aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सेवा निर्यात गरेर पहिलो पटक दुई खर्ब रुपियाँभन्दा बढी कमाउँदै नेपाल

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, २४ बैशाख २०८०
himalayanlife
सेवा निर्यात गरेर पहिलो पटक दुई खर्ब रुपियाँभन्दा बढी कमाउँदै नेपाल
DHI
NIBL

काठमाडौं । सेवा निर्यात बापत नेपालले पहिलो पटक दुई खर्ब रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा आर्जन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९र८० को राष्ट्रिय लेखा तथ्याङ्कअनुसार मुलुकको सेवा निर्यात चालु मूल्यमा दुई खर्ब दुई अर्ब ९७ करोड रुपियाँ पुग्ने अनुमान गरिएको हो। 

खासगरी पर्यटन क्षेत्रमा आएको सुधारका कारण होटल सेवा बिक्री बढ्दा यस वर्ष सेवा निर्यातबाट हुने आम्दानीमा सुधार आउने अवस्था बनेको कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । “यस वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्या पछिल्ला वर्षभन्दा धेरै बढेकाले त्यसबापतको आयमा व्यापक सुधार आएको छ,” उनले भने। 

नेपाल पर्यटन बोर्डका अनुसार २०७९ साउनदेखि २०८० वैशाख मध्यसम्म साढे छ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। जुन त्यसअघिको सोही अवधिको तुलनामा डेढ लाखभन्दा बढी हो। 

नेपालले विशेष गरी पर्यटन, शिक्षा, यातायात तथा सूचना प्रविधिजस्ता सेवा बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्दै आएको छ। जसको लेखाङ्कन नेपाल राष्ट्र बैङ्कले गर्छ। यसबाहेक वस्तु निर्यातबापतको हिसाबकिताब भने भन्सार विभागले राख्ने गर्छ। 

तथ्याङ्क कार्यालयका अनुसार चालु आवमा वस्तु निर्यात भने एक खर्ब ८२ अर्ब १३ करोड रुपियाँ पुग्ने अनुमान छ। यस हिसाबले वस्तु निर्यातभन्दा नेपालले सेवा निर्यातबाट यस वर्ष बढी आम्दानी गर्ने देखिएको छ।

राष्ट्र बैङ्कका अनुसार चालु आवको आठ महिनासम्म नेपालले भ्रमण शीर्षकअन्तर्गत ३७ अर्ब १२ करोड रुपियाँ विदेशी मुद्रा आर्जन गरेको छ। जुन गत आवको आठ महिनाको तुलनामा करिब शतप्रतिशतले बढी हो। गत चैतसम्म नेपालले सोही शीर्षकमा १८ अर्ब ६९ करोड रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी गरेको थियो।

प्रतिक्रिया दिनुहोस