aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

ठगीदेखि चोरीसम्मका घटनामा वृद्धि, सात महिनामा काठमाडौंमै हराए ११ हजार मोबाइल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ भदौ २०८०
Global IME
ime Limited
ठगीदेखि चोरीसम्मका घटनामा वृद्धि, सात महिनामा काठमाडौंमै हराए ११ हजार मोबाइल
DHI
nmb

काठमाडौं । बढ्दो बेरोजगारी र आर्थिक संकटका कारण सामाजिक/आर्थिक अपराध निकै बढेको छ । यस्तो आर्थिक अपराधको रुपमा बैंकिंङ  कसुर, ठगीदेखि मोबाइल चोरीसम्मका घटनामा वृद्धि भएको देखिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गएको सात महिनामा काठमाडौं जिल्लामा मात्रै ११ हजार भन्दा बढी मोबाइल हराएका छन् । प्रहरीले बताए अनुसार गत माघ महिनादेखि साउन महिनासम्मको अवधिमा काठमाडौं जिल्लामा ११ हजार ११८ वटा मोबाइल हराएका उजुरी दर्ता भएका हुन् ।  

तथ्यांक अनुसार यी मध्ये ६ हजार ५२९ वटा मोबाइल चोरी भएका हुन् भने तीन हजार ४८२ वटा हराएका हुन् । पाकेटमारी मार्फत एक हजार १०८ वटा चोरी भएको प्रहरीले जनाएको छ । हराएका मोबाइल मध्ये एक हजार ४९९ वटा फेला परेका छन् । फेला परेका मोबाइल प्रहरीले सम्बन्धित धनीलाई फिर्ता दिइसकेको छ ।  

पाँच करोड ४१ लाखको ठगी
काठमाडौंमा विभिन्न माध्यम मार्फत ठगी गरेका घटना समेत बढ्दो क्रममा रहेको पाइएको छ । प्रहरीमा पुगेको उजुरी हेर्दा गत माघ महिनादेखि साउन महिनासम्ममा काठमाडौंमा पाँच करोड ४१ लाख ६९ हजार रुपैयाँ ठगीमा परेको देखिन्छ ।

यस अवधिमा अनलाइनमा सामान तथा सेवा खरिद बिक्री गर्दा ठगी गरेको आरोपमा ६१ वटा मुद्दा दर्ता भएका छन् । जसमा ३२ लाख ८३ हजार रुपैयाँ ठगिएको उजुरीमा उल्लेख छ । त्यस्तै, यस अवधिमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै एक करोड ७२ लाख ४ हजार रुपैयाँ ठगी भएको छ ।

यस अवधिमा पार्सल तथा डलर कर बापतको रकम जम्मा गर्न लगाई एक करोड ७२ लाख ७८ हजार, बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई ५४ लाख ७८ हजार रकम चोरी, सामाजिक सञ्जालमा पहुँच पुर्‍याई ५ लाख, रकम डबल हुन्छ भन्दै ९८ लाख ८ हजार पाँच सय रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ । 

यो पनिः ​अत्यधिक बढ्यो आर्थिक अपराध, नयाँ ‘ट्रेन्ड’ले प्रहरीलाई थपियो चुनौती

बैंकिङ कसुरका सर्वाधिक मुद्दा
गत माघ महिनादेखि साउनसम्म काठमाडौंमा मात्रै ८ हजार ९२३ वटा अपराधका मुद्दा दर्ता भएका छन् । जसमा सबैभन्दा बढी बैंकिङ कसुरका देखिएको छ । यस अवधिमा चार हजार ७२३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका हुन् । जसमा ७२१ जना पक्राउ परेका छन् ।

त्यस्तै, यस अवधिमा चोरीका ४२४ वटा मुद्दा दर्ता हुँदा ठगीका २४३ वटा भएका छन् । यसका साथै सो अवधिमा लागु औषधका २२२ वटा, आत्महत्या सम्बन्धी कसुर २४८, महिला तथा बालबालिका सम्बन्धी कसुरमा २२४ र सवारी ज्यान तथा अंगभंग सम्बन्धी कसुरमा ११५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

यस अवधिमा प्रहरीले विभिन्न मुद्दाबाट १२ करोड ५५ लाख २१ हजार रुपैयाँ जरिवाना असुलेको छ । जुन एक हजार ७९८ जनाले तिरेका हुन् । 

यो पनिः  बैंकिङ कसुरको बढ्दो ग्राफ, पक्राउ पर्नेभन्दा फरार हुने धेरै

प्रतिक्रिया दिनुहोस