काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरेको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा ७ लाख ५४ हजार ६६१ कित्ता शेयर कम्पनीले विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा ६ लाख ६ हजार ३५० कित्ता शेयर जेठ १२ गते बाँडफाँट गरेको कम्पनीले जानकारी दिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ४८ हजार ३११ कित्ता शेयर विक्री हुन नसकेको कम्पनीको भनाई छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा वितरण हुन नसकेको शेयर सर्वसाधारणमा थप गरेर विक्री गरिनेछ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीमा समेत आईपीओ विक्री खुला गरेको थियो । आयोजना प्रभावित स्थानीयमा जेठ १७ गतेसम्म आवेदन खुला गरिएको छ । आयोजना प्रभावित स्थानीयका लागि भने ३ लाख ९७ हजार १९० कित्ता साधारण शेयर निष्कासन गरेको हो ।
कम्पनीले प्रतिशेयर अंकित मूल्य रू. १०० मा प्रिमियम बापत रू. ३०० थप गरी प्रतिकित्ता रू. ४०० मा आयोजना प्रभावित स्थानीयमा र प्रतिशेयर अंकित मूल्य रू. १०० मा प्रिमियम वापत रू. ३३५ थप गरी प्रतिकित्ता रू. ४३५ मा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरेको हो ।
स्थानीयका लागि विक्रीमा आएको शेयर खरीदका लागि दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, दाङ जिल्ला, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
स्थानीयले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । घोराही सिमेन्ट इन्डस्ट्री २०६४ सालमा दर्ता भई २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गर्दै आएको छ । हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।
त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनी रू. ४ अर्ब ३ करोडभन्दा बढी सञ्चित नाफामा रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. २२६ दशमलव ६१ रहेको छ । दोस्रो बजारमा कम्पनीको आईपीओले प्रतिकित्ता रू. २२६ दशमलव ६१ देखि रू. ६७९ दशमलव ८३ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।