शीर्षकहरू

पर्यटन दिवस अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

पर्यटन दिवस अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले काठमाडौंबाट नजिकको दूरीमा रहेको सुन्दरीजलदेखि सिन्धुपाल्चोकको धाप ड्यामसम्मको एक दिवसीय पदयात्रा–२०८० गरेको छ ।

लुकेका गन्तव्यलाई उजागर गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन संस्था सोट्टो–नेपालले सरकारका विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंदेखि सिन्धुपाल्चोकसम्मको गन्तव्यलाई उजागर गर्ने काम गरेको हो । २७ सेप्टेम्बरमा पर्ने ४४ औं विश्व पर्यटन दिवसको अवसर पारेर सोट्टो नेपालले गोकर्णेश्वर नगरपालिका र मेलम्ची नगरपालिकासँगको सहकार्यमा पदयात्रा गरेको हो ।

पर्यटनमा पर्यावरणमैत्री (हरित) लगानी नारा रहेको यसपालीको विश्व पर्यटन दिवसको अवसरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रका सम्पदाहरूको अध्ययन, अवलोकनसँगै सुन्दरीजल–मुलखर्क–धाप ड्याम हुँदै प्रकृति रिसोर्ट हैबुङमा पुगेर पदयात्रा सम्पन्न भएको हो ।

राजधानी काठमाडौंबाट नजिकै रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रका विविधताको मनोरम दृष्यसँगै पदयात्रा गरिएको हो । आवश्यक प्रचार प्रसारको अभावमा यो क्षेत्र पर्यटकीय दृष्टिले अझै ओझेलमा रहेको छ भने काठमाडौंको व्यस्त दैनिकिबाट केही समयका लागि आनन्द लिन जो कोहीलाई पदयात्रा सफलीभुत हुने सोट्टो नेपालका अध्यक्ष भुवनबहादुर पाण्डेले बताए ।

राजधानीबाट नजिक रहेको गन्तव्यलाई प्रवर्द्धन गरेर आन्तरिक पर्यटक बढाउँदै स्थानीयलाई अधिकत्तम लाभ दिने योजनाअनुरुप सोट्टोले हरेक वर्षजस्तै गरी यो वर्ष पनि पदयात्रालाई निरन्तरता दिएको अध्यक्ष पाण्डेको भनाइ छ ।

अध्यक्ष पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डसहितको सहयोगमा संस्थाले हरेक वर्ष आन्तरिक पर्यटन प्रवर्द्धन र स्थानीयलाई फाइदा दिने विविध कार्यक्रम गरिरहेको जानकारी दिए । पर्यटनको दीगो संरक्षण, प्रकृति प्रदुषण कम गर्दै स्थानीयलाई जागरुकतासँगै रोजगारी, प्रकृति र संस्कृतिको जगेर्ना, पाहुनालाई भगवान् सरहको आतिथ्य सत्कारसहित पर्यटन प्याकेज विकास गर्न सोट्टो–नेपाल लागिपरेको अध्यक्ष पाण्डेले बताए ।

पदयात्रा समापन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका प्राकृतिक, सांस्कृतिक र धार्मिक बिविधताले भरिपूर्ण रहेकाले संघ, प्रदेश सरकारलाई बजेट बढाउन आग्रह गर्दै व्यवसायीलाई लगानी बढाउन आग्रह गरे । नगरका १३ वडा मध्ये ५ वडालाई पर्यटन प्रवर्द्धनका लागि नमूना वडाका रूपमा छनौट गरेको जानकारी दिँदै प्रमुख तामाङले नगरभित्र आउने लगानीको सुरक्षा दिन आफूहरू तयार रहेको जनाए ।

पालिकाकी उपप्रमुख उमा प्रधानले लुकेछिपेका प्रसिद्ध पर्यटकीय स्थलको उजागर गर्ने सोट्टो नेपालको काम सह्राहनीय रहेको बताइन्‌ । काठमाडौंबाट नजिक रहेका यस्ता गन्तव्य प्रचारप्रसारको पर्खाइमा रहेको भन्दै ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रवर्द्धन गरेर आन्तरिक पर्यटकलाई आकर्षित गर्ने कार्य गर्न सबैको समन्वय आवश्यक रहेको उपप्रमुख प्रधानको भनाइ छ ।

पदयात्रा कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरू, पर्यटन कार्यालयका प्रतिनिधिसहित १ सय भन्दा बढी व्यवसायी, सरकारी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।