काठमाडौं । सिटि होटल लिमिटेडको आईपीओ बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मासूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । आइतवारदेखि होटलको यो शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
होटलले सर्वसाधारण, वैदेशिक रोजगारीमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषको लागि निष्कासन गरेको कुल १६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ५० लाख ६६ हजार कित्ता गरेर कुल १ करोड ६७ लाख ४० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ८७ दशमलव ८३ देखि २६३ दशमलव ४९ ओपन रेञ्ज तोकेको छ । यही रेञ्जको आधारमा कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल सीआईटीवाई रहेको छ । त्यस्तै कम्पनीले शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा ग्लोबल आइएमई क्यापिटल नक्सालबाट हुने जानकारी दिएको छ ।