
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रधानले कानुन विपरित धितोपत्र कारोबार गरेको आरोप पुष्टि गर्दै सोमवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोे हो ।
बोर्डका प्रबक्ता मुक्ति श्रेष्ठले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफ ९८ अनुसार कारबाहीको माग गर्दै प्रधान विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको जानकारी दिए ।
प्रधानले आफुले अध्यक्ष हुँदाका बखत तथा सो पदबाट हटेको एक वर्ष पुरा नभएसम्म कुनै तरिकाले शेयर हस्तान्तरण गर्न नहुने नियमको विपरित श्रीमतिलाई घरायसी नामसारी गराई सो शेयर दोस्रो बजारमा श्रीमतीको माध्यमबाटै विक्री गरेका दाबी श्रेष्ठले गरेका छन् ।
निजले आफु स्वयमले आफ्नो शेयर विक्री नगरेतापनि परिवारको सहयोग लिई शेयर विक्री गर्ने कार्य सफा मनसायले गरेको नदेखिएको जानकारी श्रेष्ठले दिएका छन् । प्रधानले नियमन निकाय नेपाल धितोपत्र बोर्ड, धितोपत्र बजार लगाएत अन्य सरोकारवालालाई झुक्याउने काम गरेको प्रष्ट हुन आएकाले कानुनी प्रक्रियामा गएको श्रेष्ठको भनाई छ ।
यस अघि बोर्डको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई नगद जरिवाना सहित १० वर्षसम्म कुनै पनि सुचिकृत कम्पनीको सञ्चालक बन्न नपाउने गरि कारवाही गर्ने निर्णय गरेको थियो । धितोपत्र सम्बन्धि ऐनमा भएको व्यवस्था अनुसार प्रधानलाई रू. ७५ हजार नगद जरिवाना सहित १० वर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी बोर्डले कारवाही गरेको हो ।
धितोपत्र दर्ता निष्काशन नियमावली मा भएको व्यवस्था अनुसार सुचिकृत कम्पनीको संचालक, कार्यकारी प्रमुख लगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदवाट बाहिरिएको एक वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको शेयर खरिदबिक्री गर्न पाईनेछैन् । तर प्रधानले कानुन विपरित शेयर कारोबार गरेको उजुरी परेपछि बोर्डले गत मंसिरदेखि अनुसन्धान अघि बढाएको थियो ।
बोर्डले प्रधानमाथी परेको उजुरीका विषयमा गरेको अनुसन्धानको प्रतिवेदन सरकारी वकिल कार्यालयमा समेत बुझाईसकेको छ । प्रधान विरुद्धमा देखिएको आरोपमा प्रयाप्त आधार र प्रमाण देखिएकाले सरकारी वकिल कार्यालयको सहयोगमा प्रधान विरुद्ध जिल्ला अदालतमा बोर्डले मुद्दा दर्ता गराएको हो ।
पछिल्लो सयम बोर्डले गैर कानुनी रुपमा धितोपत्र कारोबार गरेको उजुरीलाई विशेष प्राथमिकताका साथ अनुसन्धान गरिरहेको छ । यस अघि पनि बोर्डले गैर कानुनी रुपमा धितोपत्र कारोबार गरेको आरोपमा मुछिएका रिडी पावरका तत्कालिन अध्यक्ष गुरु प्रसाद न्यौपानेलाई समेत नगद जरिवान सहित कारवाही गर्ने निर्णय गरेको थियो ।
गुरु प्रसाद न्यौपानेलाई पनि बोर्डले रू. ७५ हजार नगद जरिवाना सहित १० वर्षसम्म कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक , महाप्रबन्धक, वा सो सरह पदमा बहाल हुन नपाउने गरी बोर्डले कारबाही गरेको हो । न्यौपाने विरुद्ध समेत बोर्डले गत चैत ८ गतेनै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराईसकेको छ ।
प्रतिक्रिया दिनुहोस