काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ सार्वजनिक निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ९ लाख ९० हजार ८०० कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिएको हो ।
स्थानीयका लागि छुट्याएको १० लाख कित्ता आईपीओमध्ये ९ हजार २०० कित्ता आईपीओ समेत सर्वसाधारणमा थप भएको हो । त्यस्तै सामूहिक लगानीकोषका लागि ७५ हजार कित्ता र कम्पनीका कर्मचारीहरूमा ५ लाख कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको १२ लाख ८४ हजार २०० कित्ता आईपीओ भने सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
कम्पनीले पहिलो चरणमा साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी भदौ १८ गते बाँडफाँट गरेको हो भने स्थानीयमा साउन ४ गतेदेखि भदौ १७ गतेसम्म आईपीओ विक्री गरी असोज १ गते बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओ खरीदका लागि सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । विक्री अवधि छिटोमा असोज २२ गतेसम्म र ढिलोमा कात्तिक २ गतेसम्म तोकिएको छ । सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ समेत छिटो अवधि असोज २२ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यस कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रूपैयाँ रहेको छ ।