
काठमाडौं । संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षक आन्दोलनमा रहेका छन् । बुधबारदेखि आन्दोलनमा उत्रिएका विभिन्न जिल्लाका शिक्षकहरू आज पनि माइतीघरमा आन्दोलन गरिरहेका छन् ।
नेपाल शिक्षक महासंघका अनुसार शिक्षा विधेयकका उल्लेख भएका १८ वटा बुँदाप्रति शिक्षकहरूको असहमति रहेको छ । अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा सम्बोधन गर्नु पर्ने माग छ ।
सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो । सरकार र महासंघबीच यसअघि भएका सम्झौताहरूलाई विधेयकले यथोचित सम्बोधन नगरेको शिक्षकहरूको भनाई छ ।
गत वर्षको तथ्याङ्अनुसार हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार छ विद्यार्थी छन् ।
शिक्षक आन्दोलनका कारण देशभरका विद्यालयहरूमा पठनपाठन प्रभावित बनेको छ । कतिपय विद्यालयहरूमा विद्यार्थी पुगेर घर फकिएका थिए । देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको सडकमा उत्रिएका हुन् ।
आन्दोलनमा उत्रिएका शिक्षक र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच बिहिबार वार्ता समेत भएको थियो । वार्तामा उपप्रधानमन्त्री श्रेष्ठले आन्दोलनलाई मर्यादित बनाउन आग्रह गरेका थिए । तर, देशभरका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरू आफ्नो माग पुरा नभए आन्दोलन जारी राख्ने अडानमा छन् ।
माइतीघर मण्डलामा भेला भएका शिक्षक र कर्मचारीको आन्दोलनका कारण काठमाडौंको मुख्य क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस