शीर्षकहरू

साढे १० अर्ब उठाएर झ्वाम पार्ने सहकारी सञ्चालक केदारनाथको सबै सम्पत्ति कब्जा

साढे १० अर्ब उठाएर झ्वाम पार्ने सहकारी सञ्चालक केदारनाथको सबै सम्पत्ति कब्जा

काठमाडौं । बचतकर्ताबाट पैसा उठाउने र आफ्नो निजी व्यापारमा लगाउने शिवशिखर बहउद्देश्यीय सहकारीका सञ्चालकहरुको सबै सम्पत्ति कब्जा हुने भएको छ । सहकारी विभागले सो ,सहकारीका बचतकर्ताहरुलाई आफ्नो पैसा उठ्नेमा ढुक्क हुन आग्रह गर्दै सञ्चालकको सम्पत्ति रोक्का गरेको जानकारी दिएको हो । 

विभागका अनुसार सो सहकारीका सञ्चालकहरुले बचतकर्ताहरुबाट १० अर्ब ४८ करोड रुपैयाँ संकलन गरे । तर, अनुसन्धानका क्रममा सदस्यहरुलाई लगनी गरेको भने लगभग डेढ अर्बको हाराहारीमा देखियो ।

आफ्ना दर्जनौं निजी कम्पनीहरु खेलेर सदस्यहरुको रकम त्यसमा लगानी गर्ने उनीहरुले आखिर न त आफ्नो सम्पत्ति जोगाए न त सदस्यहरु कै बचतको सुरक्षा गरे । अन्तत सहकारी विभाग लामो अनुसन्धान पश्चात सहकारीको नाममा ठगीकर्ताहरुको सम्पत्ति कब्जा गरी सो सम्पत्तिको बिक्री वितरण गर्ने र बचकर्ताको रकम फिर्ता गर्ने योजना बनाउन बाध्य बनेको छ ।  

यस्तो छ विभागको भनाई

आइतबार विभागले पत्रकार सम्मेलन गरी विभिन्न जिल्लाबाट सो कार्यालयमा लिखित र मौखिक उजुरी कर्ताहरुको गुनासो सम्बोधन गने क्रममा भएका गरेका कामहरुको विवरण सार्वजनिक गरेको छ ।

कारवाहीलाई अघि बढाउने क्रममा विभागले गत फागुन ८ गते संस्थाका सञ्चालक समिति सदस्यहरु, निवर्तमान अध्यक्ष र व्यवस्थापकलाई निगरानीमा राखी निजहरुलाई विदेश भ्रमणमा रोक लगाउन गृह मन्त्रालय र अध्यागमन विभागलाई लेखी पठाइएको थियो ।

साथै निजहरुको तथा संस्थाको नाममा नेपालभर रहेका सम्पूर्ण घरजग्गाहरू रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभागमा लेखी पठाइएको र बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंकलाई लेखी पठाइएको विभागले जानकारी दिएको छ ।

विभागले शिखर ’अर्गनाईजेशनका निर्देशक तथा तुलसी बहुमुखी सहकारी संस्थाको वर्तमान अध्यक्ष र शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाको निवर्तमान अध्यक्ष केदारनाथ शर्माको श्रीमती गीता शर्मालाई कारवाही गर्न महानगरीय प्रहरी परिसर टेकु काठमाडौलाई लेखी पठाईएको समेत जनाएको छ । 

केदारनाथ शर्माको श्रीमती गीता शर्मा विभागमा उपस्थित भई संस्थाको समस्या समाधानका लागि आफ्नो एकलौटी तथा संयुक्त नाममा दर्ता भएका कम्पनीहरु, सो कम्पनीमा लगानी भएको शेयर र उल्लेखित कम्पनीहरूको नाममा रहेको चल अचल सम्पतीहरु समेतबाट प्रचतकर्ताहरुको बचत तथा शेयर रकम तिर्ने बुझाउने प्रयोजनका लागि दिन मन्जुर छु भनी कागज गरेको समेत विभागले जनाएको छ ।अहिले विभागले सोही सम्पत्ति बिक्री गरी बचत तथा शेयर फिर्ता गर्ने प्रतिवद्धता जनाएको हो ।