भटाभट ढल्दैछन् भारतमा निजी  बैंक, नेपालका लागि बन्न सक्छ गतिलो पाठ - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
Bajaj_Bike

भटाभट ढल्दैछन् भारतमा निजी  बैंक, नेपालका लागि बन्न सक्छ गतिलो पाठ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
Sunrise bank
भटाभट ढल्दैछन् भारतमा निजी  बैंक, नेपालका लागि बन्न सक्छ गतिलो पाठ
LBEF
NCH-IPS

काठमाडौं । छिमेकी मुलुक भारत आर्थिक मन्दीको चपेटामा छ । त्यहाँको सरकारले मन्दीबाट बच्न हरसम्भव प्रयत्न गरिरहेको छ । निजी क्षेत्रलाई सहयोग गर्न ठूलो परिणाममा आर्थिक सहायताको घोषणा भइसकेको छ भने बैंकलाई ब्याजदर घटाउन पटक–पटक निर्देशन दिइसकेको छ ।

सरकारी बैंक आपसमा मर्ज गर्ने निर्णय कार्यान्वयनको चरणमा छ । वित्तीय क्षेत्र सुधारका सबै उपाय राज्यले अपनाउन खोजेको देखिन्छ । तर पनि निजी क्षेत्रका बैंक एकपछि अर्को गर्दै डुब्ने अवस्थामा पुगिसकेका छन् । बिशेषगरी घर, जग्गामा गरेको लगानीका कारण बैंक संकटमा छन् भने केही ठूला कम्पनीले पनि बैंकमा आफूले गरेको लगानी डुबेको घोषणा गर्न मात्र बाँकी छ ।

भारतीय रिजर्भ बैंक (आरबीआई) ले पञ्जाब एन्ड महाराष्ट्र को–अपरेटिव (पीएमसी) बैंकलाई आगामी ६ महिनाको लागि धेरैवटा सेवाबाट बन्चित गरिसकेको अवस्था छ । छ महिना अघिसम्म ठीकठाक रहेको यो बैंक एकएक समस्याग्रस्त घोषित भएपछि त्यो बैंकका बचतकर्ताको समेत रुवावासी भएको थियो। अहिले पनि सो बैंकका बचतकर्ताहरुको भिड सबै शाखा अगाडि थामिनसक्नुको छ ।  

पीएमसीमा अकस्मात देखिएको संकटको तरंङ नसेलाउँदै  आरबीआईले लक्ष्‍मी विलास बैंकलाई पनि कडा कारबाही गरेको छ । अब निजी क्षेत्रको यो बैंकलाई पनि प्राम्प्ट करेक्टिभ एक्सन (पीसीए) फ्रेमवर्कमा राख्ने निर्णय भारतको केन्द्रीय बैंकले गरिसकेको छ । यो फेर्मवर्कमा राख्नुको मतलब अब लक्ष्‍मी विलास बैंकले न त कुनै नयाँ ऋण लगानी गर्न सक्छ न कुनै नयाँ शाखा खोल्न पाउँछ ।  जब केन्द्रीय बैंकलाई लाग्छ कि कुनै बैंकको आय छैन वा त्यसको नन् पर्फमिंग एसेट (एनपीए) बढिरहेको छ तब यस्तो बन्देज लगाउने गरिन्छ ।

 यसबाहेक निजी क्षेत्रको अर्को उम्दो बैंक एस बैंकको हालत अत्यन्तै खराब भैसकेको छ ।  एकवर्ष अघि  भारतीय रुपैयाँ ४०० शेयर मूल्य रहेको यो बैंकको अहिले बजार मूल्य प्रतिशेयर मात्र ३२ रुपैयाँ छ । यसको अर्थ यसले आफ्नो ९० प्रतिशतभन्दा बढी बजारमूल्य गुमाइसकेको छ । १६ वर्ष अघि खुलेको यस बैंक भारतको सबैभन्दा राम्रो निजी क्षेत्रको बैंकको रुपमा परिचित थियो । तर, त्यो बैंक अहिले डुबेको देख्दा धेरैले भारतको बैंकिङ सेक्टर अब लगभग तहसनहस भइसकेको समेत भन्न थालेका छन् ।  

