
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सरूवा–बढुवामा हुनेगरेको भनिएको चलखेल र अवाञ्छित गतिविधि शून्यमा झारिएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा सांसद्हरू सामु गृहमन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।
विभागीय मन्त्री श्रेष्ठले पैसा वा अन्य कारणबाट हुने अवाञ्छित गतिविधि नियन्त्रण गरिएको उल्लेख गर्दै कार्यक्षमता, नियमसङ्गत, पारदर्शी ढङ्गले प्रहरीको सरूवा बढुवा गरिरहेको बताए ।
‘आन्तरिक रूपमा सुशासन स्थापित नगरी सुशासन र सेवा प्रवाहको समग्रताको हाम्रो मिसन पुरा हुँदैन भन्ने गृह मन्त्रालयको निष्कर्ष छ’, उनले भने, ‘आन्तरिक सुशासन भन्नाले समयमा कर्मचारी कार्यालय जानुपर्यो । सेवाग्राहीको फाइल अड्काउनु भएन, अनावश्यक र अवाञ्छित चलखेल पैसा वा अरू चलखेल भइरहेको छ भने हुन दिनु भएन । मापदण्डका आधारमा सरूवा बढुवा र पदस्थापन गर्नुपर्यो भनेर आन्तरिक सुशासनमा जोड दिउका छौँ ।’
उपप्रधानमन्त्री श्रेष्ठले विगतदेखि भइरहेको सरूवा बढुवाको अवाञ्छित गतिविधि शून्यमा झारिएको दाबी गरे । ‘म कसैलाई पहिला यस्तो भएको थियो भनेर आरोपित गराउन चाहन्नँ । तर, सुन्नमा आएको कुरा अवाञ्छित चलखेल हुनेगथ्र्यो बढुवा, सरुवा र पदस्थापनमा त्यो शून्यमा झारिएको छ, म त्यो ग्यारेन्टीका साथ भन्छु । सरुवा बढुवाको मापदण्ड अझै राम्रो भइसक्यो भन्ने पक्षमा छैन । यसलाई थप परिमार्जित र व्यवस्थित बनाउन जरुरी छ’, उनले भने ।
उपप्रधानमन्त्री श्रेष्ठले समग्र सेवाको सुधारका निम्ति सुधार योजना बनाउने तयारी गरिएको जानकारी दिए । उनले समग्र सुधारका लागि एक कार्यदल एक–दुई दिनभित्रै घोषणा हुने र त्यसपछि छ वटा उप कार्यदल बनाइने बताए । उनका अनुसार स्थानीय प्रशासन र सेवा प्रवाह, अध्यागमन सुधार, कारागार व्यस्थापन सुधार, राष्ट्रिय परिचयपत्र पञ्जीकरण र विपद् व्यवस्थापनको सुधार योजना बनाइनेछ । क्षमतावान र दक्ष जनशक्तिको व्यवस्थापन गरेर समग्र सेवा सुधारको प्याकेज बनाइनेछ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयअन्तर्गतका निकायमा योग र ध्यानलाई अनिवार्य बनाउन लागिपरेको पनि जानकारी दिए । उनले प्रहरीको कार्यक्षमता बढाउनका लागि यस्तो कार्यक्रम राख्न लागिएको जानकारी दिँदै यसले सुशासनको अभियानलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
बिहान कार्यालय पुगेपछि १५ मिनेट अनिवार्य ध्यान गनुपर्ने बताए । यस्तो ध्यान कुनै धर्म सम्प्रदायको नभई वैज्ञानिक किसिमको हुने उनको भनाई छ । उनले पश्चिमा देशमा पनि कार्यालय तथा विद्यालयमा ध्यान गराएर मात्र काम अघि बढाउन थालिएकोसमेत जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस