शीर्षकहरू

अपि पावरको हकप्रद ५२ प्रतिशत बिक्यो, मंगलबारसम्म मात्र आवेदन दिन सकिने

अपि पावरको हकप्रद ५२ प्रतिशत बिक्यो, मंगलबारसम्म मात्र आवेदन दिन सकिने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि निष्कासन गरेको ४० प्रतिशत हकप्रद शेयर भदौ १७ गतेसम्म ५२ प्रतिशतभन्दा बढी मात्र बिकेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार भदौ १७ गतेसम्म ९३ हजार ८७३ जनाबाट ८६ लाख ३० हजार ७४० कित्ता शेयर खरिद माग भएको हो ।

कम्पनीले भदौ १९ गतेसम्मका लागि असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो ।  हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरू मात्र आवेदन दिनका लागि योग्य भएका हुन । 

गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेश गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रूपैयाँको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रूपैयाँभन्दा बढी पुग्नेछ । 

हकप्रद शेयर निष्कासनका लागि गराईएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत रहेको गर्ने केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।