काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरण गर्न जानेमध्ये धेरैले भन्ने गर्छन्, यातायात व्यवस्था कार्यालयको सेवा कति अव्यवस्थित र अस्तव्यस्त छ । एउटा लाइसेन्स नविकरण गर्न जानेले एक दिन माया मारेर घण्टौँ लाइनमा बस्ने मनस्थिति बनाएर निस्किनु पर्ने हुन्छ । यस प्रकारको सेवाबाट सेवाग्राहीहरू दिक्क बनेका छन् ।
सेवाग्राहीको गुनासोलाई सहज बनाउनका लागि यातायात व्यवस्था विभागले लाइसेन्सको नविकरण अवधि थप गर्ने तयारी थालेको छ । पाँच/पाँच वर्षमा नविकरण हुँदै आएको लाइसेन्सको नविकरण अवधि थप हुने विभागले जनाएको छ ।
विभागले नविकरणको समयावधि लम्ब्याउने तयारी थालेको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । उनले आर्थिक न्युजसँग भने, ‘कार्यालयहरूमा लाग्ने सेवा ग्राहीको भिड धेरै छ । सेवाग्राहीबाट धेरै नै गुनासो आउने गरेको छ । लाइसेन्स नविकरणका लागि समय अवधि थप्ने कुरा आएको छ । सेवाग्राहीको भिड कम गर्न र खर्च कम गर्न पनि समय थप गर्न लागिएको हो ।’
उनका अनुसार अहिले वितरण गर्दै आएको स्मार्ट लाइसेन्स खर्चिलो र महँगो छ । अरू देशहरूमा पनि सवारी लाइसेन्स नविकरणको सयम अवधि १० देखि २० वर्षसम्म रहेका छन् । नेपालमा पनि नविकरण अवधि १० वर्ष बनाउन लागिएको छ ।
‘अहिले हामीले दिँदै आएको स्मार्ट लाइसेन्स पनि कति खर्चिलो र महँगो छ । स्मार्ट लाइसेन्स १२ वर्ष भन्दा बढी टिक्छ । अहिले पाँच वर्षमा नै फाल्नुपर्ने अवस्था आएको छ । खर्च पनि बच्ने र सेवाग्राहीलाई पनि सहज हुने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो’, उनले भने ।
सरकारले अहिले लाइसेन्स नविकरणका लागि पाँच वर्षको समय दिएको छ । जसले गर्दा १० वर्ष टिक्ने स्मार्ट कार्ड पाँच वर्षमा नै फाल्नुपर्ने अवस्था आएको उनको भनाई छ । समयावधि थपियो भने आधा खर्च बच्ने पनेरुले बताए ।
सवारी लाइसेन्स नविकरणका लागि सरकारले अर्बौँ रुपैयाँ खर्च गरिरहेको छ । समयावधि थप गर्दा सरकारलाई राहत मिल्छ भन्ने प्रश्नमा प्रवक्ता पनेरु सेवाग्राहीको समयलाई पैसामा मूल्याङ्कन गर्न नमिल्ने बताउँछन् ।
उनी भन्छन्, ‘लाइसेन्स नविकरण कै लागि सेवाग्राहीको भिड धेरै छ । समयावधि थप गर्दा सरकारलाई राहत त मिल्छ नै । तर, सेवाग्राहीको समयलाई पैसामा मूल्याङ्कन गर्न मिल्दैन । यसले सेवाग्राहीको प्रभावकारिता पनि आउने भयो ।’
पाँच/पाँच वर्षमा नविकरण गर्दा भिडभाडलाई व्यवस्थापन गर्नै गाह्रो भएको उनको भनाई छ । उनले भने, ‘यसलाई पनि व्यवस्थापन गर्न पनि लाइसेन्स नविकरणको समय थप्न आवश्यक छ । कार्ड आपूर्तिमा पनि समस्या भइरहेको छ । पाँच पाँच वर्षमा नविकरण गर्दा एउटै सेवाग्राही दोहोरी रहने हुँदा समस्या भयो ।’
लाइसेन्स नविकरणको समय अवधि थप्दा धेरै फाइदा हुने देखिन्छ । सेवाग्राहीले कार्ड लिन पनि धेरै समय कुर्नुपर्ने अवस्था छ । यसलाई पनि कम गर्न सकिन्छ । अहिले यसबारे विभागले तयारी थालेको छ । यो व्यवस्था गर्नका लागि कानुन संशोधन गर्न पर्ने आवश्यक रहेको छ ।
केही साता अघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रालयमा आयोजित एक कार्यक्रममा लाइसेन्स नवीकरण प्रावधान परिवर्तन गर्न लागेको बताएका थिए । यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेकोले लाइसेन्सको समस्या समाधान गर्ने उनको भनाई थियो ।
मन्त्री पनि यसबारे सकारात्मक रहेकाले लाइसेन्स नविकरणको समयावधि थप गर्न विभागले लबिङ गरिरहेको पनेरुले बताए । उनले भने, ‘आधिकारिक ठाउँहरूमा हामीले कुरा उठाइरहेका छौँ । सरकारबाट निर्णय भएर ऐन संशोधन भएपछि कार्यान्वयन हुन्छ ।’
यातायात कार्यालयका सेवा ढिलो र झन्झटिलो हुने सेवाग्राहीको गुनासो धेरै आउने गर्छ । उनका अनुसार यातायात व्यवस्थापनको काम प्रदेश सरकारले हेर्छ । दैनिक सेवा प्रवाहका कुरामा प्रदेश सरकार पनि सक्रिय हुनुपर्ने उनको भनाई छ ।
‘केन्द्रीय सरकारले हेर्न सिस्टमको कुरा हो । सिस्टमलाई अझ सहज र सेवाग्राही मैत्री बनाउन विभागले आफ्नो कार्य योजना बनाएर लागि परिरहेको छ । दैनिक सेवा प्रवाहलाई व्यवस्थापन गर्ने काम प्रदेश मातहतको कार्यालयहरूको हो । उनीहरूले पनि काम गरिरहेका छन्’, उनले भने ।