aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

गभर्नर र सेबोन अध्यक्षबीच भेटघाट, शेयर धितो कर्जाबारे छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असोज २०८०
Global IME
गभर्नर र सेबोन अध्यक्षबीच भेटघाट, शेयर धितो कर्जाबारे छलफल
DHI
nmb

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ । पूँजीबजार चलायमान हुन नसकेका बेला केन्द्रीय बैंकका गभर्नर र पूँजीबजार नियामक प्रमुखबीच भेटवार्ता भएको हो ।

गभर्नर अधिकारीलाई भेट्न हमाल सोमबार राष्ट्र बैंक नै पुगेका थिए । भेटघाटका क्रममा अधिकारी र हमालबीच बैंकले बढाइरहेको ब्याजदर, शेयर धितो कर्जा सीमा, प्राइभेट इक्विटी र भेञ्‍चर क्यापिटल लगायतबारे छलफल भएको बताइएको छ । बैंक तथा वित्त क्षेत्रका यी मामिला केन्द्रीय बैंक र पूँजीबजार नियामक दुबै जोडिने क्षेत्र हो । 

अधिकारी र हमालबीच शेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाउने विषयमा पनि कुराकानी भएको स्रोतले जानकारी दियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले नै शेयर धितो कर्जा सीमा हटाउनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्‌ । उनले शेयर बजार बढाउने उपाय खोज्न केन्द्रीय बैंकका अधिकारीहरूलाई निर्देश गरिरहेका छन्‌ । 

अहिले शेयरमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाले बढीमा १२ करोड रुपैयाँसम्म कर्जा दिने गरेका छन्‌ । यो कर्जाको आकार बढाउँदा बैंक तथा वित्तीय संस्थामा रहेको तरलता (लगानीयोग्य रकम) परिचालन हुने र शेयर बजार बढ्ने दाबी गरिएको छ । 

आज भएको छलफलमा दुई नियामक प्रमुखहरूबीच व्यक्तिगत तथा संस्थागततर्फ सेयर कर्जाको सीमा तथा यसको मापदण्डबारे पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस