शीर्षकहरू

बजेटमा गाँजा देख्दा को हाँसे, को रिसाए

बजेटमा गाँजा देख्दा को हाँसे, को रिसाए

काठमाडौं । मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता खड्ग प्रसाद ओलीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्नेबारे बजेटमा राखिएको प्रावधानको कडा शब्दमा विरोध गरे । सो क्रममा उनले निकै तल्लो स्तरको टिप्पणी गर्दै अर्थमन्त्रीलाई प्रश्न समेत सोधेका थिए- 'के भातको सट्टा गाँजा खान मिल्छ ? कसले दिन्छ तपाइलाई यस्तो बुद्धि ?'

डा. प्रकाश शरण महतले जेठ १५ गते बजेट वाचन गर्दै गर्दा समेत गाँजाको प्रसङ्ग आउनासाथ स्वयम् अर्थमन्त्री लगायत सबै हाँसेका थिए । तर, निकै लामो समयदेखि चर्चामा रहेको र अहिले बजेटले समेत समेटेको यो विषयमा आर्थिक, सामाजिक र सांस्कृतिक सबै ढङ्गले सुस्म र गहन विमर्श हुनुपर्नेमा त्यसो हुन भने सकिरहेको छैन ।   

बजेटमा गाँजाको औषधिजन्य प्रयोगका लागि खेती गर्न सम्भाव्यता अध्ययन गरिने कुरा उल्लेख छ । जसबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल भने निकै उत्साहित बनेका छन् । उनी बजेटमा जडीबुटीजन्य कुराहरूलाई अध्ययन अनुसन्धान गरेर प्रवर्द्धन गर्ने भन्ने कुरामा गाँजा समेत समेटिएर आउनुलाई सकारात्मक नीतिका रुपमा आएको विचार राख्छन् ।

उनी भन्छन्, 'मुलुकको हितका लागि यसलाई छिटो भन्दा छिटो प्रवर्द्धन गरेर नियमन गर्न कार्य संस्था तोकियोस् र कार्यान्वयन होस् । जसले गर्दा नेपालमा चुलिएको व्यापार घाटा कम गर्न पनि सहयोग गर्छ ।'

विगतका विभिन्न ऐन कानुनहरू आएका कारण यसलाई प्रतिबन्धित गरिएको सन्दर्भ स्मरण गर्दै उनले अगाडी थप्छन् , 'नार्कोटिक ऐन आएपछि यसलाई प्रतिबन्ध गरियो । अहिलेको ऐनमा पनि यो पारित भएको छ । विश्वका थुप्रै देशहरूमा व्यावसायिक खेतीका लागि गाँजालाई खुला गरिएको छ ।'

मल्लका अनुसार यसको प्रयोग क्यान्सरको उपचारमा पनि हुन्छ । जरा र बोक्रा लत्ता कपडा बनाउन मिल्ने भएकाले पनि यसलाई औद्योगिक रुपमा खुला गर्नुपर्छ । ऐन कानुन बनाएर कार्यान्वयन गरियो भने राष्ट्रका लागि हित हुन्छ । यसको बजार युरोप र अमेरिकामा छ ।

ऐन नियम बनाएर व्यावसायिक रुपमा खेती गर्दा प्रशस्त मात्रामा निर्यात गर्न सकिने उनी बताउँछन् । गाँजाको निर्यातबाट अरबौँ अरबको राजस्व सङ्कलन गर्न उनको ठहर छ । यसले व्यापार घाटालाई कम गरेर अर्थतन्त्रलाई दरिलो पार्ने र स्थायित्व दिने काम गर्न सक्ने उनी बताउँछन् ।

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय पनि बजेटले गाँजा चिनेकोमा खुसी व्यक्त गर्छन् । तर, बजेटले चिनेर मात्रै नपुग्ने उनको धारणा छ । उनी भन्छन्, 'ऐन नियमावली बनाउन आवश्यक छ । सम्भाव्यता अध्ययनले मात्र पुग्दैन। बजेटमा यती कुरा आउनु पनि सकारात्मक पक्ष हो । वैधानिक रुपमा यसको बाटो खोल्न आवश्यक छ  ।'

नेपालमा किन प्रतिबन्ध गरियो गाँजा खेती

नेपालमा परापूर्व कालदेखि नै गाँजा औषधिका रुपमा प्रयोग हुँदै आएको थियो । पूर्वीय आध्यात्मिक ज्ञानको खोजीमा नेपालमा आएका पश्चिमी पर्यटकका लागि पनि गाँजा एउटा प्रमुख आकर्षण बनेको थियो ।

सन् १९६० को दशकमा नेपाल आएका विदेशीहरूले नेपालमा गाँजा खेतीको सम्भाव्यता र अन्य देशहरूमा पनि निर्यात गर्न सकिने उल्लेख गरेका थिए । जसका कारण गाँजाको मूल्य आकासिएको थियो । मूल्य आकासिएपछि तत्कालीन सरकारले पनि यसको व्यापारलाई अनुमति पत्र लिनु पर्ने र कर असुल्ने व्यवस्था गरेको थियो ।

