शीर्षकहरू

मनोरञ्जनका लागि आउँछन् सबैभन्दा धेरै पर्यटक, लम्बिएन बसाइ, पाएनन् खर्च गर्ने नयाँ ठाउँ

मनोरञ्जनका लागि आउँछन् सबैभन्दा धेरै पर्यटक, लम्बिएन बसाइ, पाएनन् खर्च गर्ने नयाँ ठाउँ

काठमाडौं । पछिल्लो पाँच महिनामा चार लाख जनाभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ को सुरुवाती पाँच महिना अर्थात् जनवरी, फेब्रुअरी, मार्च, अप्रिल र मे महिनामै चार लाख चार हजार जना पर्यटक नेपाल भित्रिएका हुन् ।

यस वर्षको जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए भने फेब्रुअरी महिनामा ७३ हजार २५५ जना आएका हुन् । त्यस्तै, मार्चमा ९९ हजार ४२६ जना, अप्रिल महिनामा ९८ हजार ७७३ जना र मे महिनामा ७७ हजार ७३० जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।    

दश वर्षमा आए ५६ लाख पर्यटक 

दश वर्षको अवधिमा नेपाल भ्रमण गर्न ५६ लाख भन्दा धेरै विदेशी पर्यटक आएका छन् । आर्थिक वर्ष २०६९/७० देखि आ.व २०७९/८० को अवधिमा ५६ लाख ३६ हजार १३९ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।      

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार पछिल्लो दश वर्षको अवधिमा आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् । त्यो आवमा सात लाख ६ हजार एक सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । उनीहरूबाट सरकारले ७३ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ सबैभन्दा कम अर्थात् २ लाख ४४ हजार २१४ जना पर्यटक आएका थिए । जसबाट यो आर्थिक वर्षमा १५ करोड सात रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यस दश वर्षको अवधिमा विदेशी पर्यटकको आगमनबाट सरकारले ४ अर्ब ८८ करोड एक लाख रुपैयाँ राजस्व उठाएको थियो ।

सबैभन्दा बढी भारतबाट

आर्थिक वर्ष २०६९/७० देखि आ.व २०७९/८० को अवधिमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । यस अवधिमा भारतबाट १४ लाख ३३ हजार ३४६ जना पर्यटक नेपाल आएका हुन् ।

छिमेकी मुलुक चीनबाट पनि दश वर्षको अवधिमा उल्लेख्य मात्रामा पर्यटकहरू नेपाल आएका छन् । यस अवधिमा चीनबाट ८ लाख ७० हजार ८६१ जना पर्यटक नेपाल आएका हुन् ।

यसबाहेक अमेरिकाबाट ५ लाख ७५ हजार ४६३ जना पर्यटक नेपाल आएका छन् भने अस्ट्रेलियाबाट चार लाख १८ हजार ४७ जना आएका छन् । त्यस्तै, बेलायतबाट तीन लाख ७९ हजार ६५६, श्रीलङ्काबाट तीन लाख ६१ हजार ४३७ जना र बङ्गलादेशबाट एक लाख ९९ हजार १४० पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्कले देखाएको छ ।  

मनोरञ्जनका लागि आउँछन् सबैभन्दा धेरै

नेपालमा सबैभन्दा धेरै पर्यटक मनोरञ्जनका लागि आउने गरेको पाइएको छ । आर्थिक वर्ष २०६९/७० देखि आ.व २०७९/८० को अवधिमा आएको पर्यटकहरूमध्ये ६४ प्रतिशत पर्यटक मनोरञ्जनका लागि नेपाल आएका थिए ।

मनोरञ्जन बाहेक तीर्थयात्राका लागि १२ प्रतिशत पर्यटक आएको देखिन्छ भने १० प्रतिशत पदयात्रा र पर्वतारोहणका लागि आएका छन् । बाँकी अन्य सभा, सेमिनार, र्याफ्ङिमा सहभागी हुने आउने गरेको आर्थिक सर्वेक्षणको तथ्याङ्कमा उल्लेख छ ।  

औषत बसाइ १२ दिन, दैनिक खर्च सय डलरसम्म    

नेपाल आउने पर्यटकहरूले बसाइँका लागि प्राय तारे होटल रोज्ने गर्छन् । दश वर्षको तथ्याङ्क हेर्दा नेपालमा तारे स्तरका होटलहरु एक हजार चार सय ४७ वटा रहेका छन् । जसको क्षमता एक लाख २९ हजार जनासम्म अट्ने रहेको छ ।    

विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आगमनको यो सुधारले पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गरेको पर्यटन व्यवसायीहरू बताउँछन् । पर्यटक आगमन गर्नेहरूको सङ्ख्या बढ्दो रहेका छ । जति पर्यटक आए पनि राख्न सक्ने क्षमता भएका होटलहरु प्रशस्त रहेको होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले बताए ।  

उनले आर्थिक न्युजसँग भने, ‘पछिल्लो समय पर्यटक स्तरका होटेलको सङ्ख्या बढिरहेका छन् । होटेलमा लगानी बढ्दो छ । होटेलका सङ्ख्या थपिइरहेका छन् ।  जति पर्यटक आए पनि राख्ने क्षमता नेपालका होटलहरुको छ ।’

नेपाल भ्रमणमा आएका पर्यटकहरूको सरदर बसाई १२ देखि १५ दिनसम्म रहने गरेको छ । आर्थिक सर्वेक्षण हेर्दा नेपाल आउने पर्यटकको सरदर बसाई कम्तीमा १२ दिनदेखि बढीमा १५ दिनसम्म देखिन्छ ।      

पर्यटकको बसाई लम्ब्याउन सकिने थुप्रै सम्भावना रहेको होटल एसोसिएसन अफ नेपालका महासचिव साजन शाक्य बताउँछन् । उनी भन्छन्, ‘नयाँ गन्तव्य बन्न सकेका छैनन् । पुरानो गन्तव्य मात्रै छन् । नयाँ नयाँ गन्तव्यहरू थप्ने हो भने पर्यटक १२ दिन मात्रै होइन एक दुई महिनासम्म नै बस्न सक्छन् ।’

उनका अनुसार विदेशी पर्यटकहरूले दैनिक सरदरमा ६० डलरदेखि एक सय डलरसम्म खर्च गर्छन् । हवाई मार्गको कनेक्टिभिटी बढाउने, नयाँ गन्तव्य बढाउने, पर्याप्त पूर्वाधार थप्ने हो भने पर्यटक आउने बस्ने र खर्च गर्ने कुरा सबै बढ्ने उनको भनाई छ ।    

सरकारले पर्यटकको सङ्ख्या गन्ने मात्रै भन्दा पनि पर्याप्त पूर्वाधारहरू बनाउन ध्यान दिनु पर्ने अध्यक्ष शाहको तर्क छ । उनी भन्छन्, ‘सरकारले पर्यटक यति आए भनेर सङ्ख्या मात्रै गन्न हुँदैन । कतिपय ठाउँका संरचनाहरू राम्रो छैन । सरकारले बनाएको अन्तराष्ट्रियस्तरका विमानस्थल सञ्चालन गर्न सकेको छैन । पर्याप्त पूर्वाधार समेत निर्माण भएका छैनन् । पर्यटक आइराखेका छन् भनेर मख्ख पर्नु भन्दा पनि संरचना बनाउन ध्यान दिनु पर्छ ।’  

थपियो बजेट, पर्यटन दशक घोषणा

आर्थिक वर्ष २०८०/८१ को बजेटमा पर्यटनलाई उच्च प्राथमिकता दिइएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि करिब अढाई अर्ब रुपैयाँ बजेट थप गरेको छ । आगामी आर्थिक वर्षको लागि सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आवमा ९ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको थियो ।  

पर्यटन क्षेत्रका लागि छुट्याइएको बजेट पर्याप्त नरहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोला बताउँछन् । उनी भन्छन्, ‘पर्यटन जस्तो संवेदनशील क्षेत्रका लागि छुट्याइएको बजेट पर्याप्त छैन । आगामी आवको लागि ल्याइएको बजेट कर्मकाण्डी भयो । दुई अर्ब बढी बजेट छुट्टियो भनेर खुसी हुनु पर्ने कारण छैन ।’

उनका अनुसार सरकारले ल्याएको बजेट कार्यान्वयन नै हुन सक्दैन । सरकारको नेतृत्व तहमा पुगेकाहरूले भाषण अनुसार काम नगर्दा पर्यटन क्षेत्रमा सुधार हुन नसकेको हो । पर्यटकहरू अहिले राम्रै आएका छन् तर, पूर्वाधार लगायत राम्रा संरचना बनाइदिने हो भने नेपालमा पर्यटक आउने सङ्ख्या अझै बढ्ने उनको भनाई छ ।

सरकारले आगामी आर्थिक वर्षभित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । जसका लागि ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ भन्दै सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरिएको छ ।

सरकारले पर्यटक ल्याउँछु मात्र भन्ने अन्य पूर्वाधारमा ध्यान नदिने गरेको उनको भनाई छ ।  ‘यति पर्यटक भित्र्याउँछु भनेर मात्रै हुन्छ ? त्यसका लागि आवश्यक पूर्वाधार खोइ बनाएको ?’ अध्यक्ष बास्तोलाले अगाडी भने, ‘न पर्यटक हिँड्ने बाटो राम्रो छ । हिमाल चढ्न पर्यटक पुग्यो भने त्यहाँको फोहोर देखेर भाग्न खोज्छ । आरोहणमा सुरक्षाका कुराहरू त झन् छदै छैन ।’    

उनका अनुसार पर्यटकहरूलाई पैदल मार्गबाट लैजान बाटोको समस्या रहेको छ । हवाई मार्गबाट लैजान तोकिएको समयमा उडान हुँदैन । संधैजसो डिले भइदिन्छ । पछिल्लो समय सोलुखुम्बु जानु पर्ने पर्यटक रामेछाप पुग्नु पर्दा झन् समस्या थपिएको उनको भनाई छ ।

तर, होटल एसोसिएसन अफ नेपालका महासचिव शाक्य भने पर्यटक भित्र्याउने सरकारले लक्ष्य पुरा हुनेमा विश्वस्त छन् । अहिले पर्यटकको आगमनको सङ्ख्या हेर्दा सरकारले लिएको पर्यटक भित्र्याउने लक्ष्य पुरा हुने महासचिव शाक्यले बताए । उनले भने, ‘सरकारले आगामी आवमा १० लाख पर्यटक भित्र्याउने भनेको छ । अहिले पर्यटक आगमन बढ्दो छ । यो लक्ष्य पुरा गर्न कुनै गाह्रो छैन । सहजै यो लक्ष्य पुरा हुन्छ ।’

बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने योजना उल्लेख छ । पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने समेत सरकारको लक्ष्य छ । त्यस्तै, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने र पर्यटकीय सेवाको गुणस्तर सुधार गर्ने बजेटमा उल्लेख छ ।

सरकारले बजेट मार्फत समेटेको विभिन्न विषयहरूमा काम गरेर पर्यटक ल्याउने लक्ष्य पुरा गर्नेमा पर्यटन बोर्ड तत्पर रहेको बोर्डका प्रवक्ता मणिराज लामिछाने बताए ।  उनले भने, ‘सरकारले पर्यटन क्षेत्रका बजेट थपेर ल्याएको छ । यो सकारात्मक पक्ष हो । नयाँ गन्तव्यको खोजी गर्ने भनेको छ । यसका लागि बोर्डले यसअघिदेखि नै काम पनि गरिरहेको छ । लक्ष्य अनुसार पर्यटक भित्रिनेमा विश्वस्त छौँ ।’

आगामी आवको बजेटमा अन्तर प्रदेश हवाई सेवा विस्तार गरिनुका साथै हिमाली पदयात्रा हिमालयन ग्रेट ट्रेल निर्माण गरिने, पशुपति क्षेत्र विकासको बृहत् गुरुयोजना कार्यान्वयनमा ल्याउने र लुम्बिनी गुरुयोजनालाई परिष्कृत गरिने समेत उल्लेख छ ।

बजेटमा महत्त्वपूर्ण सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्ने, हिमाली गुम्बा संरक्षण कार्यक्रम सञ्चालन गर्ने, भूकम्पबाट क्षतिग्रस्त २५ वटा सांस्कृतिक सम्पदाको पुनः निर्माण सम्पन्न गर्ने रहेको छ । साथै कोसी प्रदेशको पाथीभरा, चतरा- वराहक्षेत्र, हलेसी, किराँतहरूको उद्गम स्थल तुवाचुङ, बागमती प्रदेशको भीमसेन र कालिन्चोक महादेव संरक्षण र प्रवर्द्धन गरिने बजेटमा उल्लेख छ ।  

‘अतिथि देवो भव:’ भन्ने नेपाली संस्कृति अनुरुप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिनेछ । साहसिक चलचित्र पर्यटनको प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ । पहाडी सहरलाई हिलस्टेशनका रुपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्न आगामी आवमा कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक–एक हिल स्टेसन विकास गरिने उल्लेख छ । काठमाडौं उपत्यका लगायत सम्भाव्य स्थानमा हाइकिङ तथा टाकुरा पर्यटन प्रवर्द्धन गरिने बजेटमा जनाइएको छ ।