शीर्षकहरू

जर्मनीले बनायो विदेशी कामदारको सहज ‘इन्ट्री’, ६० हजार जनालाई तीन चरणमा भित्राउने

जर्मनीले बनायो विदेशी कामदारको सहज ‘इन्ट्री’, ६० हजार जनालाई तीन चरणमा भित्राउने

काठमाडौँ । नेपाल लगायत तेस्रो ध्रुवका धेरै मुलुकहरूले भोगिरहेको साझा समस्या हो, बेरोजगारी । तर, युरोपको एक सम्पन्न मुलुक जर्मनी भने कामदारको चरम अभावका कारण समस्यामा छ ।

त्यसैले त्यहाँको सरकारले हालै नेपालसँग समेत कामदार लैजाने सम्झौता गरेको छ । त्यसका लागि युरोप बाहिरबाट त्यहाँ काम गर्न जाने कामदारको लागि प्रवेश कानुन थप सहज बनाएको छ ।

अब, कुनै पनि दक्ष कामदारको लागि जर्मनी राम्रो गन्तव्य हुनसक्छ, काम गर्न र कमाउनको लागि । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यही नोभेम्बर महिना देखी विदेशी कामदारलाई सहजतापूर्वक भित्राउने नयाँ कानुन जर्मनीले लागु गर्न लागेको छ । सन् २०२३ को नोभेम्बर, २०२४ को मार्च र २०२४ जुन महिनामा गरी तीन पटक जर्मनीले यसरी कामदार भित्राउने योजना बनाएको हो ।

जर्मनीले जम्मा ६० हजार गैर युरोपेली कामदार भित्राएपछि त्यहाँ हाल रहेको कामदारको अभाव अन्त्य हुने विश्वास गरेको छ । नयाँ नियमले व्यावसायिक र गैर- प्राज्ञिक तालिम लिएकाहरूलाई लक्षित गरेको छ । त्यहाँको सरकारले विश्वविधालयबाट कुनै निश्चित क्षेत्रको अध्ययन गरेका दक्ष कामदारलाई समेत जर्मनी छिर्न विगत भन्दा सहज बनाएको छ ।

सन् २०२२ मा त्यहाँको इन्स्टिच्युट फर इम्प्लोयमेन्ट रिसर्च (आईएबी)ले गरेको अध्ययनबाट जर्मनीमा १७ लाख ४० हजार कामदारको आवश्यकता रहेको देखिएको थियो । पछि सन् २०२३ को जुलाईमा म्युनिचका झन्डै आधा जसो कम्पनीलाई कामदार अभाव हुँदा उनीहरूले आफ्नो सेवामा कटौती गर्नु परेको थियो ।

नयाँ नियम अनुसार जर्मनी छिर्नेले त्यहाँ गएर कामको खोजी गर्न पाउनेछन् भने कामको अनुमति प्राप्त भएपछि साताको २० घण्टा काम गर्न पाउने छन् । नयाँ नियमको अर्को राम्रो पक्ष भनेको त्यहाँ जाने कामदारले आफ्नो परिवार समेत लिएर जान पाउनेछन् भने आवश्यक प्रक्रिया पुरा गरेर त्यहीको स्थायी बासिन्दा समेत बन्न सक्ने छ ।

जर्मनीको लागी आवेदन दिन कुनै व्यावसायिक तालिम वा डिग्री लिएको, कम्तीमा तीन वर्ष कामको अनुभव भएको, जर्मन भाषाको ज्ञान भएको वा पहिले जर्मनीमा बसोबास गरिसकेको र ३५ वर्ष वा सो भन्दा कम उमेर भएको हुनुपर्छ । यी चार मध्ये कुनै तीन कुरा पुरा गरेकाले आवेदन दिन सक्ने व्यवस्था नयाँ नियममा छ ।