
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४ करोड ८३ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. १ करोड ११ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको यस वर्ष खुद नोक्सानी बढेको हो ।
कम्पनीले १०२ मेगावाट क्षमताको मध्य भोटेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस वर्ष कर तिरेका कारण कम्पनीको नोक्सानी बढेको हो । कम्पनीले अघिल्लो वर्षको कर वापत रू. १ करोडभन्दा बढी रकम तिरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब रहेको छ । रिटेन्ड अर्निग गत वर्ष रू. २९ करोड ८३ लाखभन्दा बढी ऋणात्मक रहेकोमा यस वर्ष रू. ३९ करोड ५१ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको दिर्घकालिन कर्जा रकम रू. १० अर्ब ६९ करोडभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म यो कर्जा रू. ६ अर्ब ७१ करोडभन्दा बढी थियो । कम्पनीको निक्षेप लगानी रकम गत वर्ष रू. ४९ करोड रहेकोमा यस वर्ष रू. २१ करोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस