aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

वैज्ञानिक हुन के गरेको हुनु पर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ बैशाख २०८०
himalayanlife
वैज्ञानिक हुन के गरेको हुनु पर्छ ?
DHI
NIBL

डा. अम्बरिस पोखरेल 

हाम्रो समाजमा औपचारिक वा अनौपचारिक जुनसुकै रुपमा भएपनि कुनै अध्ययन, अनुसन्धानमा जोडिएको र केही निर्माण वा उत्पादन कार्यमा लागेका अहिले कतिपय व्यक्तिहरुलाई ‘बैज्ञानिक’ का रुपमा सम्बोधन गर्ने गरिएको छ । सामान्य आम नागरिकले त्यसरी कसैलाई चिन्नु वा बुझ्नु स्वाभाविकै हो तर जव पढेलेखेको र आफुलाई शिक्षित भन्न रुचाउने समुहले नै कसैलाई कुनै अलंकार सहित सम्बोधन गर्छ भने कम्तिमा पनि त्यस्ता व्यक्तिले कुन पदवीको खास अर्थ के हो र त्यो पदवीबाट कसैलाई सुभोशित गर्ने न्युनतम मापदण्ड के हो भन्ने बुझेको हुनुपर्छ ।

त्यसैले ‘बैज्ञानिक’ मान र सम्मान कसैलाई दिँदा त्यसका लागी आधारभूत मान्यता र सर्तहरु के कस्ता हुन्छन् भन्ने बारे यो टिप्पणीमा चर्चा गरिएको छ ।

वैज्ञानिक बन्नका लागी आवश्यक पहिलो सर्त हो नियमित रूपमा आफ्नो क्षेत्रमा अनुसन्धानमा संलग्न रही, केही न केही नयाँ कुरा विश्व सामु प्रस्तुत गर्नको निम्ति समय समयमा अन्तराष्ट्रिय पिर रिभ्यु ( peer review journal ) वैज्ञानिक जर्नलहरुमा (वैज्ञानिक पत्रिकाहरु) आफ्नो अनुसन्धान प्रकाशित गरेको हुनु पर्छ। हरेक विषयका आ-आफ्ना विश्वले मान्यता दिएका पत्रिकाहरु छन् । समाज शास्त्रदेखि रकेट शास्त्र सम्मका। तर, तिनीहरू आफ्नो क्षेत्रमा हातमा गनिने संख्यामा छन्। र, त्यस्ता अनुसन्धानहरु तिनीहरू मै प्रकाशित गर्नु पर्छ। यदी त्यस्तो गरेको छैन भने त्यो शास्त्र र समुदायले त्यसलाई स्वीकार्दैन ।

उल्लेखित मापदण्ड पूरा नगरेको कुनै पनि मानिसलाई वैज्ञानिक मानिंदैन । उनीहरुलाई विश्वले वैज्ञानिक मान्दैन र भनिँदैन पनि। तर, यो विश्व मापदण्डलाई केही नेपालीहरूले अपव्याख्या गरेको पाइन्छ। यस्तो प्रकारको अपव्याख्याले वास्तविक नेपाली वैज्ञानिकहरुलाई अपमान गरेको ठहर्छ ।

वैज्ञानिक, प्राविधिक, व्यवस्थापक, साधु, सन्त, महात्मा, ऋषि, महर्षि, पादरी, भन्ते देखि भिक्षु, र साहित्यकार, गीतकार, गायक/गायिका, नाट्यकर्मी, प्रोफेसर (वर्ष गन्ती गरेर प्रोफेसर हुन्छन् नेपालमा,  जुन हास्यास्पद छ), पत्रकारदेखि सम्पादक र समाजिक अभियन्तामा फरक छुट्याउन नसकिने अवस्था हाम्रो नेपाली समाजमा देखिएको छ । त्यति मात्रै होइन, यी सबै प्रकारका वास्तविक व्यक्तित्वहरुलाई एउटै कसीमा राखेर जबर्जस्त रुपमा स्थापित गर्न खोजेको देखिन्छ । जुन कुरा सरासर गलत हो । यसले नेपाली समाजलाई फाइदा होइन, बेफाइदा गर्छ ।

यसले के प्रस्ट देखायो भने बाघ र बिरालो, ब्वाँसो र स्याल मात्र होइन, भेडा र बाख्रामा अन्तर देख्न नसक्ने अवस्थामा नेपाली पुगेको देखिन्छ। शायद, हाम्रो नेपाली समाजमा ब्याप्त पछौटेपनको कारण यो पनि हो ।

यसरी भिन्न भिन्न व्यक्तित्व र रुपलाई फरक/फरक रुपमा समाजले बुझ नसकेकै कारण नेपालमा वैज्ञानिकहरू, प्राविधिकहरु, तथा कुशल व्यवस्थापकहरु  बस्न चाहँदैनन् । सकेसम्म बस्दैनन् । अर्को शब्दमा भन्नुपर्दा बस्ने वातावरण पनि छैन। यो अर्को कमजोरी हो, नेपालको ।

यसको निराकरण नेपाल सरकारले गर्नु पर्ने थियो तर नेपालका सरकारहरू यति धेरै निकम्मा छन् कि, बहालवाला प्रधानमन्त्रीले नै भन्ने गरेका छन्: "के बुद्धले पढेका थिए र" ? तल बसेका उनका पार्टीका ‘पाल्तुहरु’ वाह वाह गर्दै तालि पिट्छन्। यसरी तालि पिट्ने लाखौं कार्यकर्ताहरु छन् ।

यही क्रमले नेपाल उभो लाग्न आजबाट पचासौ वर्ष (पाँच पुस्ता) लाग्ने देखिन्छ। यसमा हाम्रो पुस्तालाई तेस्रो पुस्ताका रुपमा राखेर हेर्दा पनि नेपालीले समृद्ध नेपाल देख्न, भोग्नको लागि नाति/नातिना पुस्ता कुर्नु पर्ने देखिन्छ ।

यदी हामी केही चांडै र हाम्रै पालमा समृद्ध नेपाल हेर्न, भोग्न चाहन्छौं भने जसलाई पायो त्यसलाई नेता, राजनेता, अभियन्ता, समाजसेवी, विद्वान्, बुद्धिजीवी, वैज्ञानिक भन्न र मान्न छौडौ। सही पहिचान गरौं । सही सम्बोधन गरौँ । सही पहिचान गर्न सकिँदैन भने, "ए त्यो मान्छे ठिकै लाग्छ" मात्र भनौं । बरु नाम लिएर "ए त्यो श्याम कुमार"  वा "ए ती फुलमाया" राम्रो लाग्छ भनौं । तर, जबर्जस्ती पगरी गुथाउन छोडौ । 

मान, सम्मान, पद, पदवी वा व्यक्तिको व्यक्तित्वको परिचय र सम्बोधन सही रूपमा गर्ने गरौं । जथाभावी पगरी गुथाएर वास्तविक व्यक्तित्वको अपमान गरी आत्मरतिमा रमाउन छोडौ । किनकी त्यस्तो कार्यले हाम्रै नेपाली समाजलाई नोक्शान गर्दछ । आफ्नै समाजलाइ नोक्शान पुर्याउने, गराउने कुरालाई किन जबर्जस्ती प्रयोग गर्ने ?

प्रतिक्रिया दिनुहोस