
काठमाडौं । हालसम्म स्वास्थ्य बीमा कार्यक्रमको पहुँच ६६ लाख बढी जनसंख्यामा पुगेको छ । सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरेपनि सुरुवाती दिनहरूमा स्वास्थ्य बीमाबारे नागरिकले चासो राखेका थिएनन् । तर, बीमा गरेपछि पाउने राहतबारे जानकारी पाएपछि ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढेको हो ।
स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क अनुसार सातै प्रदेशमा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या ६६ लाख ८० हजार ७७ पुगेको हो । स्वास्थ्य बीमा गर्नेहरुमा सबैभन्दा धेरै झापामा रहेका छन् । झापामा ६ लाख ४७ हजार १६२ जनाले बीमा गरेका छन् । त्यस्तै सुनसरीमा ४ लाख ७७ हजार ७८९ र मोरङमा ४ लाख ७५ हजार ८९० रहेका छन् । हालसम्म चितवनमा ४ लाख ४६ हजार ८७७ ले स्वाथ्य बीमा गरेको बोर्डले जनाएको छ ।
कुन प्रदेशमा कतिले गरे स्वास्थ्य बीमा ?
बोर्डका अनुसार हाल ७७ वटै जिल्लाहरूमा स्वास्थ्य बीमा लागु भएको छ । जसमध्ये कोशी प्रदेशमा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या २० लाख ६५ हजार ५१४ रहेको छ । अन्य प्रदेशको तुलनामा यो सङ्ख्या सबैभन्दा बढी हो ।
त्यस्तै, मधेश प्रदेश नम्बर दुईमा ४ लाख ८० हजार ८ जना, बाग्मती प्रदेशमा १३ लाख ८७ हजार १२२ जना, गण्डकी प्रदेशमा ८ लाख ४८ हजार ९२९ जना रहेका छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा १० लाख एक हजार ५१४ जना, कर्णाली प्रदेशमा ३ लाख ८६ हजार ६७८ जना र सुदूरपश्चिम प्रदेशमा ५ लाख ९ हजार ४३५ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवातदेखि हालसम्म स्वास्थ्य बीमा वापतको २८ अर्ब ७ करोड ३६ रुपैयाँ भन्दाबढिको दावी भुक्तानी गरिसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस