
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । जुम्लाको तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपालीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरुले काम गरेकोभन्दा बढी कार्य गरेको भनी गैरकानूनी लाभ हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको हो । नाग्मा पार्क उद्यान निर्माणमा कम काम गरी प्राविधिकसँग मिलेर कार्य सम्पादन मूल्याङ्कन पुरा भएको देखाई उपभोक्ता समिति र प्राविधिकहरु मिलि बिल भरपाई बनाई अनुगमन गर्न लगाई सरकारी रकमको चरम दुरुपयोग गरेका अख्तियारको ठहर छ ।
यस कार्यमा नेपालीसहित इन्जिनियर जनक रोकाय, सव–इन्जिनियर प्रेम बहादुर बस्नेत पनि संलग्न रहेको अख्तियारको भनाई छ । ५ लाख ४५ हजार ४१९ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको पाइएको छ । उनीहरुसंग सोहि रकम बराबरको बिगो समेत माग गरिएको छ ।
नाग्मा पार्क तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द बहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधरा दमाईको समेत संलग्न रहेको पाइएको छ । कार्यसम्पन्न प्रतिवेदन, विल भरपाई, डोरहाजिरी लगायतका कागजात पेश गरेको तर शर्त एवं सम्झौता विपरीत सम्झौता बमोजिमको कार्य नगरी भए गरेको कार्यभन्दा बढी कार्य गर्न उनीहरुले पनि सहयोग गरेको आयोगको आरोप छ । उनीहरुसंग पनि पाँच करोड ४५ लाख ४१९ रुपैयाँ बिगो माग सहित आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस