काठमाडौँ । सभामुख देवराज घिमिरेले एमसिसी र बीआरआइलाई मुलुकले आफ्नो हित हुने गरी लाभ लिनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले ठूला राष्ट्रको प्रभावलाई सन्तुलनमा राख्दै यसबाट प्रतिस्पर्धात्मक लाभ लिनुपर्ने बताए ।
सभामुख घिमिरेले छिमेकी राष्ट्रहरूले गर्ने सहयोगलाई आफ्नो मुलुकले राष्ट्र हित हुने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिएका थिए । अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) कार्यक्रमलाई सरकारले राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै यसबाट फाइदा कसरी लिन सकिन्छ त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
सभामुख घिमिरेले भने, “ठुला राष्ट्रहरूको प्रभावलाई सन्तुलनमा राख्दै आउने अवसरलाई मुलुकको आर्थिक विकाश र जनताको आत्मनिर्भर बन्ने बाटोमा लगाउनुपर्छ ।” नेपालले यी दुवै कार्यक्रमबाट नेपाली जनताको हितमा कसरी जाने ? राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै दुवै मुलुकबाट फाइदा कसरी लिन सकिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बेला आएको सभामुख घिमिरेले बताए।
कार्यक्रममा नेपालका लागि चीनका राजदूत छन् सोङले नेपालको आर्थिक विकासमा चीन सधैँ साथमा रहने बताए । उनले नेपालको आर्थिक विकासमा कृषि, उद्योग, प्रविधिलगायत क्षेत्र महत्त्वपूर्ण रहेकाले यी क्षेत्रको विकासमा चीनको सहयोग सधैँ रहने बताए ।