काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीका देवचुली र दुम्किवासमा ट्युबवेल गाड्ने क्रममा भ्रष्टाचार गर्नेहरु विरुद्ध मुद्दा दायर गरेको छ । यस्तो कसुरमा संलग्न पाँच जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
झुटा बिल भर्पाइ बनाई सार्वजनिक सम्पत्ति हानी नोक्सानी गर्ने इच्छा कुमार श्रेष्ठ, सन्तोष कुमार दास, नेत्र प्रसाद मरासिनी, सुक बहादुर गुरुङ र प्रकाश भट्ट्राईको मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
इच्छा कुमार श्रेष्ठले भुमिगत जलस्रोत तथा सिँचाई विभाग कार्यालय बुटवलका कार्यलय प्रमुख भएका बेला यस्तो कैफियत गरेका हुन् । उनले ९ लाख ३२ हजार ५४८ रुपैयाँको झुटा बिल बनाएका थिए ।
उनकै कारण काम पुरा हुन नसकी अलपत्र परेको र प्रतिफल शुन्य हुँदा ५३ लाख ७५ हजार २ सय रुपैयाँ हानीनोक्सानी भएको दावीसहित उनबाट बिगो र जरिवाना असल गरी कैद गर्न अख्तियारले अदालत समक्ष माग गरेको छ ।
त्यसैगरी, सोही कार्यालयका तत्कालिन इन्जिनियर सन्तोष कुमार दासले पनि उल्लेखित रकमको झुटा बिल बनाउने र काम अलपत्र पार्ने कसुरमा संलग्न भएको हुँदा कानुन बमोजिम कारबाही, जरिवाना र बिगो असुलीको माग गरिएको अख्तियारले जनाएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा भएको पम्प हाउस, स्टोरेज, टंकी र वितरण प्रणाली निर्माण कार्यमा यस्तो कैफियतमा संलग्न तेस्रो व्यक्तिका रुपमा लेखापाल नेत्र प्रसाद मरासिनी रहेको अख्तियारको ठहर छ । उनको सहित मिलेमतोमा सो कसुर भएको अख्तियारले आरोप लगाएको हो ।
अख्तियारद्धारा मुद्दा दायर गरिएका चौथो र पाँचौ व्यक्तिको रुपमा रहेका सुक बहादुर गुरुङ ठेकेदार हुन् भने प्रकाश भट्टराई ठेकेदार कम्पनी भोले बाबा कन्ट्रक्सनका तर्फबाट अख्तियारी प्राप्त अख्तियारी व्यक्ति हुन् । उनीहरु दुवैबाट ६३ लाख ७ हजार ७ सय रुपैयाँ असुल उपर गर्ने र बिगो जफत गर्नुपर्ने माग अख्तियारले राखेको छ ।