त्यसो त एस बैंकको अवस्था अब झन् नाजुक हुने पक्का छ किनकि यसले इडिण्या बुल्स समूहमा गरेको भारु ६०४० करोड लगभग पूरै डुब्ने अवस्थामा छ । यो रकम भनेको यो बैंकको कुल नेटवर्थको एक चौथाई हो । त्यसो त इडिण्या बुल्स समूहका प्रमुख कम्पनी इडिण्या बुल्स हाउजिङ फाइनान्स, इडिण्या बुल्स कमर्सियल क्रेडिट र इडिण्या बुल्स कन्जुमर फाइनान्सले अन्य बैंकबाट पनि धेरै ऋण लिएका छन् । त्यसैले इडिण्या बुल्स डुब्दा धेरै भारतीय बैंकलाई ठूलो क्षति हुने देखिन्छ ।

इडिण्या बुल्सले निजी तथा सरकारी बैंकको करीब २७,५८०  करोड लगानी जोखिममा परेको छ ।  इडिण्या बुल्सका प्रमोटरलाई  वित्तीय अनियमितताको आरोप लागेको छ । यसमा सबैभन्दा धेरै पैसा भारतीय स्टेट बैंकको फसेको छ । जसले ८,१०० करोड लगानी गरेको थियो। बैंक अफ बदौडा (विजया बैंक र देना बैंक सहित) को ६,४६०  करोड रुपैयाँ पनि संकटमा परेको छ ।
त्यसैगरी एचडीएफसी बैंकको १,६५० करोड, आरबीएल बैंकको ३९० करोड,  कोटक महिंद्रा बैंकको १७० करोड र एक्स‍िस बैंक को १,६९० करोड रुपैयाँ यदि इडिण्या बुल्स टाट पल्टिएको घोषणा भयो भने डुब्ने अवस्थामा छ ।

भारतका निक्कै बलिया भनिएक बैंक यसरी भटाभट संकटग्रस्त हुँदै गर्दा नेपालमा पनि केहि सजकताको खाँचो देखिएको छ । नेपालमा पनि घर जग्गाका कारोबारीले बिभिन्न बैंकबाट ठूलो रकम ऋण लिएका छन् । अहिले घर जग्गाको ब्यापारमा मन्दी छाएको छ भलै त्यो सतहमा आइसकेको छैन । उता शेयर बजारमा आएको निरन्तरको गिरावटले समग्र बैंकिङ क्षेत्रको नै बजार मूल्य न्यून गराएको अवस्था छ । कुनै एक बैंकबाट यदि हालको वास्तविक अवस्था सार्वजनिक भयो भने यहाँ पनि बिकराल समस्या उत्पन्न हुने बैंकिङ क्षेत्रका जानकार बताइरहेका छन् ।  त्यसै पनि लगानीको अपेक्षाकृत प्रतिफल बैंकमा गरेको लगानीबाट आएन भनेर सबैजसो बैंकका प्रोमोटरहरु गुनासो गरिरहेका छन् ।

नेपालमा पनि जोखिमयुक्त क्षेत्रमा के कति लगानी भएको छ र लगानी भएका कम्पनीको अवस्था के छ भनेर अहिले नै हेरिएन भने लगानीकर्ताले मात्र होइन कि निक्षेपकर्ताले समेत कुनै पनि बेला पुर्पुरोमा हात लगाउनुपर्ने हुनसक्छ । भारतमा अहिले डुबेका सबै बैंकले अघिल्लो आर्थिक वर्षको अन्त्य अर्थात् ६ महिना अघि मात्र पनि लोभ्याउने गरी मुनाफा बाँडेका थिए । तर, एकाएक ति बैंकहरु ढलेका छन् ।  नेपालमा पनि बैंकहरुले राम्रै कमाइ गरिरहेका छन् भनेर ढुक्क हुने अवस्था होइन भन्नको लागि भारतका बैंकहरुको वर्तमान अवस्था बलियो नजिर बन्न सक्छ ।
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });