aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

राताम्य शिरीषले लोभ्यायो मन, टिकटक बनाउने भीडले बनाए भाइरल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ जेठ २०८०
himalayanlife
राताम्य शिरीषले लोभ्यायो मन, टिकटक बनाउने भीडले बनाए भाइरल
DHI
NIBL

काठमाडौं । झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडिओ’ बनाउनेको भीड उर्लिएको छ । झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा छ । चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको सौन्दर्य थपिएपछि मेची राजमार्ग हुँदै पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङ जाने अधिकांश यात्री एकछिन रोकिएर रमाउने र फोटो खिचाउने गर्छन् । 

शिरीष फूलको सौन्दर्यले मोहित हुँदै खिचिएका फोटो र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिरालो जमिन भएकाले भूक्षय हुन नदिन शिरीषका विरुवा हुर्काइएको थियो । पुराना ती रुखहरू वर्षमा एकचोटि फूलेर राताम्य हुँदा पर्यटकीय आकर्षणको केन्द्र बन्ने गरेको हो ।

शिरीष फूल्न थालेपछि हरेक दिन पाँच सय मानिस सो स्थानमा घुमफिरका लागि आउने गरेका छन् । पर्यटकको ओइरो लागेपछि चिया, खाजा र पानी बेच्ने साना व्यवसाय फस्टाएका छन् । ‘शिरीष फूलेपछि मानिसको ओइरो लाग्यो, त्यसपछि मैले पनि यहाँ पानी, कुरमुरे जस्ता सामान बेच्न थालेको छु’, बुद्धशान्ति–४ का अर्जुन घिमिरे भन्छन्, ‘पहिला बुधबारे बजारमा दोकान चलाउँथे । अहिले यही भाइरल शिरीषको फेदमा बसेर व्यापार चलाइरहेको छु ।’ अरुभन्दा शनिबार भीड उर्लिने गरेको उनले बताए ।

एक साताअघि अस्ट्रेलियाको ब्रिसबेनबाट स्वदेश फर्किएकी इटहरी–४ की अनुष्का कटुवाललाई इलामको पर्यटकीय स्थल श्रीअन्तु जाँदै गर्दा बर्नेको भाइरल शिरीषको फूलले लोभ्यायो । परिवारका १२ जना सदस्यसहित आएकी उनले रिजर्ब गाडीलाई राजमार्ग छेउमा पार्किङ गराएर एक घण्टा फोटो र भिडिओ खिचाउनमा बिताइन् ।

‘चिया बगानको हरियाली हेर्दै इलामतिर जाँदै थियौँ, रुखभरि रातो रङ पोतेजस्तो गरी फूलेको शिरीषका रुखहरू बाटामा लहरै उभिएका देखेपछि मनै थामिएन’, उनले भनिन्, ‘वरिपरि चिया बगानको हरियाली, माझमा चिल्लो राजमार्ग र लहरै फूलको शिरीषहरू। साह्रै राम्रो ठाउँ रहेछ ।’

उनले राताम्य फूललाई पृष्ठभूमिमा राखेर १२ वटा टिकटक र मनलाग्दी सेल्फी खिचेको सुनाइन् । अस्ट्रेलियातिर सार्वजनिक पार्कहरूमा शिरीषको रङ्गीबिरङ्गी फूलले पर्यटकलाई लठ्याउने गरेको देखेको बताउँदै उनले यति धेरै मानिसको भीड लागे तापनि यहाँ पार्किङ, शौचालय र गफिने चौतारोहरूको अभाव रहेको गुनासो गरिन् । 

भोजपुरको अरुण–४ घर बताउने ३० वर्षीय अर्पण राईले पाँचथरको फालेलुङ जाँदै गर्दा भाइरल शिरीषको फूलमा केही भिडिओ बनाउन पाउँदा आनन्द लागेको बताए । फूलको फेदमा गिटार रेटेर गीत गाउँदै गरेको सात वटा भिडिओ खिचेको उनले बताए । 

‘फूल त एउटा सिजनमा मात्र फुल्छ, तर यहाँ चिया बगानको सदाबहार हरियाली रहेकाले दीगो पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ’, उनले भने । गर्मीको मौसममा शिरीषको बोटमुनि शीतल छाया पाइने र त्यसमाथि फूलको सौन्दर्यले मानिसको ओइरो लाग्नु स्वाभाविक भएको उनको भनाइ छ । 

के पाका, के युवा तथा बालबालिका, सबै उमेरका पाहुना त्यहाँ पुग्ने गरेका छन्। इटहरीका ६३ वर्षीय बलराम कटुवाल छोरीछोरीहरूको आग्रहमा भाइरल शिरीषको बोटमुनि टिकटकका लागि छमछमी नाचिरहेको भेटियो । ‘छोरीहरूले कर गरेपछि नजानी नजानी पनि नाचेको हुँ, तर यो ठाउँ चाहिँ साह्रै मज्जाको रहेछ’, इलाममा घुम्न जाने क्रममा बाटैमा फूलको रौनक देखेर टिकटक बनाउनतिर लागेको उनले बताए ।

भाइरल शिरीषको चर्चा सामाजिक सञ्जालमार्फत फैलिएपछि टिकटक बनाउनकै लागि भनेर साथीहरूसँग घुम्न आएको भद्रपुर–३ की रेबिका थापाले बताइन् । चन्द्रगढीको वीरेन्द्र नमूना क्याम्पसको शिक्षा सङ्कायको स्नातक  प्रथम वर्षमा अध्ययनरत उनले धेरैजसो साथीहरू शिरीषको फूलसँग फोटो र भिडिओ खिचाउन यसअघि नै आइसकेको बताइन् । 

झापामा पर्यटकीय आकर्षणका स्थलहरू प्रशस्त रहेको र फूलको सौन्दर्यले मानिसको मनलाई उल्लासित बनाउने भएकाले फूलेका शिरीषका रुखहरू भाइरल भएको फोटो पत्रकार देवेन्द्र खरेल बताउँछन् । ‘यो ठाउँ राजमार्गबाट नजिक र हरियाली चियाका बोटहरूले घेरिएको कारण धेरै मानिसहरूको रोजाइ बनेको हो’, उनी भन्छन्, ‘फूल फूलेरै सुन्दर बनेका यस्तै दर्जनौँ स्थलहरू हाम्रै वरपर छन् ।’ सामाजिक सञ्जालमा प्रकाशित तस्बिर र दृश्यका कारण टाढादेखि आन्तरिक पर्यटकहरू शिरीषको फूलको सौन्दर्यप्रति मोहित बनेको उनको ठम्याइ छ । 

ठाउँ सुन्दर र फूल झन् सुन्दर भएरै त्यहाँ शिरीषको फूल हेर्न पर्यटकहरूको ओहोरदोहोर बढिरहेको छ । छोटो अवधिमै नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित बनिरहेको त्यस ठाउँमा राजमार्गतिर उभिएर आफ्नै धुनमा फोटो र भिडिओ खिच्ने प्रवृत्ति बढ्दा सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । अर्कातिर, पर्यटकको सुविधा र सहजताका लागि शौचालय, खाजाघर र सुरक्षाको पर्याप्त प्रबन्ध हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस