
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् । देशका तीन क्षेत्रमा आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी मनोनयनको दिन आउन लाग्दा लामिछानेले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
लामिछाने स्वयम् चितवनको निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका छन् । मंसिर ४ गते भएको निर्वाचनमा सर्वाधिक मत पाएर उनी यहींबाट निर्वाचित भएकोमा सर्वोच्च अदालतको माघ १३ गतेको आदेशबाट उनी नागरिकता प्रकरण दोषी ठहरिएपछि पद गएको थियो ।
त्यस्तै तनहुँको निर्वाचन क्षेत्र नं. १ मा स्वर्णिम वाग्लेले उम्मेदवारी घोषणाको तयारी गरेका छन् । यहाँबाट निर्वाचित नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको छ ।
जनता समाजवादी पार्टीबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको बारा क्षेत्र नं. २ मा पूर्व डीआईजी रमेश खरेलले उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस