शीर्षकहरू

अचानक आयस्रोत ठप्प भए कुन देशका मानिसका जीवन कति दिन चल्छ ?

अचानक आयस्रोत ठप्प भए कुन देशका मानिसका जीवन कति दिन चल्छ ?

एजेन्सी । मानौँ कुनै ठूलो प्राकृतिक प्रकोप वा आर्थिक मन्दीको झट्काको कारण कुनै मानिसले आफ्नो आय पुरै गुमायो भने उसले कति समय सम्म जीवनयापन गर्न सक्ला ? यो अनौठो तर महत्त्वपूर्ण सवालको जवाफ खोज्ने क्रममा गरिएको एक अध्ययनले निकै रोचक तथ्य फेला पारेको छ ।

लायड्स रजिस्टर फाउन्डेसन नामक संस्थाले गरेको एक सर्वेक्षणमा मानिसहरूलाई आम्दानी बिना कति समयसम्म उनीहरू आफ्नो आधारभूत आवश्यकताहरू पूरा गर्न सक्छन् भनी सोधिएको थियो। विश्वका १२१ देशका एक लाख २५ हजार जनालाई सोधिएको यो प्रश्नको जवाफका आधारमा रिपोर्ट तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यो अध्ययनले कुन देशका मानिसहरू आर्थिक रुपमा कति सुरक्षित छन् भन्ने हेर्न चाहेको थियो । त्यसका लागि जवाफमा उनीहरूले एक महिना भन्दा बढी, एक महिना वा कम, एक हप्ता भन्दा कम समयसम्म बाँच्न सक्नेहरू र थाहा छैन वा भन्न चाहन्न जस्ता छनौट मध्ये एक छान्नु पर्ने गरी वर्गीकृत गरिएको थियो।

अध्ययनले पत्ता लगायो कि सामान्यतया आफ्नो आवश्यकताहरू सबैभन्दा लामो समयसम्म पूरा गर्न सक्नेहरू विकसित अर्थतन्त्रहरूमा रहेकाले जनाएका थिए । त्यसैगरी, सबैभन्दा छोटो समयको लागि आफ्नो आवश्यकताहरू पूरा गर्न सक्नेहरू आर्थिक सुरक्षा बढी कमजोर भएका विकासशील अर्थव्यवस्थाहरूमा बसोबास गर्नेहरू पाइए ।

यसरी हेर्दा आर्थिक रूपमा सङ्घर्ष गर्ने विश्वभरका मानिसहरूको मात्रा चिन्ताको वास्तविक कारण बन्न पुगेको देखिन्छ। अध्ययनले पत्ता लगायो कि आश्चर्यजनक दुई अर्ब ७० करोड मानिसहरूले आम्दानी बिना एक महिना वा कमको लागि मात्र आफ्नो आधारभूत आवश्यकताहरू पूरा गर्न सक्छन् । विश्वका ९४ करोड ६० लाख मानिसहरू बढीमा एक हप्तासम्म मात्र कुनै आम्दानीको स्रोत बिना बाँच्न सक्छ।

यो अध्ययनले स्विडेनका मानिसहरू मध्ये ८९.९ प्रतिशतले एक महिना वा बढी समयसम्म आम्दानी बिना नै पनि बाँच्न सकिने जनाउँदा सबै भन्दा कम समय यस्तो अवस्थामा बाँच्न सकिन्छ भन्नेहरूको मुलुक बङ्गलादेश हो । त्यहाँका मानिसहरू मध्ये १६.४ प्रतिशतले मात्र एक महिना वा बढी बाच्ने अपेक्षा गरेको देखियो ।

यसको दोस्रो नम्बरमा हंगकंग र तेस्रोमा नर्वे रहँदा अन्तिममा इजिप्ट र जोर्डन क्रमशः ११९ औँ र ११८ स्थानमा रहेका छन् । हाम्रो छिमेकी मुलुक भारत ११६ औँ स्थानमा रहँदा पाकिस्तान ११७ औँ स्थानमा छ ।