बीओकेका पूर्वसीईओ पक्राउ प्रकरणको डरलाग्दो पाटो - Aarthiknews
aarthiknews.com विहीबार, २६ मंसिर २०७६   Thursday, 12 December, 2019
 
Bajaj_Bike
कर्पोरेट गेम प्लानको एउटा रुप

बीओकेका पूर्वसीईओ पक्राउ प्रकरणको डरलाग्दो पाटो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
Sunrise bank
बीओकेका पूर्वसीईओ पक्राउ प्रकरणको डरलाग्दो पाटो
LBEF
NCH-IPS

काठमाडौं । बैंक अफ काठमान्डू (बीओके) मा खोला छेउको जग्गालाई राजमार्ग छेउको भन्दै नक्कली कागजपत्रका आधारमा धितो कर्जा प्रवाह गरेर अनियमितता गरेको भन्दै बैंकका पूर्वसीईओसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । यो घटनाले नेपालको बैंकिङ क्षेत्रमा नै ठूलो हलचल मच्चाइ रहेको छ । 

यसअघि पनि यस्ता कीर्ते हुने गरेको र त्यसको न्यायिक निरुपणसमेत हुँदै आएकोमा कुनै बैंकको सीईओ भइसकेको व्यक्तिको समेत सार्वजनिक रुपमा मानमर्दन हुने गरी किन यसलाई छताछुल्ल पारियो भन्ने विषयमा समेत बहस र छलफल शुरु भएका छन् । यो प्रकरणको विश्लेषण गर्ने क्रममा कतिपयले अर्को पाटो पनि पस्कने गरेका छन् । त्यो हो, बैंक अफ काठमान्डू र लुम्बिनी बैंक मर्जरपछिको द्वन्द्व । 

उनीहरुको भनाइ के छ भने बैंक मर्ज अघिको लुम्बिनी बैंक सम्बद्ध अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएका कारण हाल पूर्व बैंक अफ काठमान्डूका कर्मचारी त्यहाँ पेलाईमा परिरहेका छन् । पूर्व बैंक अफ काठमान्डूका कर्मचारीको मनोबल कमजोर पार्न र कतिपय अव्यक्त प्रतिशोध साँध्न समेत अनावश्यक ढंगले यो प्रकरण अघि बढाइएको उनीहरुको तर्क छ ।

चाहे जे होस, यो प्रकरणले एकसाथ बैंकर एसोसिएसन, बैंकका कर्मचारी, धितो मूल्यांकनकर्ता र ऋण लिने व्यापारीलाई समेत नयाँ ढंगले सोच्न बाध्य पारेको छ । महत्वपूर्ण नजिर बन्ने गरी सतहमा आएको यो प्रकरणको तथ्यले केही अहम् प्रश्न उठाएको छ ।

घटनाको पृष्ठभूमि 
वि.सं. २०७१ सालमा ऋणी सुरेन्द्र श्रेष्ठले बैंक अफ काठमान्डूसँग सम्पर्क गरी ‘झापाको एउटा जग्गा आएको छ, साथीहरुले ल्याएको जग्गा हो । मलाई  केही व्यापार बिस्तार गर्न केही पैसा चाहिएको छ, हेरेर मिल्छ भने दिनुहोला ।’ प्रस्ताव राखे । बैंकको कमलादीस्थित मुख्य शाखामा उनले राखेको यो प्रस्तावलाई सकारात्मक रुपमा लिइयो । उनी स्वयम् पनि जग्गा देखाउने भुपेन्द्र श्रेष्ठसँग जग्गा हेर्न झापा गए । साथमा पुराना मित्र ऋषिश्वर थपलियासमेत गए । सुरेन्द्रका अनुसार झापामा भुपेन्द्र र त्यहींका स्थानीय जग्गा दलाल प्रेमप्रसाद पाण्डेले लक्ष्मीपुर बजारस्थित महेन्द्र राजमार्गसँगै जोडिएको जग्गा देखाए । जग्गा राम्रो थियो र त्यही जग्गा हो भन्ने कागजातहरु (जग्गाको लालपुर्जा, चारकिल्ला प्रमाणित, नक्सा इत्यादि ) उनीहरुसँग थियो । 

जग्गाधनी भनिएका प्रेमप्रसाद र बिचौलिया भुपेन्द्रसँग कुरा भयो । उनीहरुले सुरेन्द्रको नाममा जग्गा नामसारी गरेर सो जग्गा उनको कम्पनीमार्फत बैंकमा धितो राखेर पैसा निकाल्ने र सबैले बाँडेर चलाउने अनि आ–आफ्नो भागमा पर्ने साँवा र ब्याज नियमित रुपमा बैंकलाई बुझाउने सहमति भयो । 

