aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सरकारले रकम नदिएपछि विद्यार्थीलाई उधारोमा खाजा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, २० जेठ २०८०
himalayanlife
सरकारले रकम नदिएपछि विद्यार्थीलाई उधारोमा खाजा
DHI
NIBL

काठमाडौं । सरकारले कबुलेको रकम नदिँदा सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत चार लाख ३४ हजार विद्यार्थी एक वर्षदेखि उधारोमा खाजा खाइरहेका छन् । 

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट भाषणका क्रममा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास तहदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरेको थियो । त्यसअघि कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै यस्तो खाजा दिने गरिएको थियो । 

बजेट सार्वजनिक गर्दा कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरे पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई कक्षा ५ सम्मका विद्यार्थीलाई खाजा खान पुग्ने रकम मात्र दिइएको थियो । तत्कालै शिक्षा मन्त्रालयले कक्षा ६ का विद्यार्थीलाई पनि दिवा खाजा दिने हो भने थप रकम चाहिने भनी अर्थ मन्त्रालयलाई जानकारी गराएको थियो । उक्त जानकारीपछि अर्थ मन्त्रालयले हाललाई सोही रकमबाट कक्षा ६ सम्मका विद्यार्थीलाई खाजा खुवाउन अनुरोध गर्दै थप रकमपछि दिने आश्वासन दिएको थियो । 

अर्थ मन्त्रालयको आश्वासनका आधारमा शिक्षा मन्त्रालयले बजेटमा उल्लेख गरिए अनुसार नै कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउन अनुरोध गर्दै सबै स्थानीय तहलाई अनुरोध गरेको थियो । सोहीअनुसार विद्यालयहरूले कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिएको रकमले कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाइरहेका छन् । स्थानीय तहले रकम दिने भएका कारण विद्यालयहरूलाई यसबारेमा जानकारी समेत छैन । तर आर्थिक वर्ष सकिन डेढ महिनाभन्दा कम समय बाँकी रहँदा पनि अर्थ मन्त्रालयले बजेटमार्फत नै कबुलेको रकम नदिएपछि अब भने समस्या आउन सक्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रकम निकासा गरिदिन अर्थ मन्त्रालयलाई घच्घच्याइरहेको छ । 

मन्त्रालयको नीति तथा योजना शाखाका उपसचिव घनश्याम अर्यालका अनुसार कक्षा ६ का विद्यार्थीका लागि चाहिने थप एक अर्ब रुपियाँ निकासा गरिदिन अर्थ मन्त्रालयलाई गत पुस १९ गते नै लिखित अनुरोध गरिएको छ । उनले भने, “बजेटमा नै उल्लेख गरिएको विषय कार्यान्वयन त होला । तर आर्थिक वर्ष नै सकिन लाग्दा पनि रकम नआएकाले समस्या भएको छ ।”

प्रतिक्रिया दिनुहोस