काठमाडौ । ललितपुरको धापाखेल स्थित सुमेरु अस्पतालमा एक विशेष प्रकारको मिर्गौला प्रत्यारोपण भएको छ । अस्पतालका अनुसार 'स्वाप पेयर एक्सचेन्ज' भनिने जटिल शल्यक्रिया सो अस्पतालमा सफलतापुर्वक सम्पन्न भएको हो ।
सो सम्बन्धी जानकारी दिन मंगलबार आयोजित प्रकार सम्मेलनमा जनाइए अनुसार यो प्रक्रियामा मिर्गौला पीडित दुई परिवारको बीच मिर्गौला आदानप्रदान गरिएको थियो । जसबाट आफ्ना नजिकका नातेदारको मिर्गौला लिन र दिन चाहेको अवस्थामा पनि प्रत्यारोपण गर्न नसकिरहेका भिन्दा भिन्नै परिवार लाभान्वित भएका छन् ।
यही आश्विन ३ गते बुधवारका दिन दुई परिवार बीच मिर्गौला साटासाट गरी सफलतापुर्वक प्रत्यारोपण (पेयर ट्रान्सप्लान्ट) गरिएको थियो । यसरी यस प्रकार एकै पटक चार जना व्यक्तिको शल्यक्रिया गर्नु निकै चुनौतीपूर्ण कार्य रहेको सो कार्यको नेतृत्व गरेका ट्रान्सप्लान्ट सर्जन तथा वरिष्ठ युरोलोजिष्ट डा. विजयमान सिंह कटवालले बताए।
यसअघि आफू कार्यरत रहेको अस्पताल सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विभागीय प्रमुख रहेका बेला यस प्रकारका धेरै प्रत्यारोपण गरेका अनुभवी ट्रान्सप्लान्ट सर्जन तथा वरिष्ठ युरोलोजिष्ट डा. विजय मान सिंह कटवालको नेतृत्व र सिनियर सर्जन डा. डि.भि. कार्की, डा. किरण प्रसाद श्रेष्ठ , डा. जियाउल हक ,नेफ्रोलोजिष्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा. ललित कुमार यादव र डा. सुमित आचार्य लगायत डा. महालक्ष्मी देउजा,डा.एजेलिया अमात्य र डा. कुमार श्रेष्ठ समेतको टिमले सो प्रत्यारोपण सम्पन्न गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
डा. कटवाल नेपालमा पहिलो पटक ल्याप्रसकोपिक (ठूलो चिरफार नगरी दूरबिनको प्रयोगबाट गरिने शल्यक्रिया) प्रविधिबाट मिर्गौला प्रत्यारोपण गर्ने पहिलो नेपाली सर्जन हुन् । उनले विगतमा क्यान्सर सङ्क्रमित श्रीमतीको मिर्गौलाको क्यान्सर प्रभावित भाग काटेर बाँकी भाग श्रीमानको शरीरमा समेत सफलतापुर्वक प्रत्यारोपण गरेका छन् । दुई वर्ष अधि गरिएको त्यो शल्यक्रिया त्यस प्रकारको विश्वभर मै भएको १०५ औँ शल्यक्रिया रहेको थियो ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ९ वर्षसम्म युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागमा सक्रियतापूर्वक सेवा प्रदान गरेका डा. कटवालले आफ्नो टिमसँग आठ जना मिर्गौला ग्रहणकर्तालाई मष्तिक्स मृत्यु भएका ४ जनाको मिर्गौला समेत सफलता प्रत्यारोपण गरेको अनुभव रहेको बताए । हालसम्म नेपालमा यस प्रकार मस्तिष्क मृत्यु भएका ६ जनाको मात्र मिर्गौला प्रत्यारोपण भएकोमा ४ जनाको शल्यक्रिया डा. कटवालको नेतृत्वमा भएको थियो ।
हाल विश्वभर मिर्गौला प्रत्यारोपणमा देखिएको एउटा प्रमुख चुनौती भनेको दाताको अभाव हो । मुलुकको मौजुदा कानुनले नजिकको नातेदारले मात्र मिर्गौला दान गर्न सक्ने व्यवस्था गरेकोले मिर्गौला दान गर्न इच्छुक आफन्त र मिर्गौला फेर्नुपर्ने अवस्थामा पुगेका बिरामी बीच मिर्गौला आदानप्रदान गर्न नमिल्ने (म्याच नगर्ने) समस्या देखिएको छ । यस्तोमा थप सुविधाका लागि कानुनले मिर्गौला पीडित दुई परिवारको बीच मिर्गौला आदानप्रदान गर्ने सहमति भएको खण्डमा सो समेत गर्न सकिने व्यवस्था र सुविधाबारे धेरै बिरामी तथा परिवारजनलाई जानकारी नहुने र भएको खण्डमा समेत मिल्दो अवस्था सृजना नहुने देखिएको छ ।
हालसम्म सुमेरु अस्पताल धापाखेलमा १९ वटा मिर्गौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भइसकेको सो अस्पतालले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस