शीर्षकहरू

राष्ट्रिय बीमा संस्थानले बोलायो साधारण सभा, हकप्रद मार्फत पुँजी जुटाउने प्रस्ताव

राष्ट्रिय बीमा संस्थानले बोलायो साधारण सभा, हकप्रद मार्फत पुँजी जुटाउने प्रस्ताव

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जेठ २२ गते विशेष साधारण सभा बोलाएको छ । जेठ २ गते बसेको संस्थानको सञ्चालक समितिको बैठकले संस्थानको प्रधान कार्यालय, रामशाह पथ, काठमाडौंमा अपरान्ह ४ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडबाट हकप्रद मार्फत पूँजी जुटाउने विषयलाई पारित गर्नेछ । नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति ) को २०७८ साल चैत ११ गतेको निर्देशन बमोजिम संस्थानले तयार गरेको पूाजी योजना अध्ययन प्रतिवेदन २०७९ अनुसार संस्थानले संस्थापकहरूबाट हकप्रद शेयर मार्फत पूँजी जुटाउन लागेको हो । 

संस्थानको पूँजी योजनामा सर्वसाधारणमा आईपीओ जारी गर्ने समेत रहेको छ । यो सभामा संस्थानले आईपीओको विषयलाई भने उल्लेख गरेको छैन् । विशेष साधारण सभामार्फत आर्थिक वर्ष ०७५/७६ को वार्षिक लेखापरिक्षणका लागि लेखापरिक्षक सि.ए राजकुमार सिवाकोटीलाई नियुक्तीका लागि परामर्स प्राप्त भएकाले सोही बमोजिम लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण हुनेछ । 

हाल संस्थानको चुक्तापूँजी रू. १८ करोड १० लाख २० हजार रहेको छ । नेपाल बीमा प्राधिकरणको हालको व्यवस्था अनुसार यस कम्पनीलाई रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थानको जगेडा कोष रकम रू. ४२ करोड ६९ लाखभन्दा बढी रहेको छ ।

जीवन बीमा कोष रकम रू. ४५ अर्ब ८७ करोड ५४ लाखभन्दा बढी छ । यस अवधिसम्म कम्पनीले रू. १ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थानले ७ अर्ब २१ करोडभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ भने रू. ३ अर्ब २३ करोडभन्दा बढी खुद दाबी भुक्तानी गरेको छ ।