
भैरहवा । भैरहवा भन्सारको चारैतिर राखिएका सिसि टिभि, सेक्युरीटि गार्ड, सुरक्षाकर्मी र भन्सार कर्मचारीलाई छक्काउँदैं एउटा मिनी ट्रक बाहिर निस्कियो । जुन ट्रकमा माछाले भारिएको थियो । उक्त ट्रक जब बाइपास रोडमा पुग्यो तब मात्रै थाहा भयो कि त्यो गाडीचालकसँग भएको डकुमेन्ट त सबै नक्कली रहेछ ।
बाईपासमा बसेका कर्मचारीले डकुमेन्ट नक्कली भएको कर्मचारीले थाहा पाएनन वा भन्सारको भित्रका कर्मचारी र गेटका सेक्युरिटीले आँखा चिम्लिए ? यद्यपी बाईपासको चेक प्वाईन्टमा बसेका कर्मचारीले उक्त ट्रकलाई पुनः भन्सार पठाएपछि भन्सार भित्र खैलाबैला नै मच्चिएको छ ।
भन्सारको कागज छ, प्रज्ञापनपत्र छ, राजस्व बुझाएको बैंक भौचर छ । कार्यलयको छाप, कर्मचारीको दस्तखत, सेक्युरिटी चेकजाँचको कागज पनि छ । एकै शब्दमा भन्दा भन्सार जाँचपास गर्दा चाहिने सबै कागजात छ । तर, ती सबै नक्कली छन् ।
भन्सार कार्यलयभित्रै यसरी नक्कली कागजात तयार गरेर गाडी निकाल्दै गर्दा शनिबार माछा सहितको ट्रक पक्राउ परेको हो । भन्सार कार्यलयको प्रज्ञापनपत्र र बैंकको भौचर नक्कली तयार गरी भन्सारकै पार्किङ स्थलबाट बाहिरीएको माछा सहितको एक मिनी ट्रक पक्राउ परेको हो ।
३७५ नम्बरको अधिकारी क्लिरियन्स नामक भन्सार एजेन्टले पास गरेको ३ हजार ८ सय किलोग्राम माछा भारतको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट्रक मार्फत भैरहवा भन्सारबाट बाहिरिएको थियो ।
उक्त ट्रकको प्रज्ञापनपत्र भन्सारदेखि करिब ७ सय मिटरको दुरीमा रहेको तिनकुने बाईपास चौंकमा रहेको सशस्त्र प्रहरी र भन्सारको संयुक्त चेकजाँच टोलिले चेकजाच गर्दा शंका लागी पुनः भन्सारमा फर्काइ अनुसन्धान गर्दा भन्सार प्रज्ञापनपत्र नै नक्कली भेटिएको हो ।
भन्सार कार्यलयले उक्त ट्रक सहित, चालक, आयतकर्ता, एजेन्ट, बैंकका कर्मचारी र भैरहवा भन्सारको सुरक्षा हेर्ने अन्नपुर्ण टर्मिनल्सका ३ जना कर्मचारी गरी ११ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको कार्यलयका प्रमुख मनिराम पौडेलले बताए । तर उनले अनुसन्धानको विषय भएकोले धेरै बोल्न नमिल्ने भन्दै अन्य कुरा बताएनन् ।
उक्त माछा काठमाडौं पठाउनेगरी बुटवलको कृष्ण फिस सप्लायर्सले आयात गरेकोे थियो । क्वारेन्टाईनबाट माछाको स्वास्थ्य परिक्षण समेत गराएको थियो । बेलहिया स्थित क्वारेन्टाईन प्रमुख डा. भक्त निउरेले उक्त माछा परीक्षण गरेका थिए । माछा ठिक छ भनेर पत्र बनाएका निउरेले माछा पक्राउ परे पछि जेकजाँच गर्दा माछा ठिक नभएको रिपोर्ट दिए ।
भन्सारकै जाँचकी, अधिकृतको कर्मचारीको नक्कली हस्ताक्षर, छाप मात्रै होइन राजस्व बुझाएको भौचर समेत नक्कली बनाएर उक्त गाडी निस्किएको थियो । सरकारी कागजात किर्ते गरी भन्सारको सुरक्षा व्यवस्थालाई चुनौति दिदैं ट्रक बाहिरिनु गम्भिर विषय हो ।
भैरहवा भन्सारमा अन्नपुर्ण टर्मिनल्स प्रालिले भन्सारको सुरक्षा र गाडि पार्किङको व्यवस्था मिलाएको छ । यसरी नक्कली कागजात सहित एउटा मिनि ट्रक बाहिरीदा समेत भन्सारका सुरक्षाकर्मीले पत्तो नै पाएनन् । यो घटनाले भन्सारमा अहिले पनि बेथिति रहेको पुष्टि गरेको छ । उक्त घटनामा सङ्लग्नलाई भन्सार ऐन अनुसार कारवाहीको लागि पठाएपछि अवैध कारोबारमा सङ्लग्नलाई किर्तेमा प्रहरीले मुद्धा चलाउने बताइएको छ । बरामद गरिएको माछा पत्रकारले निरन्तर निगरानी गरेपछि नष्ट गरिएको छ ।
नष्ट गर्ने क्रममा उद्योग वाणिज्य संघ र उपभोक्ता हित संरक्षणलाई बोलाइएन । करेन्टाइनका कर्मचारी पनि नराखि नष्ट गर्न लागिएको माछामा पत्रकारले खै त सम्बन्धित निकाय भनेर सोधि खोजी गरे पनि करेन्टाइनका कर्मचारी आए तर डाक्टर आएनन् । १ वर्ष अगाडि करोडौंको अन्तशुल्क छलि गर्दा प्रज्ञापन पत्र भर्ने र अहिले माछाको प्रज्ञापन पत्र भर्ने एजेन्ट एउटै हुन् भने कार्यालय प्रमुख पनि एउटै छन् ।
प्रतिक्रिया दिनुहोस