
काठमाडौं । कोशी प्रदेशमा नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा रहेको सरकार ढल्ने निश्चित बनेको छ । ९३ सदस्यीय प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का सांसदहरुको भरथेगमा रहेको सरकार माओवादीले समर्थन फिर्ता लिने तयारी गरेपछि ढल्ने निश्चित भएको हो ।
माओवादी केन्द्रको संघीय कमिटीले प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए पनि सोमबार बसेको प्रदेश संसदीय दलले त्यस्तो निर्णय गर्न सकेन ।
प्रदेशसभा सचिवालयमा बसेको बैठकमा सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्ने तयारी थियो । माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेतीले बैठकपछि दिएको जानकारीअनुसार बैठकले मंगलबार प्रदेशका नेताहरूसँग आवश्यक छलफल गरेर मात्रै निर्णय गर्ने भएको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आफ्नै नेतृत्वमा कोशी प्रदेश सरकार गठनको पहल गर्ने निर्णय भएको बताए । उनले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा भने निर्णयमा पुगिनसकेको जानकारी दिए ।
कोशी प्रदेशसभामा निर्णायक मत रहेको राप्रपा मुख्यमन्त्री पाउनुपर्ने अडानमा छ । अहिले नै अर्को स्थिर सरकार बन्न सक्ने आधार नभएको बेला नयाँ गठबन्धनमा जानु उचित नहुने ठहर राप्रपाले गरेको छ ।
यसअघि जसपा सरकारबाट फिर्ता भइसकेको छ। एमाले, माओवादी, राप्रपा र जसपाका गरि ५९ सांसदको समर्थनमा नेकपा एमालेका हिक्मत कार्की गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
माओवादीका १२ र जसपाका १ सांसदले समर्थन फिर्ता लिए कार्की नेतृत्वको सरकार स्पष्ट अल्पमतमा पर्नेछ । माओवादीको आज बस्ने बैठकले स्पष्ट निर्णय गर्ने प्रदेशसभाका एक माओवादी सांसदले बताए ।
प्रतिक्रिया दिनुहोस