
काठमाडौं । नेपाल र चीनबीच थप १० सम्झौता र ३ समझदारी भएको छ । तर, चीनले महत्वका साथ उठाएको र नेपालले हस्ताक्षर गरेको बेल्ट एण्ड रोड इनिसियटीभ (बीआरआई) बारे भने दुई देशबीच भएको पछिल्लो सम्झौतामा कुनै विषय उल्लेख छैन ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा नेपाल र चीनका सरकारी अधिकारीहरूले १० सम्झौता र ३ समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिएका छन् । उनका अनुसार नेपालको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयको बीचमा विज्ञान तथा प्रविधि र अन्वेषण अनुसन्धान अघि बढाउन सम्झौता भएको छ ।
सन् १९८१ को नेपाल-चीन व्यापार सम्झौताको समीक्षा गर्न संयुक्त प्राविधिक समूह निर्माण गर्ने र सम्झौताको समीक्षा गर्न नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको व्यापार मन्त्रालयले काम गर्नेगरी सहमति भएको बताइएको छ । त्यसैगरी कृषि, पशुपालन र मत्स्यपालन विकास गर्न चीनको कृषि तथा ग्रामीण सरोकार मन्त्रालय र नेपालको कृषि, पशुपंक्षी विकास मन्त्रालयबीच समझदारी भएको छ ।
औषधि उत्पादन गर्न चीनतर्फ नेपालको जडीबुटी निर्यात अघि बढाउन नेपालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र चीनको भन्सार प्रशासनबीच समझदारी भएको छ । चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोग र नेपालस्थित राष्ट्रिय योजना आयोगबीच साझेदारी गरेर अघि बढ्ने समझदारीमा पनि हस्ताक्षर भएको छ ।
दुई देशबीचमा एकअर्का पुरातात्विक महत्वका कृतिहरू प्रकाशन र अनुवाद गर्ने नयाँ समझदारी पनि भएको छ । जसका लागि चीनको प्रेस तथा प्रकाशनसम्बन्धी राष्ट्रिय प्रशासन र नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले काम गर्ने जनाइएको छ । दुई देशबीच हिमाली क्षेत्रका उत्पादन तथा जैविक पदार्थबारे सन् २०१७ मा भएको सहमतिसम्बन्धी प्रमाणपत्र आदान-प्रदान गरेका छन् ।
चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थव्यवस्थासम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्वन उत्सर्जनसम्बन्धी अर्को समझदारीमा पनि हस्ताक्षर भएको छ ।
यसैगरी दुई देशबीच प्राकृतिक विपद् उद्धार सामग्रीसम्बन्धी पत्र आदान-प्रदान, सिजाली उच्च माध्यमिक विद्यालय परियोजना अघि बढाउने सम्झौतामा हस्ताक्षर र प्राकृतिक विपद् उद्दार सामग्रीसम्बन्धी पत्र र मानवीय स्रोत आदान-प्रदानबारे समझदारी भएको छ ।
दुई देशबीच हिल्सा-सिमकोट सडक परियोजना अघि बढाउने कुरामा पनि समझदारी भएको छ । यी सम्झौता र समझदारीमा सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा नेपाली प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा हस्ताक्षर भएको हो ।
प्रतिक्रिया दिनुहोस