बितेका एक वर्ष नेपालका सञ्चारमाध्यमहरूमा लघुवित्तहरू लगातार समाचारमा छाइरहे । पीडितको आन्दोलनदेखि सम्झौतासम्मका चर्चा परिचर्चाले लघुवित्तहरूको बजारदेखि साखसम्ममा ठूलो क्षति पुर्यायो । तथापि यसको अपरिहार्यता र ग्रामीण अर्थतन्त्रमा लघुवित्तले पुर्याएको योगदानको चर्चा समेत सँगसँगै हुँदै आएको छ । यहि पृष्ठभूमिमा नेपाल लघुवित्त बैंकर्स सङ्घका महासचिव तथा नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामबहादुर यादवसँग आर्थिकन्युज डटकमकी संवाददाता रिता राउतले कुराकानी गरेकी छिन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:
पछिल्लो समय लघुवित्तप्रति बजारमा विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन् । संस्था नै खारेज गर्नेसम्मका चर्चा चलेका छन् । यसलाई कसरी लिनुभएको छ ?
पछिल्लो केही समययता लघुवित्त संस्थाप्रति नकारात्मक तरिकाले भ्रम फैलाउने गरी गतिविधि भएका छन् । लघुवित्तका समस्या जसरी सडकमा ल्याइएको छ : यसो गर्न केही ग्रुपहरू लागेका छन् । उनीहरूले आफ्नो स्वार्थका लागि अन्यलाई परिचालन गरेको अवस्था छ ।
देशभर ६० लाख घरधुरीमा लघुवित्त संस्था पुगेको छ । यो संख्या भनेको चानचुने होइन । यो संख्यालाई भड्काउन खोजिएको छ । हामीले भनिरहेका नै छौँ कि लघुवित्त संस्था र ऋणीबीच भएका समस्या हामी नै बसेर समाधान गर्न सक्छौँ। बसेर समाधान गर्न सकिने समस्याहरूलाई राजनीतिकरण गरिएको छ ।
ग्रामीण ठाउँमा पुगेर काम गरिरहेको लघुवित्तविरुद्ध नकारात्मक प्रचार गर्नु भनेको मुलुकको ग्रामीण अर्थतन्त्रलाई तहसनहस पार्नु नै हो । यसले मुलुकलाई बर्बादीतर्फ धकेल्छ । लघुवित्त समस्यामा आए भने यो संस्था मात्रै समस्यामा पर्दैन, योसँग जोडिएका सबै च्यानलहरू समस्यामा पर्छन् ।
लघुवित्तहरूले ल्याउने पैसा वाणिज्य बैंकहरूबाट नै आएको हुन्छ । त्यसबाहेक लघुवित्तका सदस्यहरूबाट नै आएको पैसा हुन्छ । उनीहरूले पैसा नै तिर्दिनँ भन्ने हो भने त्यसको असर कसलाई पर्छ भन्ने कुरा पनि बुझ्नुपर्छ । केही संस्थाहरू र ऋणीहरूमा समस्या पक्कै आएको हो । तर, यी समस्या हामीबीच बसेर समाधान गर्न सकिन्छ, कुनै स्वार्थ समूहको पछि लाग्नुपर्दैन ।
लघुवित्त संस्थाले धेरै ब्याज लिन्छ भनेर अफवाह फैलाइएको छ । त्यस्तो हुँदै होइन । १५ प्रतिशत भन्दा माथि ब्याज लिनै पाउँदैन । सर्भिस चार्ज डेढ प्रतिशतभन्दा माथि जानै पाउँदैन ।
लघुवित्तविरुद्ध अफवाह फैलाउनेहरू धेरैजसो लघुवित्तका ग्राहक नै होइनन्। न उनीहरूले कर्जा लिएका छन्, न त उनीहरू लघुवित्तको सदस्य नै बनेका छन् । त्यस्ता व्यक्तिहरू अगाडी आएर लघुवित्तविरुद्ध अफवाह फैलाइ रहेका छन्।
वित्तीय संस्थाहरूप्रति आम ऋणीहरूको विश्वास घट्दो छ, यसले भोलिका दिनमा यहाँहरूलाई पनि समस्या पार्ला, यसबारे लघुवित्त संस्थाहरूको योजना के छ ?
भ्रम फैलाउने कुराहरू लामो समयसम्म टिक्दैन । ऋण मिनाहा गर्नुपर्छ भन्दै कराउनेहरू ऋण मिनाहा सम्भव छैन भन्ने बुझेर अहिले ऋण तिरिरहेका छन् । कसैको बहकाउमा लागेर सडकमा आन्दोलन गर्न आएकाहरू विस्तारै सकारात्मक भएको अवस्था छ ।
लघुवित्तबारे सरकारले वार्ता कमिटी गठन गरेको छ । तर, काम सुस्त भइरहेको छ । हामीले यो वार्ता कमिटीसँग वार्ता चाडै गरेर समस्या समाधान गर्नुपर्छ भनिरहेका छौँ ।
वार्ता ढिलो हुँदा संघर्ष समितिहरूले ऋण मिनाहा हुन्छ तिर्नुपर्दैन, हाम्रो वार्ता सकारात्मक भइरहेको छ भनेर अफवाह फैलाइरहेको अवस्था छ । जति ढिलो वार्ता भयो उति भ्रम फैलिन सक्छ । संघर्ष समितिले गाउँ-गाउँमा ऋण तिर्नु पर्दैन हामीले सरकारसँग वार्ता गरिरहेका छौँ भनेर हल्ला फैलाइरहेका छन् । यसले गर्दा राम्रा ऋणीहरूमा समेत असर पर्नसक्छ । त्यस कारण सरकारले छिटो वार्ता गरेर निष्कर्ष निकाल्नुपर्छ ।
यता हामी लघुवित्त संस्थाहरूले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेका छौँ । कर्मचारीहरूलाई व्यवहार, आचरणदेखि ग्राहकसँग गर्नुपर्ने कुराहरूबारे हामीले तालिम दिइरहेका छौँ । हाम्रो तर्फबाट सुधार गर्नुपर्ने पक्षहरू सुधार गरिरहेका छौँ ।
वित्तीय संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएका कारणले समस्या देखिएको त होइन ?
हो, लघुवित्त संस्थाहरूको संख्या धेरै भएको थियो । धेरै संख्या भएका कारण अस्वस्थ प्रतिस्पर्धा पनि भएको हो । सुरुवातमा लघुवित्तहरूमा डिमान्ड र सप्लाइको ख्याल भएन । त्यति बेला मुलुकमा वित्तीय पहुँच कमजोर अवस्थामा रहेको थियो ।
लघुवित्तका संख्या थपिँदै गर्दा शाखाहरू विस्तार गर्ने कुरामा कसिलो नीति बनाउनुपर्ने थियो । त्यसो नहुँदा लघुवित्तहरूले आफ्नो मन खुसी गरे । धेरै संस्थाहरू एक ठाउँमा गए । सबैलाई बिजनेस चाहियो, यसले गर्दा संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएको हो ।
सबै संस्थाहरूबाट नीति नियम पालना नगरिएको होइन । केही संस्थाहरूले मात्रै यस्तो पालना नगरेका थिए । अर्को कुरा, कर्जा सूचना केन्द्र पनि जागरूक थिएन । यसले गर्दा पनि समस्या आएको थियो । ऋणीहरूले पनि आफ्नो क्षमता नहेरी ऋण लिए र लिएको कतिपय ऋण अन्य ठाउँमा नै खर्च गरे। यसो हुँदा पनि समस्या आएको हो ।
यता ऋण तिदैनौँ नै भरेर अभियान चलाइरहेका छन् । यसले लघुवित्त संस्थाहरूलाई कस्तो असर पारेको छ ?
हामीले सबै ऋण खराब छन् भन्न मिल्दैन । सबैले ऋण तिर्दैनौँ भनेका छैनन्। आन्दोलनमा लागेका र नलागेका ग्राहक कति छन् भनेर हेर्नु पर्छ । लाखौँ सदस्यहरूमध्ये पाँच हजार पनि छैनन् लघुवित्तविरुद्ध लाग्नेहरू । उनीहरूलाई पनि अरू कसैले नै चलाइरहेका छन् ।
अधिकांश लघुवित्तका सदस्याहरू राम्रा छन् । उनीहरूले लघुवित्तबाट लिएको ऋण अहिले पनि तिरिरहेको अवस्था छ । उनीहरूले लघुवित्तको विकल्प नै छैन भनिरहेका छन् । सडकमा एक हजार पाँच सय मानिस आउने बित्तिकै सबै ऋणीलाई असर पार्न हुँदैन ।
केही समूहहरूले लघुवित्त नकारात्मक चर्चा चलाएका कारण अहिले लघुवित्तहरूले लगानी गर्न सकिरहेका छैनन् । लघुवित्तका कर्मचारीहरू सुरक्षित तरिकाले काम गर्न सकिरहेका छैनन् । सुरक्षाको विषयमा धेरै नै चुनौती बनेको छ ।
वित्तीय संस्थाहरूबाट ऋण लिइसकेपछि त्यो पैसा तिर्नु नै पर्छ । लिएको ऋण तिर्दिन भनेर भनिराख्नेहरूले एक पटक सोच्नु पर्छ । लघुवित्तहरूले कहाँबाट पैसा ल्याएर ऋण दिएको हो ? त्यो पैसा आम पब्लिकको नै हो नि त । अरूको बचतको पैसा आफूले ऋण लिएपछि तिर्दिन भन्दा ती पैसा राख्नेहरूलाई कस्तो असर पर्छ सोच्नु पर्दैन ?
सुरक्षा समस्याका कारण कर्मचारीहरूमा मनोबल घटेको छ । राम्रोसँग लगानी गर्न समस्या रहेको छ । काम गर्ने वातावरण राम्रो छैन । सहजरूपमा संस्थाले काम गर्न सकिरहेको छैन भने यता राम्रा ग्राहकहरूलाई समेत नराम्राको असर परिरहेका छौँ । खराब मान्छेका कारण राम्रा ऋणीहरू दबाबमा परेर विश्वास घट्दो छ ।
लघुवित्तहरूले बिनो धितो लगानी गर्ने गरेका छन् । यसरी लगानी गर्दा जोखिम कतिको हुन्छ ? यसको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
लघुवित्त ग्रामीण अर्थतन्त्रको लागि मेरुदण्ड भएको संस्था हो । जसले चार खर्ब ३२ अर्ब रुपैयाँ बिना धितो लगानी गरेको छ । यो पैसा भनेको थोरै होइन । लघुवित्तहरू हाई रिस्कमा काम गरिरहेका छन् ।
नागरिकताको फोटोकपीबाहेक अरू केही छैन । गाउँ गाउँमा गएर सेवा दिने हामी लघुवित्तहरू असाध्यै जोखिममा छौँ । चुनौती धेरै भए पनि हामीले सेवा दिन पाएकोमा खुसी छौँ ।
हाम्रो ग्यारेन्टी भनेको ग्राहकको विश्वास नै हो । बिना धितो काम गर्न गाह्रो छ । तर, धितो भन्दा गरिब मानिसहरू इमानदार हुन्छन् भनेर बुझ्नु पर्छ । त्यसमा पनि महिलाहरू इमानदार हुन्छन् । पैसा लिएपछि तिर्छन् भनेर नै हामीले काम गरिरहेका छौँ ।
लघुवित्त संस्थाहरू पनि धितोमै ऋण प्रवाह गर्न भनेर सुरु गरे भने क, ख, ग वर्गका संस्थाहरू भन्दा के फरक भयो त ? उनीहरूको पहुँच नपुगेको ठाउँमा हामीले सेवा दिनु पर्छ भनेर हामी आएका हौँ । हामीलाई बिना धितो ऋण दिँदा जोखिम बढेको भन्दा पनि लिएको ऋण तिर्नु हुँदैन भनेर फैलाइरहेको अफवाह नै प्रमुख चुनौती हो ।
समस्याबारे धेरै चर्चा गर्यौ, यी समस्या समाधानका बाटो के हुन त ?
दूरदराजका गरीब नागरिक र महिलाहरूसँग काम गरिरहेको क्षेत्र लघुवित्त भनेको संवेदनशील क्षेत्र हो । यसलाई राम्रो बनाउनका लागि सरकारले पनि सोच्नुपर्छ । संस्थाको तर्फबाट गर्नुपर्ने कामहरू गर्न हामी तयार छौँ । भएका गल्तीहरू सुधार गरेर अगाडी बढ्न तयार छौँ ।
लघुवित्तको संख्या घटाउन र राम्रो बनाएर अगाडी बढ्नका लागि लघुवित्तहरू मर्जरमा गएका पनि छन् । यसले संस्था थप मजवुद बनेर अगाडी बढ्नेछ । यो आवश्यक पनि थियो । यसबाहेक अहिले जुन समस्या आएका छन् त्यसलाई समाधान गर्नका लागि सरकारले चाँडो काम गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस