aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

महानवमी पर्व हर्षोल्लासका साथ मनाइदैं, तलेजु मन्दिर पनि खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असोज २०७६
महानवमी पर्व हर्षोल्लासका साथ मनाइदैं, तलेजु मन्दिर पनि खुल्यो
Global IME
LBF


काठमाडौं । बडादशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ ।
महानवमीका दिन दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लागि चढाइने परम्परा छ । दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गर्ने गरिन्छ । 

यसदिन बिहान कलपूर्जा, हातहतियार तथा सवारीका साधनको पूजा गरिन्छ । यो दिन अरू पूजाको अतिरिक्त विशेषगरी रजस्वला नभएकी नवकन्याको पनि पूजाआजा गरिन्छ । उनीहरुको पूजागरि दान दक्षिणा र उपहारले नवकन्यालाई खुसी पार्दा घरमा शान्ति आउछ भन्ने जनविश्वास रहिआएको छ ।

पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाईंका साथ कोतपूजा र निशानपूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ । 

महानवमीमा श्रीरामले रावणको बध गर्नका लागि शक्ति प्राप्त गर्न नौ दिनसम्म दुर्गा भवानीको आराधना गरेको प्रसंग पनि छ । काठमाडौँको वसन्तपुर दरबार स्क्वायर स्थित तजेलु भवानीको मन्दिर पनि आज खुलेको छ । यो मन्दिर वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने गर्दछ ।

मन्दिरमा पूजाआजा गर्न विहानैदेखि भक्तजनको घुँईचो लागेको छ । महानवमीको दिन मन्दिरमा तलेजु भवानी आउने जनविश्वास रहेकाले बिहानैदेखि तलेजु मन्दिर खुल्ला गरिएको हो । सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एकपटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती छ ।

प्रतिक्रिया दिनुहोस