार्फत प्रतिऔंश (२८.३४९५२३१ ग्राम अर्थात् २.४३०५५५५५ तोला) ३५ अमेरिकी डलरमा निश्चित मूल्य निर्धारण गरिएको सुनको मूल्य सन् १९७४ मा प्रतिऔंश १७० डलर भन्दा बढी भएको थियो।
यसरी सुनको मूल्यमा ठूलो वृद्धि भए पनि तत्कालिन राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टले सन् १९३३ मा हस्ताक्षर गरेको ४० वर्ष पुरानो कार्यकारी आदेशका कारण अमेरिकी नागरिकहरूलाई त्यो अवसरमा फाइदा लिन अनुमति थिएन ।
रुजवेल्टको कार्यकारी आदेश ६१०२ ले अमेरिकामा १०० डलरभन्दा बढी मूल्यको सुनको निजी स्वामित्वलाई अवैध ठहर्याएको थियो। रुजवेल्टले अमेरिकीहरूलाई सीमाभन्दा बढी रहेको सुन फेडरल रिजर्भमा हस्तान्तरण गर्न २५ दिनको समय दिए । यसो नगरे निर्धारित सीमाभन्दा बढी परिमाणमा सुन थुपारेका मानिशहरूले १० वर्षसम्म जेल सजाय भोग्नुपर्ने थियो।
उनको कार्यकारी आदेश चार दशकसम्म अमेरिकी भूमिमा कानूनको रूपमा खडा भयो । हो, त्यही आदेशलाई खारेज गर्न सिनेटर फुलब्राइटको नामसहितको कानून अन्ततः अगस्त १४, १९७४ मा पारित भयो। त्यसपछि मात्र बल्ल अमेरिकीहरू द्रुत गतिमा अवमूल्यन हुँदै गरेको अमेरिकी डलरसँग चाहेको मात्रामा सुन साट्न स्वतन्त्र भए।
रकेटको गतिमा यसकारण बढ्दैछ सुनको मूल्य
फुलब्राइट कानूनपछि सुनको मूल्य झनै तीव्र गतिमा बढ्न थाल्यो । सन् १९७५ मा करिब १८० डलर प्रतिऔंश मूल्य रहेकोमा जनवरी १९८० मा ८५० डलरसम्म पुग्यो। सुनको बढ्दो लोकप्रियता र डलरको मूल्यमा गिरावटको कारण एउटै थियो । त्यो हो : अमेरिकाले सन् १९७० र १९८० को सुरुवातमा सामना गर्नुपरेको समस्याहरूको बाढी ।
सन् १९७४ को वाटरगेट काण्डमा अमेरिकी राष्ट्रपति संलग्न थिए भन्ने संसारले थाहा पायो। त्यसपछि सन् १९७५ मा भियतनामबाट अमेरिकाको अपमानजनक फिर्ती र साइगनस्थित अमेरिकी दूतावासलाई हेलिकप्टरबाट खाली गर्दै अमेरिकाले हार स्वीकार्यो । उता इरानले सन् १९७९ मा ५२ अमेरिकी नागरिकलाई समातेर एक वर्षभन्दा बढी समयसम्म बन्धक बनाएको थियो ।
यी सबै कारणले गर्दा अमेरिकामा मुद्रास्फीति बढेर १३.६ प्रतिशत पुग्यो। अर्थतन्त्र ठप्प भयो र मन्दीमा फस्यो। मध्यपूर्वमा समस्याहरू (इजरायलसँगको द्वन्द्वसहित) ऊर्जाको अभाव र इन्धनको मूल्यमा वृद्धि भएको थियो।
अमेरिकामा नागरिक अशान्ति र धेरै शान्तिपूर्ण विरोध प्रदर्शनहरू ७० र ८० को दशकमा निरन्तर समस्या थिए । यस बीचमा अमेरिकी शहरहरूमा आपराधिक गतिविधि यति धेरै बढे कि हत्याको दर नै बढ्यो। न्यूयोर्क, लस एन्जलस र सिकागोजस्ता प्रमुख शहरहरू हिंसात्मक अपराध केन्द्रको पर्यायवाची बने।
यो के भइरहेको छ र विश्वको अर्थतन्त्र कता जाँदै छ भन्ने कुराको अनुमान संसारले नै लगाउन सकेन र त्यो अराजकताबाट आर्थिक रूपमा सुरक्षित रहन सुनलाई आश्रय बनायो।
दोहोरिँदैछ इतिहास
‘इतिहास दोहोरिँदैन’ भन्ने आम भनाइ छ । तर अहिले ‘इतिहास दोहोरिँदैन भने यो निश्चित रूपमा छन्दबद्ध भने हुन्छ’ भन्ने डेनिस भनाइ ठ्याक्कै मिलेको छ। आज अमेरिका र विश्व उस्तै र धेरै चुनौतीहरूको सामना गरिरहेको छ, जुन सन् ७० र ८० को दशकमा देखिएको थियो।
अहिले मध्यपूर्वमा ठूलो युद्ध र समस्या छ । विशेष गरी युरोपमा ऊर्जा संकट चुलिँदै छ । अफगानिस्तानबाट अमेरिकी सेनाले अपमानजनक फिर्तीको सामना गर्नुपरेको छ, जसरी भियतनामबाट हुनुपरेको थियो। नागरिक अशान्ति र अपराध दरहरू अमेरिकामा बढ्दो छ । मुद्रास्फीति निरन्तर चलिरहेको छ । र, अमेरिकी राष्ट्रपति जो बाइडेन त्यहाँको राजनीतिमा संदिग्ध पात्र बनेका छन् ।
आर्थिक रूपमा अमेरिका कति कमजोर बनेको छ भने हाल अमेरिकी राष्ट्रिय ऋण ३३.७ खर्ब (ट्रिलियन) डलर छ। अघिल्लो एक महिना (अक्टोबर)मा मात्र अमेरिकाले ५० अर्ब डलर ऋण थपेको छ।
उता अमेरिकी कङ्ग्रेसको बजेट कार्यालयले यसअघि नै प्रक्षेपण गरिसकेको छ कि सन् २०३१ सम्म अमेरिकी सरकारले आफ्नो कर राजस्वको शतप्रतिशत हिस्सा अनिवार्य दायित्वहरू (जस्तै सामाजिक सुरक्षा) र ऋणको ब्याजमा मात्र खर्च गर्नुपर्नेछ। यसको मतलब सन् २०३१ पछि त्यहाँको सरकारले सबै कुराको लागि थप ऋणबाट वित्तपोषण गर्नुपर्नेछ। जुन दिन आउन अब ७ वर्ष मात्र बाँकी छ ।
त्यसपछि अमेरिकी डलर विश्वका अन्य धेरै मुलुकको मुद्रा झैँ सामान्य मुद्रामात्र रहनेछ र धेरैले त्यो दिनको सामना गर्नुअघि नै आफूसँग रहेको डलरलाई सुनमा रूपान्तरण गरिसक्नेछन् । त्यसैले, यो बेला सन् १९७० मा जस्तै राजनीतिक, आर्थिक र अन्तर्राष्ट्रिय अशान्तिबाट सिर्जित अराजकतामा सुनले सुरक्षित आर्थिक आश्रयको प्रतिनिधित्व गरिरहेको छ । अहिले सुन प्रतिऔंश २ हजार डलरको आसपास मात्रै छ, तर यो निकै नै बढ्ने सम्भावना देखिन्छ ।