aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

केबलकार सर्किट पर्यटनमा नयाँ आयाम, यसमा लगानी गर्दा राम्रो प्रतिफल पाइन्छ: ढकाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ असार २०८०
Global IME
केबलकार सर्किट पर्यटनमा नयाँ आयाम, यसमा लगानी गर्दा राम्रो प्रतिफल पाइन्छ: ढकाल
DHI
nmb

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् । लुम्बिनी केबलकार लिमिटेडले पाल्पाको वसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा एक पछि अर्को केबलकारहरू सञ्चालनमा आएकाले अब बुद्धिस्ट सर्किट, रामायण सर्किट जस्तै केबलकार सर्किट पनि नेपालको पर्यटन प्रवर्द्धनमा नौलो प्याकेज हुने बताएका हुन् । 

नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यसमा लगानी गरे दुवै देशका लगानीकर्ताले राम्रो प्रतिफल पाउने ढकालले बताए । आईएमई ग्रुपको अगुवाइमा अबको ५ वर्षमा पाँचतारे होटेलसहितका थप ४ वटा केबलकार निर्माण गरी सात वटै प्रदेशमा केबलकार सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको ढकालले बताए । नेपालमा सयौँ हिल्स एरिया रहेका र त्यहाँ केबलकार लगायत पर्यटकीय पूर्वाधार बनाउन सके भारतीय नागरिक रमाउन आउने सम्भावना रहेको ढकालले बताए । 

कुल ५ अर्ब लागतको २।६ किलोमिटर लामो लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेशन छ । टप स्टेशनमा कामाख्यादेवी सहित सय वर्ष पुरानो भगवती मन्दिर, शिव वाहन नन्दी लगायतका धार्मिक संरचनाहरू छन् । 

लुम्बिनी केबलकार बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनी  नजिकै रहेकाले  पाल्पा वसन्तपुरको मनोरम प्राकृतिक भूगोल, कामाख्या देवीको मन्दिर दर्शनका लागि भारतीय नागरिक आकर्षित हुने गरेको ढकालले बताए । अध्यक्ष ढकालले पर्यटन, जलविद्युत, खानी र खनिज पदार्थ, कृषि जस्ता क्षेत्रहरूमा भारतीयसँग संयुक्त लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिने समेत औँल्याए । 

भारतीय पर्यटकहरूलाई नेपाल आगमनका क्रममा सीमा नाकामा गरिने व्यवहार सम्मानजनक हुनुपर्ने र प्रशासनिक झन्झटलाई सहज बनाइनुपर्ने अध्यक्ष ढकालले आग्रह गरे । सञ्चालनमा आएको एक महिनामै लुम्बिनी केबलकारमा चढ्ने कुल सङ्ख्या मध्ये ४० प्रतिशत भारतीय नागरिक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले निकट भविष्यमै बेलहियाबाट बुटवल गोलपार्कसम्म सटल बसहरू सञ्चालनमा ल्याउने योजना रहेको बताए । केबलकारको टप स्टेसनमा रहेको कामाख्यादेवी, सय वर्ष पुरानो भगवती मन्दिरको दर्शका लागि नेपालीसँगै भारतीय नागरिकको आकर्षण रहेको उनले बताए । 

लुम्बिनी केबलकारको टप स्टेसनमा भारतीयलाई लक्षित गरी क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र एक सय ५० कोठा सहितको पाँचतारे होटेल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको अपरेसन म्यानेजर डिएन कायस्थले बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पर्यटन पत्रकार नरेश केसी लगायतले नेपाल र भारतबिच सरकारी स्तर सँगै नागरिक स्तरको सहकार्यबाट दुवै देशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने बताए ।

प्रतिक्रिया दिनुहोस