टोखा नुवाकोट सडक र तमोरमा लगानी जुटाउने प्रस्ताव दर्ता - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike
टोखा नुवाकोट सडक र तमोर

टोखा नुवाकोट सडक र तमोरमा लगानी जुटाउने प्रस्ताव दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० चैत्र २०७५
Sunrise bank
टोखा नुवाकोट सडक र तमोरमा लगानी जुटाउने प्रस्ताव दर्ता
LBEF

काठमाडौं,चैत १९ । चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशय सहित प्रस्ताव दर्ता गरेको छ । 

लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसी कम्पनीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोट छहरे जोड्ने सडक तथा सुरुङ मार्ग र जलाशययुक्त ७५६ मेगावाटको तमोर हाईड्रोपावर आयोजनामा लगानी ल्याउने आशय सहित प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गरेको हो । 

उक्त कम्पनीले पेश गरेको प्रस्तावमा खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनामा लगानी ल्याउने आशय व्यक्त गरेको छ । सम्भाव्यता अध्ययन भईसकेका यी पाँच आयोजनाहरुको लागत करिब ९० अर्ब लाग्ने अनुमान गरिएको छ । यी पाँच वटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

खानेपानीका यी आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन कम्पनी आफैंले तयार गर्ने, चीन सरकारसँग समन्वय गरी चाईना एक्जिम बैंक मार्फत नेपाल सरकारलाई सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने र निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गराईएको सिएमइसीको नेपाल प्रतिनिधि विश्वास खतिवडाले जानकारी दिए । कम्पनीले सबै आयोजनाहरुमा लगानी छिटो जुटाउन ईन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एण्ड फाइनान्स ९ईपिसिएफ० मोडालिटीमा आयोजना अघि बढाउने प्रस्ताव गरेको खतिवडाले बताए ।    

उहाँले भन्नुभयो, ‘खानेपानी जस्तो कुरा जनताको मौलिक हक अधिकारसँग जोडिएको हुँदा यो जस्तो महत्वपूर्ण आयोजना अरु केही हुन सक्दैन । सरकारले यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गरी अघि बढाउनुपर्छ भनेर हामीले आग्रह गरेका छौं । सोही अनुसार नै खानेपानी आयोजना अगाडि बढाउने र लगानी जुटाएर निर्माणको काम गर्ने कम्पनीले प्रस्ताव गरेको छ ।’ 


यसैगरी सिएमइसीले सामाखुसी टोखा नुवाकोटको छहरे सडक तथा सुरुङ मार्ग निर्माणमा समेत चासो देखाई प्रस्ताव पेश गरेको छ । नेपाल र चीन जोड्नका लागि यो सडक अति महत्वपूर्ण रहेको खतिवडाले बताउनुभयो । 

काठमाडौंबाट छोटो दूरीमा चीनको केरुङ पुग्न सजिलो हुने भएकाले यस सडक आयोजनालाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ । कम्पनीले सहुलियतपूर्ण ऋण सहयोगमा यो सडक आयोजना अघि बढाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा गत आईतबार दर्ता गराएको हो । यो आयोजनाको लागत करिब २७ अर्ब रहेको अनुमान गरिएको छ ।  

त्यस्तै सिएमइसी कम्पनीले ७५६ मेगावाटको जलाशययुक्त तमोर हाईड्रोपावर आयोजनामा समेत लगानी जुटाई आयोजना अघि बढाउने प्रस्ताव पेश गरेको छ । तीन वर्ष अघि नै यस आयोजनामा लगानी जुटाउने प्रस्ताव कम्पनीले गरेको खतिवडाले जानकारी दिनुभयो । तमोर हाईड्रोको अनुमानित लागत करिब डेढ खर्ब रहने अनुमान छ । 

प्रतिक्रिया दिनुहोस