त्यसपछि सुरेन्द्रले काठमाडौँ फर्किएर बैंकलाई सम्पूर्ण कागजपत्रसहित ऋण प्रक्रियाको लागि अनुरोध गरे । हेटौडा हुँदादेखि कै राम्रो कारोबार गरिरहेको ग्राहकले राखेको यो प्रस्तावमा बैंक सकारात्मक बन्यो । अनि आफ्नो विराटनगरस्थित कार्यालयलाई सबैकुरा बुझेर रिपोर्ट गर्न भन्यो । त्यो समयमा विराटनगरमा पूर्वक्षेत्रीय इन्चार्जका रुपमा गणेश लम्साल र शाखा प्रबन्धक किरणकुमार बोहरा थिए ।  

उनीहरु फिल्डमा गएनन् बरु बिचौलिया श्रेष्ठ र किर्ते कागजात बनाउने ठग पाण्डेलाई नै विश्वास गरे । स्रोतका अनुसार बोहोरा फिल्डमा त गए तर ति कागजात सही वा सक्कली हुन् वा होइनन् बन्ने छानबिन गरेनन् अथवा उनीहरुको प्रलोभनमा परे । जे होस्, किरणले पनि त्यही जग्गाको तस्वीर खिचेर लम्सालमार्फत काठमाडौँ पठाए जुन सुरेन्द्रले हेरेर आएका थिए ।

क्षेत्रीय कार्यालयबाट आएको रिपोर्ट सही नै देखेपछि बैंकले आफ्नो धितो मूल्यांकनकर्ता एभरेष्ट इन्जिनियरिङ कन्सल्टेन्सीलाई सो जग्गाबारे मूल्यांकनको जिम्मा दिइयो । त्यसका सञ्चालक भेषराज खत्रीले उक्त जग्गा राखेर उनले माग गरेजति ऋण प्रवाह गर्न सकिने रिपोर्ट पेस गरे । अब बैंककै भ्यालुएटरले समेत जग्गा सही ठहर्याएपछि ऋणी सुरेन्द्रदेखि बैंकका उपल्लो तहका कर्मचारीसमेतले केही कुरामा शंका गरेनन् । सहजै ऋण प्रवाह भयो ।

जग्गा खोला हो, कागजात किर्ते हो भन्दा छाँगाबाटै झरेँ : ऋणी सुरेन्द्र 
ऋणी सुरेन्द्रका अनुसार उनले डेढ करोड ऋण लिएपछि पूर्वशर्त बमोजिम भुपेन्द्रलगायतको समूहलाई ८० लाख दिए । तर, उनीहरुले बैंकलाई नियमित तिर्नुपर्ने किस्ता तिरेनन् । आफ्ना विभिन्न व्यवहारिक समस्या देखाउँंदै आएका भुपेन्द्र एकाएक सम्पर्क विहीन भए । तथापि, सुरेन्द्र एक्लैले बैंकलाई सम्पूर्ण ऋणको ब्याज र किस्ता बुझाइ रहे । समस्या थिएन । उनले थप व्यापार विस्तारको लागि आफ्नो नाममा रहेको इटहरी चोकको घरघडेरी फेरि त्यही बैंकमा साढे दुई करोडमा धितो राखी थप ऋण निकाले यहाँसम्म सबैकुरा सामान्य नै थियो ।

उनले ९ प्रतिशत ब्याजदरमा निकालेको ऋण बैंकले १४ प्रतिशत पुर्यायो । उता सुरेन्द्रको व्यापार सोचेजस्तो फस्टाएन । भुपेन्द्रलगायतले चलाएको पैसाको भुक्तानी जिम्मेवारीसमेत उनैमा थियो । अब समयमा ब्याज नै बुझाउन नसकेपछि बैंकसँग उनको पटक–पटक छलफल चल्यो । सुरेन्द्र भन्छन्–‘ यति धेरै ब्याजदर म तिर्न सक्दिन हेरिदिनुस् भने तर बैंकले सुनेन । त्यसो भए प्रक्रियामा जाउँ भन्ने मेरै प्रस्ताव हो ।’ पछि बैंकले नै मलाई भन्यो–‘त्यो जग्गा त खोला रहेछ । कागजात किर्ते रहेछ । त्यो सुन्दा पो म छाँगाबाट झरें ।’ उनी अगाडि थप्छन्–‘आखिर जे नहुनु थियो । अब भइसक्यो मैले मेरो इटहरीको घरजग्गा बेचेर मिलाउँछु भने । बैंकसँग सहमति पनि भयो । अहिले धितोमा रहेको इटहरीको घरजग्गा करिब ८ करोड रुपैयाँमा बिक्छ । मैले बैंकलाई तिर्नुपर्ने करिब ५ करोड होला । तर, एक्कासी मलाई पक्राउ गरियो । म छक्क परेको छु, किन यस्तो भयो ? तिर्छु भनेकै छु । तिर्न पुग्ने सम्पत्ति बैंकमै धितो छ । झापाको जग्गामा बैंक र म दुवै ठगियौं । तर, पनि बैंकलाई नोक्सान हुने अवस्था थिएन ।’

सुरेन्द्रको यही भनाइले पुष्टि गर्छ कि कुरा किर्ते वा खराब कर्जाको मात्र होइन । कहीं कतै बैंकभित्रको ‘कर्पोरेट पोल्टिक्स वा गेम प्लान’ यसमा घुलित छ । पुरानो बैंक अफ काठमान्डू र लुम्बिनी बैंक मर्जरपछि फैलिएको आपसी द्वेषले यो प्रकरणलाई मलजल गरेको भन्ने आरोप पुष्टिका आधार उद्घाटित भएको देखिन्छ ।

धान खाने मुसो, चोट पाउने भ्यागुतो 
 सबै घटनाक्रम हेर्दा यो प्रकरणमा बैंकका कर्मचारी र ऋणीले केही कमजोरी मात्र गरेका हुन् । तर, दोषी किर्ते कागजात बनाएर देखाउने झापाका प्रेमप्रसाद पाण्डे र सो जग्गाको मूल्यांकन गर्ने बैंकका धितो मूल्यांकनकर्ता भेषराज खत्री देखिन्छ । उनीहरु दुवैजनालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

बैंक ठग्ने योजनाका अर्का मतियार जग्गाको नक्कली कागजात लिएर ऋणी व्यापारीसम्म पुग्ने बिचौलिया भुपेन्द्रसमेत नियतवस नै यो काममा लागेका थिए भन्न सकिने अवस्था छ । तर, नियतवस नै बैंक ठग्न सक्रिय दुईजनाको भूमिकाको सञ्चारमाध्यममा समेत चर्चा गरिएको छैन । उनीहरुको चक्रब्यूहमा परेका व्यापारी र बैंकका उपल्लो तहका कर्मचारीको भने मानमर्दन हुँदैछ । वास्तबमा बैंकको मुख्य कार्यालयले आफ्नो ‘गुड लिस्ट’मा रहेको ग्राहकलाई ऋण लगानी गरेको हो । त्यसैले धेरै गम्भीरतापूर्वक लिएन । तर, क्षेत्रीय कार्यालयले त उनलाई चिन्दैनथ्यो । त्यसैले सो जग्गाबारे सुक्ष्म अध्ययन जरुरी हुन्थ्यो । तर, त्यहाँका कर्मचारीले किन त्यसो गरेनन् ? यो प्रश्नको जवाफ खोज्नु आवश्यक छ । बैंकले धितो मूल्यांकनकर्ता कस्तो व्यक्तिलाई गर्यो ? के धितो सदरको लागि बैंकबाट दबाब दिइएको थियो वा उनी ठगको प्रलोभनमा परे ? यो अर्को महत्वपूर्ण प्रश्न हो । 

बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ, नायब महाप्रबन्धक पुष्पराम भण्डारी, जोखिम व्यवस्थापन अधिकृत ऋचा श्रेष्ठ, वरिष्ठ सम्पर्क अधिकृत विभुविक्रम पन्त, सम्पर्क अधिकृत सुष्मा शाहलगायतका व्यक्ति यो प्रकरणमा मुछिएका छन् । उनीहरुको दोेष के थियो भन्ने नकेलाई उनीहरुलाई नै मुख्य दोषी करार गराउने काम भइरहेको छ । 

बैंक अफ काठमान्डूको पूर्वकर्मचारी हुनु नै आफ्नो कसुर भएको उनीहरुको दाबी छ । ऋणी सुरेन्द्र यो कारोबारमा आफूले कसैलाई आर्थिक प्रलोभनमा पार्नु त परको कुरा सँगै बसेर चियासमेत नखाएको दाबी गर्छन् । आफू हिरासतमा नै रहेकाले नाम उल्लेख नगर्ने सर्तमा काठमाडौंमा कार्यरत बैंकका एक कर्मचारीले भने–‘हाम्रो कुनै गल्ती छैन ।

विराटनगरका साथीहरुको कति कमजोरी हो त्यो उनीहरुलाई नै थाहा होला तर यहाँका हामी चाहिँं अर्कै उद्देश्यले कोपभाजनमा पर्यौं ।’ उनले अगाडि थपे–‘पूर्व बैंक अफ काठमान्डूका साथीहरुलाई हतोत्सायी पार्ने, आन्तरिक रुपमा पेल्ने शृंखलाको एउटा अध्यय मात्र हो यो । ’ उनको कुरालाई आधार मान्ने हो भने यहाँ धान खाने झापाका पाण्डे, बिचौलिया श्रेष्ठ, धितो मूल्यांकनकर्ता खत्री र बैंकका क्षेत्रीय कार्यालयका कर्मचारी हुन् । बाँकी अरुले त चोट मात्रै पाएका हुन् त्यो पनि बैंक अफ काठमान्डूभित्रको आन्तरिक द्वन्द्वको कारण ।

के भन्छन् बैंकका हाकिमहरु ?
बैंक अफ काठमान्डूका अध्यक्ष प्रकाश श्रेष्ठ अहिले अस्ट्रेलियामा छन् । आर्थिकन्युज डटकमको भाइबर सम्पर्कमा आएका श्रेष्ठले पूर्वसीईओलगायत कर्मचारी पक्राउ पर्दा आफूलाई दुःख लागेको बताए । उनले भने–‘हामीले कुनै पनि व्यक्तिलाई पक्राउ गर भनेर प्रहरीलाई निवेदन दिएको होइन, केबल यो प्रकरणलाई छानविन गरिदेऊ मात्र भनेका हौं ।’  

त्यस्तै प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त यो घटनालाई बैंकभित्रको आन्तरिक कलहको उपजको रुपमा स्वीकार्न तयार छैनन् । उनी भन्छन–‘यस्तो व्याख्या भएको मैले पनि सुन्दै आएको छु । तर, मैले सीआईबीलाई जानकारी गराउनु पथ्र्याे र गराएँ । राष्ट्र बैंकलाई भन्नु पथ्र्यो भने । साथी अजयजी पर्नु भयो मलाई पनि दुःख लागेको छ ।’

उनले बैंकर एसोसिएसनलाई यसबारे भाइबरमार्फत लेखेको पत्र नै आफ्नो आधिकारिक धारणा भएको बताए । जसमा उनले आफू ओभानो देखिने प्रयत्न गरेका छन् । सुक्ष्म रुपमा हेर्दा त्यहाँ ‘गोहीका आँशु’ देख्न गाह्रो छैन ।  सीईओ पन्तले सन् २०१७ मा स्वयम् अजय श्रेष्ठ सीईओ रहेका बेला पनि धनगढीमा भएको यस्तै किर्ते प्रकरणमा सीआईबीलाई पत्र लेखेर उनले अनुसन्धानको लागि अनुरोध गरेको घटना स्मरण गराए । उनको तर्क छ,–‘के त्यो बेला पनि बैंक अफ काठमान्डू र लुम्बिनीको झगडा थियो ? होइन भने विषयान्तर नगरियोस् ।’ उनले आफूले पनि पटक–पटक यो प्रकरण आन्तरिक कलहको कारण यसरी सतहमा आएको भन्ने आरोप सुनेको कुरा स्वीकार गर्दै गर्दा ‘हावा नचली पात हल्लिएको’ भने पक्कै होइन ।

पूर्व बैंक अफ काठमान्डूका समेत सञ्चालक हुँदै अहिले पनि सञ्चालक समितिमा रहेका एक सञ्चालकले आफूलाई कोड नगर्न आग्रह गर्दै भने–‘प्रहरीले अलिक धेरै नै सक्रियता देखाएको देखियो । त्यो सक्रियता कहाँबाट, कुन शक्ति र सम्पर्कले गराएको हो त्यो बुझ्नुपर्ने हुन्छ ।’ उनको संकेत हालको बैंक नेतृत्वले यसलाई अलिक बढी नै चर्काएको र बैंकरहरुको मान मर्दन गर्न खोजेको संकेत गरे । 

त्यसो त सीआईबीका अधिकारीले यो फाइल हामीले हेर्यौं भने ऋण प्रक्रियामा संलग्न भएका ‘बटम टु टप’ सबै जना कर्मचारी थुनामा पर्छन, त्योभन्दा राम्रो आफै बसेर यसलाई मिलाउनुस् । भनेर सल्लाह दिँदासमेत हालको म्यानेजमेन्टले नमानेको भन्ने कुरा सार्वजनिक भसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस