शीर्षकहरू

हातमा सिप भए त्यहि नै हो अपार, हस्तकलाका सामाग्रीबाट लाखौँको व्यापार

हातमा सिप भए त्यहि नै हो अपार, हस्तकलाका सामाग्रीबाट लाखौँको व्यापार

धनकुटामा जन्मिएकी रजनी राई चित्रकार सानै उमेरदेखि हस्तकलाका सामाग्री बनाउन रुचाउँथिन् । उनका बुवा आमा पनि बासको तामाबाट डोको, नाङ्लो, डालो बनाउने गर्थे । उनले पनि आमाबुवाबाट नै यस्ता सामाग्री बनाउन सिकिन् ।    

उनीहरुले बनाएका सामाग्री धनकुटाका विभिन्न ठाउँमा लगेर बिक्री गर्ने गरेका थिए । तर, धनकुटामा मात्रै बिक्री गरेर भएको आम्दानीले उनको परिवार चल्न धौधौ पर्‍यो । २०४४ सालमा रजनी ती सामाग्रीको बजार खोज्दै काठमाडौं आइन् ।  

ती दिन सम्झिँदै उनी सुनाउँछिन्, ‘हाम्रा बाउ बाजेको पालादेखि नै चोयाबाट विभिन्न सामाग्रीहरू बनाउने गर्थे । त्यस बेला धनकुटा दुर्गम ठाउँ भएकोले पर्याप्त बजार पाएनौँ । त्यहाँ बिक्री गरेर आएको पैसाले परिवार चल्नै समस्या भएपछि बजार खोज्न काठमाडौं आउनु परेको हो ।’ 

काठमाडौं आएपछि उनले आफ्ना सामाग्री बिक्री गर्ने बजार मात्रै पाइनन्, अन्य हस्तकलाका सामाग्री बनाउन सिक्ने अवसर समेत पाइन् । त्यहि सिपले उनलाई आज हस्तकलाका सामाग्री बनाउने उद्यमीकारुपमा परिचय दियो । 

उनले बनाएका हस्तकलाका सामाग्रीहरू विभिन्न ठाउँमा लगेर बिक्री गर्ने गर्थिन् । आफूले बनाएको सामाग्री उनले लामो समयसम्म यसरी नै बिक्री गरिन् । त्यसरी बिक्री गरिएको सामाग्रीबाट उनले आम्दानी त गर्थिन तर बचत भने गर्न सक्दिन थिइन । उनको त्यो बेलाको आम्दानीले परिवारको गुजारा मात्रै चल्थ्यो । 

आफूले बनाएका सामाग्रीहरू विभिन्न ठाउँमा लगेर बेचेर मात्रै हुँदैन उद्योग पनि दर्ता गर्नु पर्छ भन्ने उनले सोचिन् । २०७२ सालमा उनले रजनी हस्तकला तथा तालिम केन्द्र भनेर उद्योग नै दर्ता गरिन् । जुन उद्योग लगानी गर्दा उनीसँग पैसा थिएन । त्यस बेला उनले मकैका खोस्टा, बिस्कुट चाउचाउ खाएर फालिएका खोलहरू भेला पारेर ढाकी, पिरा लगायत बनिन् ।   

‘मै यो व्यवसाय जिरोबाट शुरु गरेको हो । सुरु गर्दा एक रुपैयाँ पैसा थिएन । मकैका खोस्टा, चाउचाउ बिस्कुटका खोलहरू भेला पारेर विभिन्न सामाग्री बनाउँदै बेच्दै गर्थे’, उनले सुनाइन् । 

उद्योग दर्ता गरेपछि पनि उनले बजार खोज्न विभिन्न ठाउँ जानु पर्‍यो । काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा उनले आफ्नो सिप लगेर बिक्री गर्ने गरिन् । त्यसरी बिक्री गर्न निस्किदा भने उनले बिक्री नभएर निराश भएर घर फर्किनु भने नपरेको बताउँछिन् ।   

हस्तकलाका सबैजसो सामाग्री बनाउन उनले जानेकी छिन् । यो हाते सिपबाट भएको आम्दानीले उनले छोरीलाई सिभिल इन्जिनियर र छोरालाई होटल म्यानेजमेन्ट पढाएकी छिन् । कीर्तिपुरमै विवाह गरेकी रजनीलाई यो काम गर्न उनका परिवारले समेत हौसला दिने गरेका छन् । 

परिवारको गुजारा चलाउन सिकेको सिप अहिले आम्दानीको राम्रो स्रोत बनेको उनी खुसी छिन् । हस्तकला सामाग्री बनाएर उनले आफ्नो चार जनाको परिवारको सबै खर्च धानेर वार्षिक ३५ लाख भन्दा बढी आम्दानी गर्छिन् । त्यसबाहेक उनले केहिलाई रोजगारी समेत दिएकी छिन् ।  

त्यस्तै, रजनीले १५ हजार भन्दा बढी जनालाई हस्तकलाका तालिम दिएर दक्ष बनाएकी छिन् । उनीहरुले पनि विभिन्न ठाउँमा हस्तकलाका उद्योगहरू सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेका छन् । कतिपय जनाहरूले बनाएका हस्तकलाका सामाग्रीहरूले बजार पाएनन् भने उनले कीर्तिपुर १ अमृतनगरमा रहेको आफ्नो उद्योगमा ल्याएर बिक्री गरिदिने गरेकी छिन् ।  

रजनीले अर्डर अनुसारका हस्तकलाका सामाग्री होलसेल तथा खुद्रा मूल्यमा बिक्री गर्ने गरेकी छिन् । कोरोना महामारी अघि उनले बनाएका हस्तकलाका सामाग्रीहरू विदेश पनि निर्यात हुने गरेको थियो । तर, कोरोना महामारीपछि भने उनले यस्तो सामाग्रीहरू विदेश निर्यात नभएको सुनाइन् ।   

एक जनाले हस्तकलाको सिप सिकेपछि उसको पुरै परिवार चल्न सक्ने उनको भनाई छ । रजनी भन्छिन्, ‘कुनै परिवारको एक सदस्यले हस्तकलाको सिप सिक्यो भने उसको सबै परिवार चल्छ । नेपालमा धेरै बेरोजगार छन् । हस्तकलाको सिप सिक्ने हो भने बेरोजगार हुनु पर्दैन ।’ 

पढाइले मात्र नहुने भन्दै सिप पनि सिक्नु पर्ने उनको भनाई छ । लाखौँ खर्च गरेर पढेर पछि बेरोजगार भएर बस्नु भन्दा ४५ दिन हस्तकलाको सामाग्री बनाउन सिकेर आम्दानी गर्न सकिने उनी सुनाउँछिन् । 

हस्तकलाका सामाग्री प्रयोग गर्नेहरू पछिल्लो समय घट्दै गएकोमा उनी चिन्ता गर्छिन् । रजनी भन्छिन्, ‘पहिले पहिले सबैजसोको घरमा गुन्द्री, पिरा, नाङ्लो डालो लगायत सामाग्रीहरू प्रयोग हुने गर्थे । तर, अहिले बिस्तारै घट्दै गएको छ । यस्तो बनाउन जानेका पुर्खा सकिँदै छन् । नयाँहरू यस्तो जाबो भनेर सिक्न प्रयोग गर्न नै चाहँदैनन् ।’