शीर्षकहरू

गभर्नर र सिबिफिनबीच छलफल, आवश्यकताका आधारमा नीतिगत सुधार गरिने आश्वासन

गभर्नर र सिबिफिनबीच छलफल, आवश्यकताका आधारमा नीतिगत सुधार गरिने आश्वासन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्याउनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ । समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरूलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा छलफल भएको हो । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएता पनि आर्थिक क्रियाकलापहरू अपेक्षितरुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका सम्भावित उपायहरूका विषयमा उक्त भेटघाट तथा छलफल केन्द्रित रहेको थियो । 

उक्त छलफलका क्रममा सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले नेपाल राष्ट्र बैंकमार्फत हालै मात्र जारी चालू आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनीय सुधार भएको भएता पनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पुँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीति जस्ता क्षेत्रहरूमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरको ध्यानाकर्षण गराए । वर्तमान विषम पूर्ण अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापहरूले गतिशीलता प्राप्त गर्ने विषयमा जोड दिए । अध्यक्ष गोल्यानले बाफियाको व्यवस्था बमोजिम संस्थापक शेयर सर्वसाधारण शेयरमा रूपान्तरण गर्न पाउने व्यवस्था, चालू पुँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो सञ्चालन खर्च र साँघुरिँदो लाभांशलगायतका विषयमा गभर्नरसमक्ष लिखित सुझाव पत्र पेश गरे । 

त्यसैगरी अध्यक्ष गोल्यानले सिबिफिनको पहलमा सातै प्रदेशमा बिजनेश समिट आयोजना हुन लागेको र उक्त समिटमा नेपाल राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गर्दै आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू नामक बहुपयोगी अध्ययनमूलक पुस्तक गभर्नरज्यूसमक्ष हस्तान्तरण गरे । विगतमा छिमेकी राष्ट्रहरूको अर्थतन्त्र चरम संकटमा पर्दै गर्दा पनि नेपाल राष्ट्र बैंकको सुझबुझपूर्ण कदमले नेपालको अर्थतन्त्र जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै, समग्र अर्थतन्त्र, उद्यम–व्यवसाय र आम जनजीविकामा देखिने गरी सुधार ल्याउन सिबिफिनले पेश गरेका सुझावहरूको औचित्य, आवश्यकता र महत्वलाई हृदयगंम गरी सो अनुसारको नीतिगत व्यवस्थाका लागि गभर्नरसमक्ष विशेष आग्रह गरे ।   

त्यसैक्रममा गभर्नर महा प्रसाद अधिकारीले बाह्य परिसूचकहरूमा सन्तोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किँदै गरेको विषयमा चर्चा गर्दै, आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्याङ्कनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरू अपनाउँदै जाने बताए । राष्ट्र बैंकप्रति सबै क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको उनले उल्लेख गरे । 

गभर्नर अधिकारीले तङ्ग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरू उत्तिकै गम्भीर र जिम्मेवार हुन आवश्यक रहेको औँल्याए । राष्ट्रिय एवं अन्ताराष्ट्रियरुपमा देखा परेका संकटका बेला राष्ट्रिय अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति चासो व्यक्त गर्दै, त्यस्ता क्रियाकलाप हुन नदिने विषयमा राष्ट्र बैंक सचेत रहेको गभर्नर अधिकारीले उल्लेख गरे ।