
काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगितामा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सदभाव आचार्य दुई स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। अन्तिम १८ होलको खेल बाकी छँदा सदभावले एकल अग्रता बनाएका हुन्।
सदभावले तेस्रो दिन पनि ७–अन्डर ६५ को उत्कृष्ट स्कोर निकाले। समग्रमा १६–अन्डर २०० को सानदार स्कोरमा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङलाई दुई स्ट्रोकले पछि पारे। दोस्रो दिनका संयुक्त लिडर सुबाश ५–अन्डर ६७ खेल्दै समग्रमा १४–अन्डर २ सय २ को स्कोरमा दोस्रो स्थानमा तल झरे। प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै दुई एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेल बाकी छँदा दाबेदारी प्रस्तुत गरेका छन्।
२–अन्डर ७० को कार्ड बनाएका धरानका नीरज तामाङ समग्रमा ८–अन्डर २ सय ८ सहित तेस्रो स्थानमा छन्। डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक प्रो शुक्र बहादुर राईले तेस्रो दिन १–अन्डर ७१ को स्कोर गरे। समग्रमा ७–अन्डर २ सय ९ सहित उनी चौथो स्थानमा रहेका छन्। शुक्र लिडर सदभाव भन्दा नौ स्ट्रोकले पछि परिसकेका छन्।
समग्रमा ५–अन्डर २ सय ११ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटीले संयुक्तरुपमा पाँचौ स्थान बाँडे। आज दिनेशले ४–अन्डर ६८ र भुवनले १–अन्डर ७१ मा खेल सकाए। इभन–पार ७२ को स्कोरमा समग्रमा ३–अन्डर २ सय १३ सहित जयराम श्रेष्ठ सातौं स्थानमा रहे। पुर्ण प्रसाद शर्मा र शिवराम पौडेलले समग्रमा २–अन्डर २ सय १४ सहित संयुक्तरुपमा आठौं स्थान बाँडे। पुर्णले ६–अन्डर ६६ र शिवरामले १–ओभर ७३ मा तेस्रो दिनको खेल सकाए। ३–ओभर ७५ को स्कोर निकालेका तोरण बिक्रम शाही समग्रमा १–अन्डर २ सय १५ सहित १०औं स्थानमा छन्।
एमरच्योरतर्फ भने वाङचेन ढोन्डुप तेस्रो स्थानमा रहेका छन्। आज दुई ओभर ७४ खेलेका उनले समग्रमा ३–ओभर २ सय १९ स्कोर बनाए। युवा गल्फर सदभावले लगातार दोस्रो दिन ७–अन्डर ६५ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। सदभावले पहिलो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र छैटौं होलमा बोगी खेपे। यसपछि ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गर्दै ११औं, १२औं, १४औं, १५औं र १६औं होलमा पाँच बर्डी प्रहार गरे। उनले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए।
सुबाशले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाउने क्रममा पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा एक÷एक सट बचाए। छैटौं होलमा बोगी प्रहार गरे। ब्याक नाइन भने १–अन्डर ३५ मा पुरा गरे। १२औं, १६औ र १८औं होलमा बर्डी प्रहार गरेपनि १०औं र १४औं होलमा एक/एक सट खेर फाले।
नीरजले फ्रन्ट नाइनमा आज पनि उत्कृष्ट प्रदर्शन गरे। पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए। ब्याक नाइनमा उनले लय गुमाए। ११औं र १२ औं होलमा एक-एक सट बचाए। तर १४औं र १६औं होलमा बोगी खेप्दा १५औं होलमा ट्रीपल बोगी प्रहार गरे।
शुक्रले फ्रन्ट नाइन १–अन्डर ३५ र ब्याक नाइन इभन–पार ३६ मा सकाए। उनले पहिलो, चौथों, नवौं, १५औं र १७औं होलमा एक(एक सट बचाए। सातौ, आठौं, ११औं र १३औं होलमा बोगी खेपे। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको अन्तिम १८ होलको खेल भोलि हुनेछ।
प्रतिक्रिया दिनुहोस