
काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा निर्माण सम्पन्न भएका पुलहरू क्रमश सञ्चालन गर्दै लगिने भएको छ । सङ्घीय राजधानी काठमाडौँ छिर्ने मुख्य नाका मानिने सडकको यातायात सेवा वर्षामा पनि सहज बनाउन निर्माण सम्पन्न भएका पुललाई परीक्षणका रूपमा सञ्चालनमा ल्याउन लागिएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बनिसकेका पुल जेठको अन्तिमदेखि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । “हस्तान्तरण हुन बाँकी भए पनि निर्माण सम्पन्न भएका पुल विस्तारै सञ्चालन गर्दै लगिने नीति बनाएका छौँ,” प्रमुख कार्कीले भने ।
सडकसँगै रहेका घरटहराको क्षतिपूर्ति दिन ढिलाइ हुँदा निर्माण सकिएर पनि उक्त सडक खण्डका नौ वटा पुल सञ्चालनमा आउन सकेका छैनन् । विश्व बैङ्कको ऋणमा निर्माण भएका ती पुल नजिकै सडकमा जोडिएका घर टहरालाई नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्ने नियमका कारण निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेका थिएनन् । सरकारले ती घरटहराको पहिलो चरणको क्षतिपूर्ति ५० लाख रुपियाँ वितरण गरेसँगै पुललाई मूल सडकमा जोड्न लागिएको हो ।
त्यसका लागि पुलदेखि सडकसम्मको बिचको भाग मर्मत सुधार र कालोपत्रे गर्नुपर्ने अवस्था छ । त्यो एक दुई दिनमै सकिने र त्यसपछि जेठ अन्तिमसम्ममा पुल सञ्चालनमा ल्याइने बताइएको छ । निर्माण कम्पनीका तर्फबाट सडक विभागलाई हस्तान्तरण भने हुन बाँकी नै छ ।
“केही दिनभित्रै पहिलो चरणमा सेती दोभान, डुम्रे र बालुवा पुल गरी तीनवटा र दोस्रो चरणमा रिग्दी खोला पुल, भोर्ले खोला पुल, जुगेडी खोला पुल र खोर खोला पुल गरी चार वटा पुलको प्राविधिक जाँच गरी सञ्चालनमा ल्याउँछौं,” प्रमुख कार्कीले बताए ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार निर्माणाधीन १५ पुलमध्ये नौ वटाको निर्माण पूरा भएको र थप चार वटाको निर्माण कार्य अन्तिम चरणमा छ ।
प्रतिक्रिया दिनुहोस