लाभांश बुक गर्ने बेलामा नेप्से घट्दै, समस्या समाधान नहुने संकेत - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

लाभांश बुक गर्ने बेलामा नेप्से घट्दै, समस्या समाधान नहुने संकेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
Sunrise bank
लाभांश बुक गर्ने बेलामा नेप्से घट्दै,  समस्या समाधान  नहुने संकेत
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांशको घोषणा गरिरहेका छन् । कम्पनीले वितरण गर्ने लाभांश बुक गर्नतिर लाग्ने भन्दा पनि लगानीकर्ताले शेयर बिक्री गर्न थालेका छन् । जसका कारण शेयर बजार निरन्तर ओरालो लागेको छ ।  

अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारप्रति नकारात्मक धारणा राख्दै आएको, पुँजीगत लाभकर गणनाविधिको समस्या समाधानतिर नगएको र बैंकको ब्याज नघटेको कारण शेयर बजार ओरालो लाग्न पुगेको लगानीकर्ताको भनाइ छ । एकातिर लाभांश धमाधम घोषणा गर्न थाल्नु अर्कोतिर नीतिगत तहमा देखिएका समस्या समाधान हुने संकेत नमिलेसँगै शेयर बजारमा सुधार नदेखिएको ब्रोकरको भनाइ छ ।

साना लगानीकर्ता शेयर बजार ओरालो लागेपछि डराएर बिक्री गरिरहेका छन् । ठूला लगानीकर्ता पनि शेयर बजारमा लगानी गर्न डराइरहेका छन् । स्थिर सरकार भए पनि अस्थिर नीतिका कारण शेयर खरिद गर्न उनीहरु सकिरहेका छैनन् ।
साना लगानीकर्ता निराश भएका छन् । ठूला लगानीकर्ताहरु पनि बढी लाभांश घोषणा गरेका र घोषणा गर्न सक्ने कम्पनीको शेयर डराएर भए पनि केही किनिरहेका छन् । 

अहिले पुँजी बजार मापक नेप्से ११ सय अंक नजिक आइपुगेको छ । नेप्से सोमबार ११२३.८३ अंकमा ओर्लिको छ । १८८१ अंक नजिक पुगेको नेप्से ६ सय ५८ अंक तल आइपुगेको छ । अहिले पनि उच्च लाभांश दिन सक्ने कम्पनीको शेयर मूल्य ३–४ सय रुपैयाँ छ । यतिबेला किनेको शेयर केही थोरै मात्र बढे पनि नाफा आर्जन गर्न सकिने विश्लेषण लगानीकर्ताले गर्दै आएका छन् । त्यसमा पनि सूचीकृत कम्पनीले यो वर्ष वितरण गर्ने लाभांश हात पार्न सकिन्छ ।

नीतिगत सुधार आउने सम्भावना देखिए मात्र पनि शेयर बजारमा सुधार आउने अनुमान लगानीकर्ताले गरेका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाको शेयर बजारप्रति दृष्टिकोण नकारात्मक रहेकाले पनि शेयर बजार उकालो लाग्न नसकेको निष्कर्ष लगानीकर्ताले निकालेका छन् । राष्ट्रिय सभामा दुई मात्रै पदावधि रहेका कारण आगामी फागुनमा उनको कार्यकाल रहन्छ । सांसद नभएको व्यक्ति मन्त्री पदका अयोग्य रहने संवैधानिक व्यवस्था अनुरुप फागुनपछि युवराज खतिवडा हट्ने र त्यसपछि शेयर बजार बढ्ने आशा र अनुमान लगानीकर्ताले गरेका छन् ।  

२०७४ फागुन १४ मा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका खतिवडालाई पुँजी बजार सधैं रेड सिग्नल नै देखाइ दिन पुग्यो । अर्थमन्त्री भएलगत्तै बीबीसी नेपाली सेवामा खतिवडाले पुँजी बजारमा भइरहेको लगानी ‘अनुत्पादक’ भन्ने आशयको अन्तर्वार्ता दिए ।
पुँजी बजारप्रति नकारात्मक दृष्टिकोण बनाउँदै आएका खतिवडाले त्यो भनाइ सार्वजनिक भएलगतै शेयर बजारले उनलाई रातो झन्डा देखाइ दिन पुग्यो ।  

खतिवडा अर्थमन्त्री भएयता शेयर बजार करिब २५० अंकले घटेको छ । बजार पुँजीकरण साढे २ खर्ब रुपैयाँले तल झरेको छ । उनी अर्थमन्त्री भएपछि शेयर कारोबारमा पुँजीगत लाभकर गणना विधिको विवाद निस्कियो । त्यो विवादले गर्दा लगानीकर्ताले केही दिन शेयर बजार कारोबार नै ठप्प पारिदिए । 

त्यसयता पुँजीबजारका लगानीकर्ता अर्थमन्त्री खतिवडालाई आफ्नो मुख्य सत्रु ठान्छन् । नीतिगत अस्थिरता र ऋणको ब्याजदर नघट्नु नै लगानीकर्ताका लागि ठूलो अवरोध बनेको छ । नौ प्रतिशतसम्ममा पाइने शेयर कर्जा अहिले १४–१५ प्रतिशतमा पुगेको
छ । सूचीकृत कम्पनीको नाफा बढेको र लाभांश पनि त्यही अनुपातमा वृद्धि गरेका छ । यस्तो अवस्थामा नीतिगत सुधार हुँदा बित्तिकै ठूला लगानीकर्ताहरुले धमाधम शेयर खरिद गर्ने र बजार बुम हुने सम्भावना पनि छ । अहिले साना लगानीकर्ता डराए पनि ठूला लगानीकर्ता भने ‘पर्ख र धैर्यतापूर्वक हेर’ भन्ने अवस्थामा छन् । 

प्रतिक्रिया दिनुहोस