
काठमाडौं । स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना तामाकोशी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आज (भदौ ६ गते) बस्दैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार ११ बजेबाट साधारणसभा शुरु हुँदैछ ।
लिमिटेडले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको जलविद्युत उत्पादन केन्द्रबाट विद्युत उत्पादन गरिरहेको छ । यस अघि नै लिमिटेड सञ्चालक समितिले शेयरधनीहरूलाई शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।
आज बस्दै गरेको साधारणसभामा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वासलात र नाफा–नोक्सान तथा नगद प्रवाहमाथि छलफल हुने लिमिटेडले जानकारी दिएको छ । यसैगरी लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि साधारणसभामा राखिँदैछ ।
१० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोशीको चुक्तापूँजी हकप्रद सेयर जारी भएपछि २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । लिमिटेडले २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद शेयर जारी गरी थप पूँजी संकलन गर्न लागेको हो । हकप्रद सेयरका निष्कासन गर्न तामाकोशीले यस अघि नै नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
अपर तामाकोशीले साधारणसभा र हकप्रद निष्कासन निम्ति साउन २६ गते नै बुक क्लोज गरिसकेको छ । साउन २५ गतेसम्म कायम लगानीकर्ताले साधारणसभामा सहभागी हुन र हकप्रद शेयर भर्न पाउनेछन् ।
कसको कति लगानी ?
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानले २/२ अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल सरकारले ११ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यी ऋणको ब्याजदर झण्डै ११ प्रतिशत छ ।
लिमिटेडमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक शेयर छ । सर्वसाधारणको १५ प्रतिशत, दोलखाबासीको १० प्रतिशत, संचय कोषका संचयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर रहेको यो जलविद्युत आयोजना हाल निर्माण सम्पन्न भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । आयोजना करिब ८० रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस