शीर्षकहरू

हिमालयन टाइम्स मिडियाले आईपीओ जारी गर्ने

हिमालयन टाइम्स मिडियाले आईपीओ जारी गर्ने

काठमाडौं । हिमालयन टाइम्स मिडियाले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव गर्दै असोज २७ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । 

असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव सभामार्फत पारित गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासन प्रस्तावसँगै बोनस शेयर जारी गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ । 

गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषय पनि सभाले पारित गर्नेछ । सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । मिडिया क्षेत्रको तेस्रो कम्पनीको रुपमा यो कम्पनीले आईपीओ निष्कासनको तयारी गरेको हो ।

यसअघि नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासन गरि दोस्रो बजारमा कारोबार सुरू भैसकेको छ । त्यस्तै कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले पनि प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव गत चैत १७ गते सम्पन्न विशेष साधारण सभामार्फत पारित गरिसकेको छ ।