
काठमाडौं । नेपालका रेमिट्यान्स कम्पनीहरूले दाबी नभएको अर्बौं रकम अपचलन गर्ने गरेका छन् । हुण्डी कारोबारीहरूसँग मिलेमतो गर्दा बदनाम भएका रेमिट्यान्स कम्पनीहरूले विदेशमा ज्यान गुमाएका श्रमिकहरूको रकम नै पचाउन खोजेका छन् ।
‘रेमिट्यान्स कम्पनीमा खाता खोली विदेशमा कमाएको भएभरको रकम पठाएका, तर उतै ज्यान गुमाएका नेपालीको सबैभन्दा धेरै रकम फसेको पाइएको छ,’ नियामक केन्द्रीय बैंक स्रोतले भन्यो, ‘विदेशबाट श्रमिकले पठाएको थप करोडौं रकम अन्य कारणले दाबी हुन नसक्दा त्यो पनि रेमिट्यान्स कम्पनीकै कब्जामा गएको देखिन्छ ।’
नेपालमा चालू आर्थिक वर्षको पहिलो महिना साउनमै १ खर्ब १६ अर्ब २ करोड रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यति ठूलो विप्रेषण कारोबारमा दाबी नभएको र रेमिट्यान्स कम्पनीले अपचलन गरेको रकम अर्बौं हुनसक्ने नियामकको आंकलन छ । अवैध र जोखिमपूर्ण हुण्डी कारोबार गरेपछि केन्द्रीय बैंकले रेमिट्यान्स कम्पनीहरूलाई आन्तरिक विप्रेषणमा समेत कडाइ गरिरहेको छ ।
आन्तरिकतर्फ भन्दा विदेशबाट रेमिट्यान्स पठाउने व्यक्ति या आफन्तले दाबी नगरेको ठूलो परिमाण रकम रेमिट्यान्स कम्पनीले लुकाएका हुन् । नियामक स्रोतका अनुसार नेपालमा विदेशबाट पठाउने गरेको रेमिट्यान्स पठाउने व्यक्तिको मृत्यु वा अन्य कारणले पठाएको रकम दाबी नगरेको रकम रेमिट्यान्स कम्पनीले नै राख्ने गरेका छन् । त्यस्तो रकम रेमिट्यान्स कम्पनीले बैंकको मुद्दती खातामा राख्ने, उक्त रकम देखाएर ऋण लिएर चलाउने गरेका हुन् ।
‘विदेशबाट पठाएको रकम दाबी गर्न नआएपछि सो रकम रेमिट्यान्स कम्पनीहरूको मुख्य सफ्टवेयरमै रहन्छ, रेमिट्यान्सका सब–एजेन्टहरूकोमा नै रकम देखिँदैन,’ एक रेमिट्यान्स सञ्चालकले भने, ‘विदेशमा ज्यान गुमाएका नेपालीको नाम, थर, ठेगाना र खाता नम्बर छिटोभन्दा छिटो पत्ता लगाउन रेमिट्यान्स कम्पनीबीच प्रतिष्पर्धा नै हुन्छ । यो प्रतिष्पर्धा रेमिट्यान्स रकम लुकाउने प्रयोजनकै लागि हुने गरेको हो ।’ उनका अनुसार रेमिट्यान्स आएको रकम पठाउने व्यक्तिको नाममा भए पनि कम्पनीहरूले दाबी गर्ने व्यक्तिलाई हकदाबी गर्न सूचना नै जारी गर्दैनन् ।
गत आर्थिक वर्ष २०७९/८० मा मात्रै वैदेशिक श्रम गन्तव्यमा एक हजार २०५ नेपालीले ज्यान गुमाएका छन् । सो अवधिमा ७ लाख ७१ हजार ३२७ जना नेपाली रोजगारी खोज्दै विदेश गएका थिए । आर्थिक वर्ष २०६५/६६ देखि २०७९/८० सम्म वैदेशिक रोजगारीमा १२ हजार १८९ जना नेपालीले ज्यान गुमाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक छ । ज्यान गुमाएका धेरैजसो कामदारको उमेरसमूह १८ देखि ४४ वर्ष रहेको छ ।
विदेशमा ज्यान गुमाएका यिनै नेपाली युवाहरूको रकममा रेमिट्यान्स कम्पनीहरूले जालझेल गरेका हुन् ।
हुण्डी र कालोधनमा पनि बदनाम
रेमिट्यान्स कम्पनीहरू यसअघि नै हुण्डी कारोबार र सम्पत्ति शुद्धीकरण (कालोधन चोख्याउने) मामिलामा पनि बदनाम भइसकेका छन् ।
विदेशबाट हुण्डीमार्फत आएको कालोधन आन्तरिक रेमिट्यान्सका नाममा सेतो बनाउन थालेपछि नेपाल राष्ट्र बैंकले त्यस्तो कारोबार गर्न बन्द गरिसकेको छ । केही रेमिट्यान्स कम्पनीले आफ्नो कारोबारको ७० प्रतिशतसम्म रकम आन्तरिक रेमिट्यान्सका नाममा ओसारपसार गर्ने गरेका थिए ।
गत माघमा नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत कार्यविधि, २०७९ जारी गर्दै रेमिट्यान्स कम्पनी र उसका सब–एजेन्टमार्फत नेपालको एक स्थानबाट अर्को स्थानमा पैसा ओसारपसार गर्न नपाउने व्यवस्था गरेको हो ।
धन्धा चौपट भएपति आन्तरिक रेमिट्यान्स खुलाउन र रकमको सीमा नतोक्न रेमिट्यान्स कम्पनीहरूले निरन्तर लबिइङ गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस