aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

वाणिज्य बैंकहरुले तिर्ने आयकर ८७.३७ प्रतिशतले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ जेठ २०८०
वाणिज्य बैंकहरुले तिर्ने आयकर ८७.३७ प्रतिशतले घट्यो
NIBL

काठमाडौं । वाणिज्य बैंकहरुले तिर्ने आयकर घट्दो क्रममा रहेको छ । तीन वर्षको अवधिमा हेर्ने हो भने वाणिज्य बैंकहरुले तिर्ने आयकर घट्दै गएको देखिएको हो ।   

नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म बैंकहरुले १९ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ कर तिरेका छन् । उक्त आयकर आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको तुलनामा ८७.३७ प्रतिशतले कम हो ।  सो अवधिमा बैंकहरुले २१ अर्ब ९१ करोड २० लाख रुपैयाँ कर तिरेका थिए ।   

यसका साथै आव २०७८/७९ को तुलनामा पनि बैंकहरुले तिर्ने आयकर ५.५१ प्रतिशतले घटेको छ । जबकी आव २०७८/७९ मा बैैंकहरुले २१ अर्ब १६ करोड ५० लाख रुपैयाँ कर तिरेका थिए । 

बैंक तथा वित्तीय संस्थाहरुले आयकर ऐन २०७८ अनुसार आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रावधान रहेकाे छ । 

चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्म हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले करिब २० अर्ब रुपैयाँ आयकर तिरेका हुन् । जसमा सर्वाधिक आयकर बुझाउनेमा नबिल बैंक रहेको छ । समिक्षा अवधिमा नबिल बैंकले सरकारलाई २ अर्ब १९ करोड २७ लाख रुपैयाँ आयकर बुझाएको छ । 

एक अर्ब बढी आयकर बुझाउने नौं बैंक  

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा नौं वटा वाणिज्य बैंकहरुले एक अर्ब रुपैयाँ भन्दा बढी आयकर बुझाएका छन् । यस अवधिमा नबिल बैंकसहित नौं वटा बैंकले एक अर्ब रुपैयाँ भन्दा बढी आयकर बुझाएका हुन् । 

यसरी आयकर बुझाउने अन्य बैंकहरुमा ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, एभरेष्ट, प्राइम कर्मर्शियल, स्ट्याण्डर्ड चार्टड, नेपाल इन्भेष्मेन्ट मेगा, एनआईसी एशिया र एनएमबी बैंक रहेका छन् । 

यस अवधिमा ग्लोबल आईएमईले एक अर्ब ७० करोड १६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ५३ करोड २९ लाख रुपैयाँ, एभरेष्ट बैंकले एक अर्ब ५ करोड ६८ लाख रुपैयाँ, प्राइम कर्मर्शियलले एक अर्ब ५ करोड ६३ लाख रुपैयाँ आयकर तिरेको छ ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टडले एक अर्ब ११ करोड ८६ लाख रुपैयाँ, नेपाल इन्भेष्मेन्ट मेगाले एब अर्ब ३० करोड ५४ लाख रुपौयँ, एनआईसी एशिया बैंकले एक अर्ब ७२ करोड ६ लाख रुपौयँ र एनएमबी बैंकले एक अर्ब १३ करोड २६ लाख रुपैयाँ आयकर तिरेको विवरणमा उल्लेख छ ।

अन्य नौं बैंकले तिरे ५० करोड बढी आयकर    

वाणिज्य बैंकहरुले चालू आवको तेस्रो त्रैमाससम्म नौं वटा बैंकहरुले ५० करोड रुपैयाँ भन्दा बढी आयकर तिरेका छन् । यस अवधिमा सिद्धार्थ बैंकले ६४ करोड ७३ लाख रुपैयाँ आयकर तिरेको छ भने कुमारी बैंकले ५५ करोड ७८ लाख रुपैयाँ तिरेको छ ।  

त्यस्तै, यस अवधिमा माछापुच्छ्रे बैकले ५७ करोड ९४ लाख रुपैयाँ, सानिमा बैंकले ७१ करोड ८६ लाख रुपैयाँ र सनराइज बैंकले ५० करोड १८ लाख रुपैयाँ आयरकर तिरेका छन् । यसका साथै सिटिजन्स इन्टरनेशनलले ५४ करोड ७७ लाख रुपैयाँ, हिमालयनले ७६ करोड २३ लाख रुपैयाँ, प्रभु बैंकले ७२ करोड ३५ लाख रुपौयँ र नेपाल एसबीआई बैंकले ७७ करोड २८ लाख रुपैयाँ आयकर तिरेका हुन्  । 

तीन बैंकले तिरेको आयकर ५० करोड भन्दा कम 

चैत मसान्तसम्म तीन वटा बैंकहरुले सरकारलाई ५० करोड रुपैयाँ भन्दा कम आयकर तिरेका छन् । जसमा नेपाल बैंक, कृषि विकास बैंक र लक्ष्मी बैंक रहेका छन् । यस अवधिमा लक्ष्मी बैंकले सरकारलाई ४९ करोड ७० लाख रुपैयाँ, कृषि विकास बैंकले ४१ करोड ५४ लाख रुपैयाँ र नेपाल बैंकले ४५ करोड ५४ लाख रुपैयाँ आयकर बुझाएका छन् ।

दश बैंकको आयकर घट्यो

चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म दश वटा बैंकको आयकर घटेको छ । गत आवको सोही अवधिको तुलानामा बैंकहरुको आयकर घटेको हो । आयकर घटेका बैंकहरुमा नेपाल बैंक, कृषि विकास बैंक, प्रभु, सनराइज, सिटिजन, प्राइम, माछापुच्छ्रे, कुमारी, सिद्धार्थ र नेपाल इन्भेष्मेन्ट रहेका छन्

समिक्षा अवधिमा नेपाल बैंकको आयकर ३.४० प्रतिशत, कृषि विकास बैंकको ५३.८४ प्रतिशत, प्रभु बैंकको ६.८५ प्रतिशत, सनराइज बैंकको ८.३९ प्रतिशत, सिटिजन्स इन्टरनेशनल बैंकको १७.९५ प्रशितत, प्राइम कमर्शियलको १०.३१ प्रतिशत, माछापुच्छ्रे बैंकको १२.८८ प्रतिशत, कुमारी बैंकको २९.०९ प्रतिशत, सिद्धार्थ बैंकको २९.८३ प्रतिशत र नेपाल इन्भेष्मेन्ट बैंकको आयकर ३२.३१ प्रतिशतले घटेको हो ।  
 

प्रतिक्रिया दिनुहोस