
काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म मागभन्दा २० गुणा बढी आवेदन परेको छ । कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ४३ हजार ६६७ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार अन्तिम दिनसम्म ११ लाख ६५ हजार ५२६ जना आवेदकहरूबाट १ करोड २७ लाख ६१ हजार ४८० कित्ता आईपीओ खरीद माग भएको हो । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा र ८७ हजार ६७० कित्ता शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिसकेको हो । आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको २ लाख ८० हजार कित्ता शेयरमध्ये वितरण हुन नसकेको १ लाख ९२ हजार ३३० कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा विक्री गरिएको हो ।
सर्वसाधारणमा वितरण हुने कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयरमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट ६४ हजार ३६६ जना भाग्यमानी योग्य आवेदकहरूले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । यसरी बाँडफाँट गरी बाँकी रहेको ७ कित्ता शेयर यी मध्यपनि थप भाग्यमानी ७ जना आवेदकले थप एक कित्ताका दरले हात पार्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले खोटाङ्ग जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७७ साल असोज १४ गतेदेखि व्यापारिक विद्युत उत्पादन गर्दै आएको हो । उक्त आयोजनाको कुल लागत रू. ६४ करोड ६५ लाख रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड ५५ लाख छ । यस आयोजनाको विद्युत उत्पादन अनुमति वहाल रहने अवधि २९ वर्ष ११ महिना बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस