काठमाडौँ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक सुरु भएको कहिबेर मै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले अवरुद्ध गरे । बैठक सुरु भए लगत्तै एमालेका सांसदहरू आसनबाट उभिएर विरोध जनाएका थिए ।
उनीहरूले विरोध जनाउनुको कारण थियो, पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषय । उक्त विषय सत्तारुढ दलका सांसद लेखनाथ दाहालले संसद्मा उठाएका थिए ।
उनले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला अनेकौँ भ्रष्ट्राचार काण्ड भएको उल्लेख गर्दै पशुपतिनाथमा समेत पित्तलको जलहरि लगाइएको आरोप लाएका थिए । उनले भनेका थिए, ‘पशुपतिमा सुनको जलहरि लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भंष्टाचारहरुका सयौँ यस्ता काण्ड छन् ।’
पशुपतिनाथको जलहरी सुन हो कि पित्तल हो भनी छानबिन गरी सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने एमालेका सांसदहरूले अडान राखेका थिए । बैठकको सुरुमा नै सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए ।
प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी सत्तारुढ दलका सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसको जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताए ।
यसै गरी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सदन अवरुद्ध गर्ने दलको रहर नभई जिम्मेवार दलका जिम्मेवार सांसदले लगाइएको मिथ्या आरोप गम्भीर भएको बताए । सत्तापक्षका सांसदले आफूहरूलाई सुनको जलहरीको सट्टा पित्तलको चढाएर भ्रष्टाचार गरेको भनी गम्भीर आरोप लगाएको भन्दै दुःख व्यक्त गरे । सुनको जलहरी हो, होइन दूधको दूध पानीको पानी हुनेगरी छानबिन गर्न उनले माग गरेका छन् ।
तर, महालेखापरीक्षकको ५९ औँ वार्षिक प्रतिवेदनले समेत यसबारे उल्लेख गरेको पाइएको छ । जहाँ भनिएको छ, ‘सुनको जलहरी निर्माण पशुपति शिव लिङ्गको गर्भ गृहलाई पूर्ण रूपमा डाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि यो वर्ष नेपाल राष्ट्र बैङ्कबाट १०३ किलो ७७३ ग्राम सुन रु.८० करोड ११ हजारमा खरिद गरेको छ ।
विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ ।’
निर्मित जलहरी, जलधारा, नाग, नाग मूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रु.७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नगरेको प्रतिवेदनमा उल्लेख छ ।