विगतमा नार्कोटिक ऐन आएपछि यसलाई प्रतिबन्ध गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् । उनका अनुसार हिप्पी युगका कारण अमेरिका, संयुक्त राष्ट्रसङ्घ र स्थानीय बासिन्दाको दबाबका कारण बि. स. २०३३ सालमा नेपालमा गाँजा खेतीलाई प्रतिबन्ध लगाएको थियो ।

त्यस बेला तत्कालीन सरकारले लागु औषध नियन्त्रण ऐन मार्फत गाँजासहित भाङ, गाँजाका बोट, पात, फल र फुल अनि त्यसको चोप, खोटो आदिलाई लागु औषधका रुपमा परिभाषित गर्दै प्रतिबन्ध लगाएको थियो । संयुक्त राष्ट्र सङ्घको लागु औषधको उत्पादन र आपूर्तिसम्बन्धी अभिसन्धि ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग १९६१’ लाई नेपालले सन् २००३ मा हस्ताक्षर गरेपछि नेपाल पनि पक्ष राष्ट्र बन्यो ।

गाँजा खेतीका फाइदा

गाँजालाई औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । यसलाई नियन्त्रित तवरले सेवन गर्दा मानव शरीरमा विभिन्न फाइदा हुने अध्ययनले पनि देखाएको छ । गाँजाको सिमित प्रयोगले दीर्घकालीन मांसपेशीको दुखाइ कम गर्न सहयोग गर्छ ।

यसका साथै यसलाई अचारको रुपमा प्रयोग गर्दा पाचन प्रक्रियाको समस्या कम गर्न पनि सहयोग गर्छ । त्यसैगरी, अल्जाइमर, एनोरेजिया, छारे रोग, सिजोफ्रेनिया, क्यान्सरका ट्युमर कोशिकालाई मार्न गाँजाको सीमित प्रयोग गर्न सकिने अध्ययनले पुष्टि गरेको छ ।

कुन कुन देशमा गाँजा खेतीलाई वैध मानिन्छ

हाल अमेरिका, युरोप लगायतका विभिन्न पश्चिमा देशहरूले गाँजा खेतीलाई वैधानिकता दिएका छन् । अमेरिकी राज्य क्यालिफोर्नियाले सन् १९९५ मा गाँजालाई औषधिमूलक प्रयोजनका लागि वैधानिकता प्रदान गरेको थियो ।

त्यसैगरी सन् २०१३ मा उरुग्वेले पनि गाँजा खेतीको प्रतिबन्धलाई फुकुवा गरेको छ । गाँजालाई पूर्ण रुपमा खुला गर्नेमा उरुग्वे पहिलो देश पर्छ । उरुग्वेले औषधि, वैज्ञानिक अनुसन्धान, खाद्य र व्यावसायिक प्रयोजनका लागि गाँजालाई पूर्ण रुपमा खुल्ला गरेको थियो ।

त्यस्तै, सन् २०१८ मा क्यानडाले पनि मनोरञ्जनात्मक, औषधि र शोधका लागि गाँजालाई खुला गर्‍यो । गाँजाप्रति नरम अन्य मुलुकहरूमा कोलम्बिया, पेरु, चिली, ब्राजिल, नेदरल्याण्ड, जर्मनी, चेक रिपब्लिक, इजरायल, थाइल्यान्ड, मेक्सिको लगायतका रहेका छन् ।

२ डिसेम्बर २०२० मा संयुक्त राष्ट्र सङ्घको औषधि नीति बनाउने निकाय नार्कोटिक ड्रग्सले चिकित्सा मूल्यलाई मान्यता दिने अन्तर्राष्ट्रिय सूची अन्तर्गत गाँजा र भाङ रेजिनलाई पुनः वर्गीकृत गर्‍यो।

सीएनडीले विश्व स्वास्थ्य सङ्गठनको को औषधि निर्भरता सम्बन्धी ४१ औँ विशेषज्ञ समितिले गरेको सिफारिसहरूमा मतदान गर्‍यो, जसले हेरोइन, फेन्टानिल एनालगहरू र सार्वजनिक स्वास्थ्यको लागि असाधारण रूपमा हानिकारक मानिने अन्य ओपिओइडहरूसँगै गाँजा र यसको  चोपलाई हालको सूचीबाट पुनः वर्गीकरण गर्न सुझाव दियो। त्यसैले गाँजालाई अहिले अन्तर्राष्ट्रिय नियन्त्रणमा राखिएको छैन।

गाँजाको प्रयोग के के मा हुन्छ ?

गाँजा विशेषगरी पहाडी र तराई क्षेत्रमा पनि पाइन्छ । विभिन्न ठाउँमा पाइने गाँजाको प्रकृति र जाति विशेष अनुसार यसको प्रयोग गरिन्छ । यसको प्रयोग औषधि र कपडा बुन्नका लागि पनि प्रयोग हुन्छ । मानसिक रोगका औषधि, रुघाखोकी ज्वरो, कलेरा, कोलाइटिज लगायतका रोगहरूको औषधिमा पनि गाँजाको प्रयोग गरिने वैज्ञानिक अध्ययनले देखाएको छ ।