काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले समय अनुसार बीमालेखलाई परिमार्जन गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सवका अवसरमा आज बिहान काठमाडौंमा प्रभात फेरी कार्यक्रमको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरुले बीमालेखलाई समयानुकूल परिमार्जन गर्नुपर्यो । बीमितलाई थप सुविधाको व्यवस्था गर्नुपर्यो ।’ उनले आम नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि बीमा कम्पनीहरू लगायत सम्बद्ध सबैबाट साथ र सहयोग निरन्तर प्राप्त भइरहने विश्वास समेत व्यक्त गरे ।
त्यस्तै, पछिल्ला दुई वर्षमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धिले फड्को मारेको बताउँदै उनले भने, ‘जुन रूपमा बीमा सचेतनाले व्यापकता पाएको छ । त्यही रूपमा बीमा कम्पनीहरू आम जनतासम्म पुग्नुपर्यो । बीमा सेवा उपलब्ध गराउनुपर्यो र सेवा दिगो हुनुपर्यो ।’
सिलवालले प्राधिकरण र बीमा कम्पनीहरूको एउटै उद्देश्य भनेको आम जनतालाई बीमाको महत्त्वका बारेमा जानकारी गराई बीमा सेवा पुर्याउने भएकाले त्यसका लागि सम्बद्ध सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सवका अवसरमा आज बिहान काठमाडौंमा प्रभात फेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट शुरू भएको प्रभात फेरी र्याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको हो ।
प्रभावतफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरू, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, जीवन बीमक सङ्घ, नेपाल बीमक सङ्घ, बीमा सर्भेयर सङ्घ र पेशागत बीमा अभिकर्ता सङ्घका पदाधिकारीहरू तथा संचारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।